अमेरिका-इजरायल र इरानबिचको युद्ध १४औं दिनमा प्रवेश गरेको छ। यसबिच इरानका राष्ट्रपति मसूद पेजेश्कियान, विदेशमन्त्री अब्बास अराघची लगायत शीर्ष नेताहरूले शुक्रबार तेहरानमा अन्तर्राष्ट्रिय कुद्स दिवसको र्यालीमा भाग लिएका छन्।
यो फेब्रुअरी २८ मा अमेरिकी-इजरायली हवाई आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र अन्य शीर्ष अधिकारीहरू मारिएपछि भएको ‘हाई प्रोफाइल’ सार्वजनिक उपस्थिति हो।
स्थानीय मिडियाले साझा गरेका भिडियोमा पेजेश्कियानले सडकमा मानिसहरूलाई अभिवादन गरेको र र्यालीमा तस्बिर खिच्न रोकिएको देखिएको छ।
प्रेस टिभीका अनुसार विदेशमन्त्री अब्बास अराघची, सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोख्बर, प्रहरी प्रमुख ब्रिगेडियर जनरल अहमद-रेजा रादान, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामी लगायत धेरै शीर्ष अधिकारी र्यालीमा सहभागी भएका थिए।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलको निरन्तर हवाई आक्रमणका बाबजुद पनि इरानी जनता सडकमा उत्रिएका हुन्।
जारी द्वन्द्वबिच इरानले युद्ध अन्त्य गर्न तीन मुख्य सर्त राखेको छ, जसमा आफ्नो अधिकारको मान्यता, क्षतिको क्षतिपूर्ति र भविष्यका आक्रमणविरुद्ध अन्तर्राष्ट्रिय ग्यारेन्टी रहेका छन्।
कुद्स दिवस प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता जनाउन र जेरुसेलमको मुद्दामा केन्द्रित हुने वार्षिक कार्यक्रम हो। यसको सुरुवात सन् १९७९ मा इरानका नेता अयतोल्लाह खोमेनीले गरेका थिए। यो हरेक वर्ष मुस्लिमहरूको पवित्र महिना रमजानको अन्तिम शुक्रबार मनाइन्छ।
यो दिन मुख्यतया इरान र अन्य मुस्लिम राष्ट्रहरूमा विशाल र्यालीहरू आयोजना गरेर मनाइन्छ। सहभागीहरूले इजरायली नियन्त्रणको विरोध गर्दै प्यालेस्टाइनको स्वतन्त्रताको माग गर्दछन्। एजेन्सी
प्रकाशित: २९ फाल्गुन २०८२ २१:२१ शुक्रबार





