coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

केयूद्वारा पौने चार अर्बको बजेट पारित

केयुको ८७ औं विश्वविद्यालय सभा

काठमाडौं विश्वविद्यालय (केयू)को ८७ औं सभाले आर्थिक वर्ष ०७७/७८ का लागि कूल तीन अर्ब ७० करोड रुपैयाँको अनुमानित आय–व्यय विवरण (बजेट) पारित गरेको छ। यसमा स्वास्थ्य विज्ञान कार्यक्रम र अस्पताल सेवाको दुई अर्ब २१ करोड र केन्द्रीय कार्यालय र ६ वटा स्कुलको एक अर्ब ४९ करोड रुपैयाँ रहेको छ।

शिक्षा मन्त्री तथा सह–कुलपति गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको सभाले कार्यकारी परिषद्को सिफारिसअनुसार विश्वविद्यालय सभामा रिक्त रहेका १० सभासद्मा प्रस्तावित नाम पुनर्विचार गरी आवश्यक निर्णय गर्न परिषद्लाई नै अधिकार प्रत्योयाजन गरेको छ। सभामा महिला सहभागिता बढाउनु पर्ने अधिकांश सभासदको सुझाव आएकाले पुनर्विचार गर्न लागिएको रजिष्ट्रार प्राडा सुबोधकुमार शर्माले जानकारी दिए।  

अघिल्लो विशेष सभाबाट केयुका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिले केयुमा कार्यरत प्राध्यापक र कर्मचारीको संगठनात्मक संरचना कस्तो हुनुपर्ने भन्नेबोरमा अझै छलफल नपुगेको जानकारी दिएको छ। रजिस्ट्रार शर्मा भन्छन्, ‘उक्त समितिले केयुका काठमाडौंमा रहेका केही स्कुलका प्राध्यापक र कर्मचारीसँग छलफल गरेकोे जानकारी आयो। तर मेडिकल साइन्सेज, इन्जिनियरिङ र साइन्सजस्ता ठूला स्कुलका प्राध्यापक र कर्मचारीसँग पर्याप्त छलफल हुन नसकेको र केयुको चारित्रिक विशेषतालाई समेत ध्यानमा राखेर अझै वृहत छलफल चलाउनु पर्ने आवश्यकता समितिले महसुस गरेको सभामा जानकारी भयो। अब सबैतिरबाट राय सुझावलाई समेटेर संस्थापक उपकुलपतिले आगामी सभामा प्रस्तुत गर्नुहुनेछ,’ उनले थपे।

सोही विशेष सभाले विश्वविद्यालय सभाका सदस्य डा. उषा झाको संयोजकत्वमा गठित समितिले तीनवटा प्रतिवेदन सहकुलपति पोखरेललाई बुझाएको छ। केयुका प्राध्यापक र कर्मचारीले आन्दोलनका क्रममा उठाएर वृत्ति विकाससम्बन्धी मागसँग सम्बन्धित प्रतिवेदनका सारांश पेस भएको शर्माको भनाइ छ। ‘सह–कुलपतिलाई पेस भएका तीनवटा प्रतिवेदनमा आर्थिक अपचलनता र नीतिगत विचलनबारे, शिक्षक तथा कर्मचारी सेवा, सर्त नियमावली २०५० मा पदपूर्तिसम्बन्धी व्यवस्थापनमा गर्नुपर्ने पुनरावलोकनबारे र आवधिक पदको मापदण्ड र प्रक्रिया निर्धारण गर्नेबारे रहेको छ। यी प्रतिवेदन सभाको सचिवालयमा प्राप्त भएको छ। त्यो प्रतिवेदन कार्यकारी परिषदमा आउँछ र त्यसलाई सम्बोधन गर्नु पर्ने हुन्छ,’ शर्माले थपे।

काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशनवीच केही महिनाअघि भएको सम्झौताअनुसार केयु अब नयाँ युगमा प्रवेश गर्ने रजिष्ट्रार शर्माले जानकारी दिए, ‘केयुलाई आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यअनुसार सम्झौताबाट प्राप्त हुने रकमबाट एउटा पावर प्लान्टमा लगानी गर्ने र त्यो प्लान्टमा गरेको लगानीको प्रतिफलबाट पठपपाठन र अनुसन्धानमा सहयोग पुग्ने रहेको छ’, उनले भने।

आगामी शैक्षिक वर्षबाट केयुले एग्रो टेक्नोलोजी, फरेष्ट्री, एग्रो इन्जिनियरिङ विषयमा शैक्षिक कार्यक्रमहरु चलाउन पनि सभाबाट निर्णय भएको शर्माले जानकारी दिए, ‘शैक्षिक कार्यक्रम र तालिमहरु चलाउनका लागि ठाउँ पहिचान भइसकेको छ। यसैगरी बायोमेडिकल रिसर्च ल्याबरोटरी स्थापना गर्ने, केयु–धुलिखेल अस्पताल अझै विस्तार गर्दै जाने र आउटरिच सेन्टरहरु अझ बढाउँदै जाने निर्णय सभाले गरेको छ’, उनले थपे। 

प्रकाशित: २९ असार २०७७ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App