७ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

बजारीकरण शुन्य, अन्तर्राष्ट्रिय उडान भने सधैंको माग

<br>

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न यहाँका व्यावसायीले बारम्बार माग गर्छन्। जोसुकै उच्चपदस्थ पदाधिकारी, मन्त्री वा नेता पोखरा आइहालेमा पनि पर्यटन क्षेत्र पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने भन्दै गुनासो पोख्न पुगिहाल्छ। त्यसबाहेक उडानको पहल गरिदिनुपर्ने भन्दै प्रधानमन्त्रीका हरेक भ्रमणताका डेलिगेसन लिएर पर्यटन क्षेत्र नै पुग्ने पनि गरेको छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष हुनै थालेको छ। अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै दुईवर्ष अवधिमा जम्मा नौवटा अन्तर्राष्ट्रिय उडान मात्र भएका छन्। आन्तरिक उडान भने नियमित नै छन्। पोखरामा अन्तर्राष्ट्रिय उडान गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनि तयार रहेको भनेर संचारमाध्यममा समाचार पनि आउने गरेको छ। तर, दुईवर्ष पुग्नै लाग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन समयपछि नियमित अन्तर्राष्ट्रिय उडान होला भन्ने अझै निश्चित छैन।  

यसअघि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही अन्तर्राष्ट्रिय कम्पनिले उडान थालेका पनि थिए। कतार एयरवेज, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयर एसियाले गौतमबुद्धमा उडान थालेका थिए। तर, पछिल्लो समय नेपाल एयरलाइन्स बाहेक अरु सबै कम्पनिले भैरहवाका उडान रोकिसकेका छन्। अहिले नेपाल एइरलाइन्सले भैरहवामा सातामा दुइवटा मात्र उडान गरिरहेको छ। जसोतसो झन्डै दुइमहिना अन्तर्राष्ट्रिय उडानले चहलपहल भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चहलपहल अहिले कम भईसकेको छ।

‘अन्तर्राष्ट्रिय हवाई कम्पनिले नेपालमा उडान गर्नै नखोजेको त होईन, तर, नेपालको पर्यटन क्षेत्रले पर्याप्त पाहुना भित्रिने गरि अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रर्वद्धनका गतिविधि नै गरेन,’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) श्रोतले भन्यो, ‘भैरहवामा पनि जजिराको बाहेक अरु उडानमा पर्याप्त यात्रु थिएनन्।’ 

ती अधिकारीका अनुसार पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि अन्तर्राष्ट्रिय पर्यटन बजारमा बजारीकरण गर्न आवश्यक पर्छ। तर, पर्यटन क्षेत्र प्रर्वद्धनका लागि सुस्ताएको श्रोतको भनाई छ।  

‘पर्याप्त पाहुना आउने गरि बजारीकरण गर्ने हो भने यात्रु हुनेछन्। यात्रु हुनासाथ उडानले निरन्तरता पाउँछ। तर, भैरहवामा अहिलेका लागि भिजिविलिटीको कारण देखाउँदै सेवा रोकेपनि खास कारण भने यात्रु अभाव नै हो,’ प्राधिकरणका ती उच्च अधिकारीले भने, ‘उडान हुँदाको अवस्थामा निकै नै कम यात्रु लिएर जहाज भैरहवा ओर्लेका थिए। एयरलाइन्सले पनि ब्यापार पाउनुपर्छ। रित्तो जहाज उडाएर मात्र हुँदैन। पर्याप्त यात्रु पाउनका लागि प्रचारप्रसार हुनुपर्छ। पोखरा र लुम्बिनी भन्दैमा पाहुना आउने होईनन्।’  

पर्याप्त बजारीकरण गरेर पाहुना आउने माहोल बनाउने हो भने हवाई कम्पनि उडानलाई निरन्तरता दिन बाध्य हुने उनले बताए। अन्तर्राष्ट्रिय हवाई कम्पनिले पनि बजारीकरण नहुँदा यात्रु अभाव भएको गुनासो गर्ने गरेको उनले सुनाए।  

पर्यटन क्षेत्रले भने संघीय, प्रदेश र स्थानीय सरकारले सहकार्य नगर्दा यो अवस्था आएको दुखेसो पोख्ने गरेको छ। कुनैपनि हवाई उडानले निरन्तरता पाउन यात्रु सुनिश्चित हुनुपर्नेमा त्यो नभएसम्म उडान हुन नसक्ने उनीहरुको भनाई छ। पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी भन्छन्, ‘अन्तर्राष्ट्रिय उडान निरन्तर हुनका लागि यात्रु अनिवार्य सर्त हुन्छ। यात्रु अभावमा भैरहवाले अहिले समस्या खेपेको हो। पोखराका लागि यो पनि अनिश्चित बनेको छ।’

उनका बिचारमा भैरहवाको गन्तव्य खास उद्देश्य बोकेर जाने पर्यटकका लागि हो। भैरहवा जाने पर्यटकको पहिलो र अन्तिमजस्तै गन्तव्य लुम्बिनी मात्र हो। तर, पोखरासँग फरक प्रडक्ट भएकोले पोखरा सबै पर्यटकका लागि उपयुक्त छ। ‘कुनैपनि विदेशी पाहुना पोखरा आउनु भनेको सबैखाले गतिविधिका लागि हो। तर, भैरहवाको गन्तव्य लुम्बिनी मात्र हो। त्यसले पनि पाहुना आगमनमा फरक अर्थ राख्छ,’ उनले भने।  

विमानस्थलको जग हाल्नुभन्दा अगाडि नै प्रर्वद्धन र संचालनको योजना बनाउनुपर्नेमा त्यो हुन नसक्दा पोखरा र भैरहवाका विमानस्थलले यात्रु अभावमा उडान गर्न नसक्ने अवस्था आएको उनले बताए।

 ‘नेपालमा विदेशी पाहुना भित्र्याउने माहोलको नेतृत्व सरकारले गर्नुपर्छ। निजी क्षेत्र सहयोगी मात्र हो। तर, सबैको सहकार्य हुनुपर्छ,’ त्रिपाठीले भने, ‘तीनै तहको सरकारको सहकार्य हुनुपर्ने हो। निजी र सरकारी क्षेत्र मिलेर उडान गर्न चाहेका हवाई कम्पनिसँग छलफल गर्नुपर्ने हो। तर, त्यो नै हुन सकेन।’  

अहिलेको अवस्थामा के गर्दा उडान सुरुवात र नियमित उडान गर्न सकिन्छ भनेर सोच्नुपर्ने भएपनि त्यतातर्फ नसोचिएको उनले बताए। ‘अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनिले १५ दिन वा एकमहिनाको नोक्सानीमा काम गर्न सक्लान, त्यसपछि नाफा खोज्छन, त्यो स्वभाविक पनि हो। तर, हामीले नाफाको आश्वासन दिलाउन सकेनौ,’ उनले भने, ‘हामी भैरहवाको उडानप्रति सुरुमै आशंकित थियौ, जे आशंका गरेका थियौ, त्यही अवस्था आयो।’  

अहिले पनि पोखरा कुनै व्यावसायीले भन्दा घुम्न आएका पाहुनाबाटै प्रर्वद्धन भएको त्रिपाठी बताउँछन। ‘पोखरा आफै प्रर्वद्धन भएको हो, बरु घुम्न आएका पाहुनाले पोखरा प्रर्वद्धन गरेका हुन । हामीले गरेका होईनौ,’ उनी भन्छन, ‘पोखराको पर्यटन क्षेत्र सरकारले उकासेको होईन। विदेशी आफैले पोखराको प्रर्वद्धन गरेका छन्।’ पोखरालाई मुलुककै पर्यटन राजधानी घोषणा गरेको अवस्थामा पनि त्यसपछिका कुनै काम नहुनु त्यसको ज्वलन्त उदाहरण भएको उनले बताए। ‘राजधानी बनेपछि गर्ने काम ओझेलमा परिसकेका छन्,’ उनले भने।  

राजनीतिक वा सरकारी नेतृत्वले पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय उडानका लागि कन्भिन्स गर्नुपर्नेमा व्यावसायीले हरेकपल्ट नेतालाई नै कन्भिन्स गर्नुपर्ने अवस्था रहेको उनले बताए। ‘हामी माग गर्न बाध्य छौ। पर्यटन क्षेत्रको नेतृत्व गर्नेले पनि अब यसमा चाँसो देखाउनुपर्छ। अब त ढिला भईसकेको छ। अझै पनि वास्ता गरेनौ भने थप ढिला हुनेछ। पोखराले क्षति भोगेको भोग्यै हुनेछ,’ उनले भने।  

भैरहवामा उडान रोकिनुमा यात्रु अभाव भएकोले पोखरामा पनि यही अवस्थामा उडान थाल्ने हो भने त्यसले निश्चितता नपाउने उनले बताए। ‘तयारी बिना उडान थाल्ने हो भने पोखरामा पनि भैरहवाको हालत हुनसक्छ। त्यही भएर परिचित गन्तव्यमा सिजन पारेर उडान थालेर रुट स्थापित गर्नुपर्छ,’ उनले भने, ‘पोखराले तत्काल पाहुना ल्याउन सक्ने गन्तव्य पहिचान गर्नुपर्छ। भारतको दिल्ली र बनारससँगै बंगलादेशको ढाका उपयुक्त गन्तव्य हुनसक्छन।’ भारत, बंगलादेश र मध्यपूर्वका कुनै गन्तव्यमा उडान सुनिश्चित गर्ने हो भने पोखराको उडान निरन्तर हुने भएकोले ती रुटमा बजारीकरण गर्न जुट्न ढिला गर्न नहुने उनले बताए।  

प्रकाशित: ४ पुस २०८१ १८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App