१५ चैत्र २०८० बिहीबार
अर्थ

पोखरा घुम्दै दर्जन देशका राजदूत (फोटो सहित)

विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पनि साथमा

आइबार दिउँसो पोखरा विमानस्थलमा ओर्लेका नेपालस्थित विभिन्न कूटनीतिक निकायका उच्च पदस्थ पदाधिकारी । तस्बिरः उमेश पुन÷नागरिक

विभिन्न दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका छन् । आइतबार दिउँसो  पोखरा आएका उनीहरुले दुईदिनसम्म पोखरामा बिताउनेछन् । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनेछन् । पोखरा आसपासका क्षेत्रको छोटो दूरीको हाइकिङ समेत गर्नेछन् ।  

विश्व पर्यटन दिवसको अवसर पारेर ती विदेशी कूटनीतिक पाहुनालाई पोखरा निम्त्याइएको हो । विश्व पर्यटन दिवसको अवसर पारेर सोमबार यहाँ विभिन्न कार्यक्रम आयोजना गरिएको छ । कूटनीतिक निकायका ती पाहुनाले पोखरामा विश्व पर्यटन दिवसको अवसरमा हुने कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माका अनुसार नितान्त घुमफिरका लागि मात्र राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारीलाई पोखरा बोलाईएको हो ।  

‘पोखरा घुम्नका लागि सुरक्षित रहेको भन्ने सन्देश राजदूत र विकास साझेदारका पदाधिकारीमार्फत दिन खोजिएको हो,’ शर्माले भने । कोरोनाले थलिएको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेको र निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश पनि उच्च कूटनीतिक निकायका पदाधिकारीमार्फत दिलाउन खोजेको शर्माले बताए ।  

यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा आएका छन् । त्यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव पनि यही टिममा छन । त्यस्तै यूएनका नेपालस्थित प्रतिनिधि पनि यही भ्रमणमा छन् । विकास साझेदार इसिमोड, यूनेस्को, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) लगायतका निकायका पदाधिकारी रहेका रहेका छन् । त्यसबाहेक सरकारका केही उच्च पदस्थ पदाधिकारी पनि समुहमा छन् ।

आइतबार दिउँसो पोखरा ओर्लेका उनीहरु दुईदिनसम्म यहाँको होटल बाराहीमा बस्नेछन् । होटल बाराहीमा पाहुना बस्नका लागि २४ वटा कोठा समेत बुकिङ गरिएको छ । ४१ जनाका लागि होटल बुकिङ गरिएको श्रोतले बताएको छ । दुईरातसम्मका लागि होटल बुकिङ भएको श्रोतले बताएको छ ।  

पर्यटन बोर्डका पोखरास्थित प्रमुख काशिराज भण्डारीले विदेशी कुटनीतिक पदाधिकारी पोखरा आउँदा पर्यटनमा सकारात्मक सन्देश पुग्ने बताए । ‘जुन मुलुकका कुटनीतिक पदाधिकारी पोखरा आएका छन, ती मध्ये अधिकांश मुलुकका धेरै पर्यटक घुम्न आउने गरेका छन,’ उनले भने, ‘थोरै पाहुना आउने मुलुकले पनि अब उच्च पदस्थ पदाधिकारीको भ्रमणबाट उत्साही भएर घुमघाममा आउने सम्भवना रहन्छ ।’  

पर्यटन व्यवसायी पनि उच्च पदस्थ पदाधिकारीको भ्रमणले उत्साही छन् । पोखरामा पाहुना भिœयाउने माध्यमको रुपमा कूटनीतिज्ञको भ्रमणले सघाउने उनीहरुको भनाई छ । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भन्छन, ‘पोखरा र आसपासका क्षेत्र घुमघामका लागि सुरक्षित रहेको छ । पर्यटनमा अग्रपंक्तिमा खटिने कर्मचारीले कोरोना विरुद्ध खोप पनि लगाईसकेका छन भन्ने सन्देश यी पाहुनामार्फत फैलिनेछ,’ उनले भने, ‘पोखरा खुला रहेको र पाहुनाको पखाईमा रहेको भन्ने सन्देश दिन पनि यो भ्रमण जरुरी रहेको थियो ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराईले पनि कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशी कूटनीतिज्ञको भ्रमणले पोखराबारे अन्तर्राष्ट्रिय बजारमा सन्देश फैलिने बताए ।’  

प्रकाशित: १० आश्विन २०७८ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App