२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाली युवालाई रोजगारी दिएकोमा कोरिया सरकारलाई धन्यवाद : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली युवालाई रोजगारी दिएको भन्दै कोरिया सरकारलाई धन्यवाद दिएका छन्। 

मन्त्री भण्डारीले सोमबार नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै इपिएस कोरिया र कोरिया सरकारलाई उनले धन्यवाद दिएका हुन्।

सो अवसरमा उनले कोरियाली पुँजी र प्रविधिलाई नेपाल ल्याउन चाहेको बताए। नेपाल सरकारले लगानीका लागि सबै आवश्यक सहजीकरण र सुरक्षा प्रदान गर्ने उनको विश्वास छ। 

मन्त्री भण्डारीले नेपालको उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकासमा कोरियाली लगानीको महत्त्वलाई उल्लेख गर्दै, कोरिया सरकारको भौतिक विकास, ज्ञान, सीप र प्रविधिको उपयोग गर्दै नेपाललाई थप लाभ पुर्याउने आशा व्यक्त गरेका छन्।  

उनले भने, “वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ। ढुक्कका साथ लगानी गर्न कोरियन लगानीकर्तालाई म आग्रह गर्दछु।” 

उनका अनुसार मन्त्री भण्डारीले महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सीप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको समेत स्पष्ट पारेका छन्।  

उनले भने, “भारत, चीन, बङ्गलादेशलगायत छिमेकी मुलुकको बजारका कारणले समेत नेपाल लगानीको उपयुक्त सम्भावना छ। नेपालमा लगानी गरी व्यवसाय प्रवर्द्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरूलाई सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”  

नेपाली युवाले कोरियामा गरेको आम्दानी र सिकेको सीपलाई सदुपयोग गर्दै नेपालमा उत्पादन र रोजगारीका अवसरहरू थप बढाउन प्रयास भइरहेको समेत उनको भनाई थियो। 

पाँच दिने भ्रमणका लागि आइतबार दक्षिण कोरिया प्रस्थान गरेका मन्त्री भण्डारीले व्यापार तथा लगानी सम्झौताका लागि विभिन्न कोरियाली सरकारका मन्त्रीहरूसँग बैठक र छलफल गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ। रासस

प्रकाशित: २ पुस २०८१ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App