२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरेली पर्यटन व्यावसायी भन्छन्: पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारी दबाब आवश्यक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र निराश छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि पोखराका पर्यटन व्यावसायीले पर्यटनका पूर्वाधारमा लगानी पनि थपेका थिए। विमानस्थल संचालनमा आएपछि पाहुना आगमन बढ्ने व्यावसायीको अपेक्षा थियो। तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा प्रतिफल पाउन नसकेको पर्यटन क्षेत्रको गुनासो छ।

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा गुनासो गरिरहेको पर्यटन क्षेत्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिरहेका हवाई कम्पनीलाई पोखराबाट उडान गर्नै पर्नेगरि बाध्यकारी बनाउन सरकारले पहल गर्नुपर्ने सुझाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिरहेका हवाई कम्पनीलाई पोखराबाट कम्तीमा सातामा दुई वटा उडान गर्नैपर्ने गरि सरकारले बाध्यकारी बनाउनुपर्ने उनीहरुले बताए।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको सम्भावित अनियमितताबारे छानबिन गर्न गठित सार्वजनिक लेखा समितिको उपसमितिका पदाधिकारी अनुगमनका क्रममा पोखरा आएका थिए। सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा असार १३ गते गठित उपसमितिले गत सोमबार विमानस्थल अनुगमन गर्दै सरोकारवालासँग छलफल गरेको थियो। त्यही छलफलका क्रममा पर्यटन व्यावसायीले सुझाव दिँदै अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्नुपर्ने बताएका थिए। उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र उडान भइरहँदा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मारमा परेको बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार समितिलाई सुझाव दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिरहेका कम्पनीलाई पोखरामा पनि उडान गर्न दबाब दिने हो भने केही उडान पोखराबाट हुन सक्छन्। ‘सरकारले हवाई कम्पनीलाई दबाब पनि दिनुपर्छ। काठमाडौंसम्म आउने कम्पनीले पोखरामा पनि सातामा कम्तीमा दुईवटा उडान गर्ने हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले लाभ दिन्छ,’ उनले भने, ‘सरकारले त्यही अनुसार नीति बनाउनुपर्छ। त्यसो भयो भने अन्तर्राष्ट्रिय हवाई कम्पनी पोखरा आउन बाध्य हुनेछन् । जसको लाभ पर्यटन क्षेत्रमा पर्छ। विमानस्थल चलायमान पनि बन्नेछन्।’ अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान मात्र भइरहेका छन्।  

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा गुनासो गरिरहेको पर्यटन क्षेत्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिरहेका हवाई कम्पनीलाई पोखराबाट उडान गर्नै पर्नेगरि बाध्यकारी बनाउन सरकारले पहल गर्नुपर्ने सुझाएका छन्।

त्यस्तै व्यावसायीले पोखरा पर्यटनको राजधानी समेत भएकोले राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाईन्सलाई पोखराबाट उडान गर्न लगाउनु पर्ने पनि सुझाएका छन्। ‘ध्वजा बाहक नेपाल वायुसेवालाई पनि पोखराबाट कुनै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न लगाउने हो भने अरु हवाई कम्पनी पोखरातर्फ आकर्षित हुनेछन्। राष्ट्रिय ध्वजाबाहकलाई नै पोखराबाट उडान गराउन नसक्दा सरकारी पहल कम भएको अनुमान छ,’ उनले भने।

त्यस्तै नेपालबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका हवाई कम्पनीलाई आवश्यक प्याकेजको व्यवस्था गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न प्रेरित गनुपर्ने पनि व्यावसायीको सुझाव छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजिकरण गर्नुपर्ने पनि व्यावसायीको माग छ। ‘केही नीतिगत अप्ठेरा होलान्। ती अप्ठेरालाई सहजीकरण गरिदिनुपर्छ, त्यसो भयो भने बल्ल अन्तर्राष्ट्रिय हवाई कम्पनी पोखरा आउन सक्छन्,’ उनले भने।  

आन्तरिक हवाई सेवा प्रदायक कम्पनीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देश भित्रका मुख्य सहरमा सिधा उडान भर्न अनिवार्य गर्नुपर्ने पनि व्यावसायीको भनाई छ। केही समय अघि पोखराबाट विभिन्न सहरमा आन्तरिक हवाई उडान भएपनि पछि ती उडान रोकिएका थिए। पर्याप्त यात्रु नभएको भन्दै हवाई कपनीले विभिन्न सहरसम्मको उडान रोकेका थिए। तर, पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्जसम्म भने अहिले पनि नियमित उडान भइरहेको हवाई कम्पनीले बताइरहेका छन्।  

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूनतम १६ सय मिटरको भिजिबिलिटीमा पनि उडान हुने भएपनि पोखरामा त्यो दूरी ३७ सय मिटर रहेको भन्दै व्यावसायीले त्यसबारेमा चासो लिनुपर्ने पनि सुझाव दिएका छन्। ‘प्राविधिक पक्ष हो भने पनि त्यसलाई सुधार्न सकिन्छ। काठमाडौंमा १६ सय मिटरको भिजिबिलिटीमा पनि उडान हुने तर, पोखरामा ३७ सय मिटरको भिजिबिलिटी आवश्यक पर्ने भएकोले पोखराको उडान बेलाबेला प्रभावित हुने गरेको छ। त्यसैले प्राविधिक रुपमा हेरेर भिजिबिलिटीको त्यो दूरी कम गर्न सकिने भए अध्ययन गर्न आवश्यक छ,’ परिषद् अध्यक्ष श्रेष्ठले भने। भिजिबिलिटी अपुग भन्दै बेलाबेला पोखराको हवाई उडान रोकिने गरेको छ। केही समय अघि तुवाँलो लाग्दा पनि पोखराको उडान करिब एक सातासम्म रोकिएको थियो।

प्रकाशित: २५ असार २०८१ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App