३१ चैत्र २०८१ आइतबार
image/svg+xml २३:५ अपराह्न
अर्थ

वार्षिक २१० प्रतिशतले बढ्दो डिजिटल कारोबार

डिजिटल प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ कारोबार ह्वात्तै बढेको छ। कोभिड–१९ पछि पछिल्लो पाँच वर्षमा डिजिटल भुक्तानीमा छलाङ आएको हो।

स्मार्टफोनको प्रयोग र इन्टरनेट पहुँच वृद्धिपछि मानिसले अहिले खाद्यान्न, तरकारी, लत्ताकपडा किन्दा अनलाइन सपिङ मात्र नभएर चिया पसलदेखि मोबाइलको रिचार्ज, खानेपानी, विद्युत् शुल्क तिर्ने, इन्टरनेट वा टेलिभिजन, ट्याक्सी, जहाजको टिकट काट्न पनि डिजिटल भुक्तानी गर्छन्। मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, वालेट, इन्टरनेट बैंकिङको प्रयोगले डिजिटल कारोबार सुरक्षित र विश्वसनीय बन्दै गएप्रति प्रयोगकर्तामा आकर्षण ह्वात्तै बढेको हो। भुक्तानी प्रणालीका सूचकमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विशेषगरी कोभिडको प्रभावपछि डिजिटल कारोबार उल्लेखनीय रूपमा बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए। ‘विद्युतीय भुक्तानीका विभिन्न उपकरणको प्रयोगमा सर्वसाधारणको पहुँच पुगेको छ,’ पौडेलले भने, ‘सप्लाई र डिमान्ड साइड दुवैको सन्तुलनले डिजिटल भुक्तानी उल्लेख्य रूपमा बढेको हो।’

कारोबारका सूचक हेर्दा पछिल्ला पाँच वर्षमा डिजिटल भुक्तानीका उपकरणको प्रयोग र भुक्तानीमा छलाङ आएको छ। आव २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिमा क्युआरमा आधारित भुक्तानी कारोबारको संख्यामा औसतमा वार्षिक करिब २३० प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम औसत वार्षिक करिब २१० प्रतिशतले वृद्धि भएको छ।

यसरी हेर्दा बैंकले क्युआर कोडमा आधारित भुक्तानी स्वीकार गर्ने व्यवसायीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। विद्युतीय भुक्तानीमा बढ्दै गएको पहुँचबाट विद्युतीय भुक्तानीका माध्यमको उपयोगमा पनि वृद्धि भएको हो। यो अवधिमा विद्युतीय भुक्तानीको कुल कारोबार संख्या औसतमा ४३.५ प्रतिशतले विस्तार भएको छ भने कारोबार रकम औसतमा २३.७ प्रतिशतले वृद्धि भएको छ।

२०७७ साउनको तुलनामा अहिलेसम्म आइपुग्दा वालेट खाताको संख्या ४.१२ गुणा, प्रिपेड कार्डको संख्या ३.८८ गुणा, मोबाइल बैंकिङ ग्राहक संख्या २.३२ गुणाले वृद्धि भएको छ। २०७८ असारमा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकबाट जारी भएका क्युआर मर्चेन्ट कोडको संख्या दुई लाख ८२ हजार रहेकोमा २०८१ पुस मसान्तसम्म आइपुग्दा २३ लाख ४२ हजार पुगेको छ।

कारोबारका हिसाबले हेर्दा आर्थिक वर्ष २०७७/७८ मा ५५ लाख क्युआर कारोबार संख्याबाट २० अर्ब २८ करोड कारोबार भएकोमा आव २०८०/८१ मा आइपुग्दा १६ करोड ९३ वटा कारोबार संख्याबाट पाँच खर्ब बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार २०८१ माघमा मोबाइल बैंकिङ खाताको संख्या दुई करोड ६५ लाख पुगेको छ। त्यसैगरी डेबिट कार्डको संख्या एक करोड ३४ लाख तथा वालेट खाताको संख्या दुई करोड ५८ लाख पुगेको छ। मोबाइल बैंकिङ खाता जनसंख्याको अनुपातमा २०७७ साउनमा ४० प्रतिशत रहेकोमा २०८१ माघमा ८९ प्रतिशत पुगेको छ। वालेट खाता जनसंख्याको अनुपातमा २०७७ साउनमा २२ प्रतिशत रहेकोमा २०८१ माघमा आइपुग्दा ८६ प्रतिशत पुगेको छ।

वित्तीय साक्षरता वृद्धि, हरेक नागरिकमा स्मार्ट फोनको पहुँच, परम्परागत भुक्तानी प्रणालीमा आएको परिवर्तनले डिजिटल भुक्तानीमा छलाङ आएको हो। अहिले युवाले क्यास (नगद) बोकेर हिँड्न छाडेका छन्। डिजिटल कारोबारले नोटको प्रयोगमा कमी आएको छ। किनबेच र भुक्तानीमा डिजिटल कारोबार भएपछि नोटको प्रयोग घटेको हो।

विशेषगरी कोभिडको प्रभावपछि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको प्रयोगमा सर्वसाधारणको पहुँच पुगेको छ।

-रामु पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक

पछिल्ला वर्षहरूमा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य प्रगति भएको छ। विद्युतीय भुक्तानी पूर्वाधार तथा उपकरणको विकास र कानुनी एवं संस्थागत व्यवस्था गरिएका कारण कारोबार रकम, गुणस्तर, सेवाका प्रकार आदिमा उच्च वृद्धि हुँदै गएको छ। यसले प्रयोगकर्ताको लागत र समय बचत भएको छ भने डिजिटल अर्थतन्त्र फस्टाएको छ। साइवर सुरक्षाको सुदृढीकरण गर्नेलगायत आन्तरिक तथा बाह्य भुक्तानी र फर्स्याेटमा अन्तर अन्तरआबद्धता गर्ने कार्यलाई राष्ट्र बैंकले प्राथमिकता दिँदै आएको छ ।

विद्युतीय भुक्तानीका लागि उपयोग हुने उपकरण/माध्यममध्ये प्रिपेड कार्ड, वालेट खाता, कनेक्ट आइपिएस खाता, मोबाइल बैंकिङ खाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ। वित्तीय समावेशीता प्रवर्धन, ग्राहक संरक्षण तथा वित्तीय पहुँच वृद्धि गर्ने कार्य तथा भुक्तानी प्रणालीको आधुनिकीकरणमा समेत उल्लेखनीय सुधार भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले लिएको प्रोत्साहनमूलक व्यवस्थाका कारण डिजिटल भुक्तानी विस्तारमा मुलुकले उल्लेख्य प्रगति हासिल गरेको हो। फिनटेक कम्पनीहरूको लगानी, भुक्तानी सेवासँग सम्बन्धित संस्थाहरूको सक्रियता र सर्वसाधारणको अभिरुचिले विद्युतीय भुक्तानीमा क्रान्ति नै ल्याइदिएको छ।

बैंक तथा वित्तीय संस्थाबाहेक भुक्तानी प्रणाली सञ्चालकको रूपमा नौवटा र भुक्तानी सेवा प्रदायकको रूपमा २५ वटा संस्था सञ्चालनमा रहेका छन्। त्यसबाहेक २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १५ वटा वित्त कम्पनी, ११ वटा लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायको अनुमति प्रदान गरेको छ। राष्ट्रिय भुक्तानी स्विच स्थापना र सञ्चालन गर्नका लागि नेपाल क्लियरिङ हाउसलाई स्वीकृत प्रदान भएपछि हाल रिटेल पेमेन्ट स्विच पूर्ण रूपमा सञ्चालनमा आएको छ।

स्वदेशमा मात्र नभएर अन्तरदेशीय भुक्तानी प्रणाली सञ्चालनमा राष्ट्र बैंकले अनुमति दिएपछि कारोबार बढेको छ। राष्ट्र बैंकले रूप पे, वी च्याट पे, अली पे प्लस जस्ता विदेशमा जारी भएका भुक्तानी उपकरणको प्रयोग गरी नेपालमा भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएपछि विदेशबाट समेत नेपालमा विद्युतीय भुक्तानी भएको छ। २०८१ साउनदेखि माघसम्म १०.१२ करोड रूपैयाँबराबरको करिब ५१ सय कारोबार भएको राष्ट्रबैंकले जनाएको छ। 

प्रकाशित: २४ चैत्र २०८१ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App