२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

कलाकार गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आर्ट्स पुरस्कार’ बाट पुरस्कृत

कलाकार भुवन गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आर्ट्स पुरस्कार - २०८२’ बाट पुरस्कृत भएका छन्। रूपैयाँ १० हजार नगदराशि, प्रमाणपत्रसहित पुरस्कार अर्पिएका हुन्।

उक्त पुरस्कार पुन आर्ट्स पोखराका कलाकार तिलक पुन पुर्जाले मातापिताको नाममा मनबहादुर जितीमाया साइन कला पुरस्कार स्थापना गरेको हुन्।

पुरस्कृत गुरुङ ४५ वर्षदेखि साइन बोर्ड लेखनमा सक्रिय छन्। उनले श्रेष्ठ आर्ट्समा साइन बोर्ड लेख्न सिकेपछि यही पेशा अपनाएका थिए। साइन बोर्ड लेखनमा गिरावटपछि उनी वैदेशिक राेजगारीमा अरब पनि गएका थिए।

पोखराको सुकुम्बासी टोलमा बसेका उनकाे केही छैनन्। बाँसका खट बाँधेर घरका अग्लाअग्ला भित्तामा भित्ते लेखन र होर्डिङ बोर्ड तयार पारेर उनले धेरै मान्छेकाे प्रचारप्रसार गरेका छन् तर उनीचाहिँ गुमनामझैं भए।

यस्तै ओझेलमा परेका कलाकारलाई  प्रोत्साहन गर्न उक्त संस्थाकाे स्थापना भएकाे हाे।

कार्यक्रममा वरिष्ठ चित्रकार वरिष्ठ चित्रकार शशि शाह, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, क्यानका अध्यक्ष प्रेम श्रेष्ठ, पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले प्रमाणपत्र र नगद पुरस्कार अर्पिएका थिए।

राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ क्यानको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखराका कलाकार गुरुङसहित वरिष्ठ चित्रकार मदन चित्रकार लगायत १५ कलाकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका थिए।

ललितपुरमा आयोजित कार्यक्रममा क्यानले २५ हजार रुपैयाँ राशिको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार वरिष्ठ चित्रकार मदन चित्रकारलाई, २० हजार राशिको क्रोधकला शिरोमणि पुरस्कारबाट वरिष्ठ कलाकार हरिप्रसाद वैद्य, १५ हजार राशिको मुल्मी ग्राफिक डिजाइन अवार्ड अशोकमान सिं र १० हजार राशिको अमात्य कला पुरस्कार कलाकार रत्नकाजी शाक्यलाई प्रदान गरिएकाे छ।

त्यसैगरी १० हजार राशिकै हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार, क्यान सिग्देल आर्ट पुरस्कार र निर्वाण कला सम्मान क्रमशः चराचुरुंगीतर्फ सुदीप बस्याल, सम्झना राजभण्डारी, मानकाजी श्रेष्ठ र मुकुन्द प्रयासले प्राप्त गरेका छन्।

कार्यक्रममा पाँच हजार राशिको क्यान आइडियल कला पुरस्कार चित्रकार अजय देशारलाई प्रदान गरिएको थियो।

कलाकार सुष्मा श्रेष्ठ संरक्षक रहेको कला लेखनका क्षेत्रमा प्रदान गरिएको नारायणदेवी स्मृति पुरस्कार पत्रकार श्याम स्मृतले प्राप्त गरेका छन्।

यस्तै क्यान सिग्देल आर्ट पुरस्कारबाट बालकृष्ण स्मृति कला पुरस्कारबाट कलाकार लिलाधर केसी, राजेश मानन्धर कार्टुन अवार्डबाट पानसिङ तोमार, ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कारबाट कलाकार चन्द्रमणि मगर, ऋचा मैनाली रिजाल स्मृति पुरस्कारबाट कलाकार अनमारी तामाङ पुरस्कृत भएका छन्।

प्रकाशित: २७ पुस २०८२ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App