२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

बाँके र बर्दियाका ‘हिंस्रक’ वन्यजन्तु पहिचान गरी नियन्त्रणमा लिइने

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज सँगै जोडिएका मध्यवर्ती तथा वन क्षेत्रमा सर्वसाधारण नागरिकहरू चरणबद्ध रूपमा बाघ, चितुवा लगायत ‘हिंस्रक’ वन्यजन्तुबाट मारिन थालेपछि यसलाई नियन्त्रण गर्न पहल थालिएको छ। हिंस्रक वन्यजन्तुको आक्रमण बढ्न थालेपछि बाँके र बर्दियाका सम्बद्ध सरोकारवाला निकायबीच भएको बृहत छलफलले हिंस्रक वन्यजन्तुलाई नियन्त्रणमा लिनुको विकल्प नभएको निष्कर्ष निकालेको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलले हिंस्रक वन्यजन्तुको सकेसम्म तत्काल पहिचान, नियन्त्रण तथा व्यवस्थापन गर्ने निष्कर्ष निकाल्दै सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरूले संरक्षण साझेदार संघसंस्था, स्थानीय तह, मध्यवर्ती क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वय गरी क्यामेरा प्रयोग गरेर हिंस्रक वन्यजन्तुको पहिचान गर्ने, आवश्यक देखिएमा नियन्त्रणमा लिई व्यवस्थापन गर्ने निर्णय गरेको छ। हिंस्रक वन्यजन्तुहरू हुन सक्ने सम्भावित क्षेत्रमा नेपाली सेना, निकुञ्ज, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायबीच जिल्ला भित्र र बाहिर समेत आपसी समन्वय र सहकार्यमा नियमित गस्ती, पेट्रोलिङ गरी समयमै सूचनाको आदान–प्रदान गर्ने व्यवस्था मिलाइनेछ।  

जाडो मौसमको समयमा तराई क्षेत्रमा लाग्ने बाक्लो हुस्सु तथा शीतलहरले वन्यजन्तुहरू गाउँबस्तीमा निस्किन सक्ने सम्भावना रहेको रस्थानीय बासिन्दाहरु चरिचरन, घाँस दाउरा, स्याउला सोत्तर लगायतका वनजन्य प्राकृतिक स्रोत तथासाधनको उपभोग गर्न जंगल जादाँ हिंस्रक वन्यजन्तुसँग जम्काभेट हुन सक्ने सम्भावना अत्याधिक रहने हुँदा जाडो मौसमभरी स्थानीयलाई वन पैदावारको उपयोगमा वैकल्पिक स्रोतको प्रयोगमा प्रोत्साहन गर्ने निर्णय भएको छ। वन, जंगलमा जानैपर्ने भएमा समूहमा जाने, होहल्ला नगर्ने र दिउँसोको समयमा मात्र सचेत भई जाने तथा एक आपसमा सहयोगात्मक भावनाका साथ जंगलभित्रका क्रियाकलाप गर्न/गराउन सामुदायिक वन उपभोक्ता समिति, राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र स्थानीय तहको समन्वय एवं सहभागितामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।  

संरक्षित क्षेत्र र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा आहारजन्य प्रजातिको उपलब्धता र घनत्व बढाउनका लागि आवश्यक व्यवस्थापकीय क्रियाकलापहरू (बासस्थान व्यवस्थापन, घाँसे मैदान, पानीपोखरी निर्माण तथा मर्मत सम्भारका काम) सम्बन्धित कार्यालयले विशेष प्राथमिकतामा राखेर गरिनेछ। सोको लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न संरक्षण साझेदार संघ, संस्था तथा सरकारी उपल्लो निकायमा अनुरोध गरेर पठाउने निर्णय भएकोे छ।  

बासस्थानको धारण क्षमता बमोजिम वन्यजन्तुको संख्या एकिन गरी मानव र वन्यजन्तुबीच सन्तुलन हुने गरी मात्र बाघ तथा चितुवा जस्ता ‘हिंस्रक’ वन्यजन्तुको संख्याको संरक्षण व्यवस्थापन गर्ने सन्दर्भमा आवश्यक अध्ययन अनुसन्धान र नीतिगत व्यवस्थाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई अनुरोध गरिने भएको छ।  

उक्त बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमारतामाङ, बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङ, बर्दियाका सहायक प्रजिअ अशोककुमार भण्डारी, डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ता, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक राम, डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरी, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर खत्री, बाँके र बर्दियास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलगायत सहभागी थिए।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बाघको आक्रमणबाट एक सातामै तीन जनको मृत्यु भइसकेको छ। बाँके राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा दुई र बर्दिया राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा एक जनाको मृत्यु भएको छ। बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी, बाँके निवासी ६१ वर्षीय मरिचमान भण्डारी, बर्दिया राष्ट्रिय निकुञ्जको सिमाक्षेत्र भेरीगंगा नगरपालिका–५ सुर्खेतकी ५७ वर्षीया गंगा सारू र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती  क्षेत्रपर्ने कालीमाटी–७ घुईयाबारी (पर्सेनी) सल्यानमा ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित: २७ पुस २०८२ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App