१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मुस्ताङ पर्यटनमय, आठ महिनामा २ लाख ३० हजार पाहुना

हिमाली जिल्ला मुस्ताङ। मुस्ताङमा साउनदेखि फागुन सम्म झन्डै २ लाख ३० हजार पाहुना घुम्न पुगेका छन्। फाइल तस्बिर: नागरिक

हिमाली जिल्ला मुस्ताङमा आठ महिनाको अवधिमा मात्र झन्डै २ लाख ३० हजार पाहुना पुगेका छन्। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मुलुकका ३५ हजार ३ सय ५६ र तेस्रो मुलुकका ७ हजार २ सय ८४ जना पर्यटक मुस्ताङ पुगेको प्रहरीको तथ्याङ्क छ।  

गत साउनदेखि फागुन मसान्तसम्म सबैगरि २ लाख २९ हजार ६ सय ५४ जना पाहुना भित्रिएको प्रहरीको भनाई छ।  मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार पछिल्लो समय आन्तरिक पाहुनाको भिडभाड मुस्ताङमा अधिक नै बढेको छ।

प्रहरीका अनुसार साउनमा ६ हजार ८ सय ३७,  भदौमा ७ हजार १ सय १, असोजमा २५ हजार ५ सय ८६, कात्तिकमा ६२ हजार ९ सय ७८, मंसिरमा ३८ हजार ९ सय ९२, पुसमा १३ हजार ५ सय ४५, माघमा ६ हजार ७ सय ८५ र फागुनमा २५ हजार १ सय ९० जना आन्तरिक पाहुना मुस्ताङ उक्लेका छन्।

त्यसैगरि साउनमा २ हजार ३ सय १९, भदौमा ३ हजार २ सय ६, असोजमा ५ हजार ९ सय ६३, कात्तिकमा १३ हजार ७८, मंसिरमा २ हजार ६२, पुसमा ३ हजार ९ सय ६४, माघमा ७ सय ३२ र फागुनमा ४ हजार ३२ जना सार्क मुलुकका पर्यटक भित्रिएको प्रहरीको भनाई छ।

‘हामीले नाकामा एकएक गरेर यात्रु विवरण लिने गरेका छौ। आन्तरिक पाहुनाको आकार निकै नै बढेको छ,’ उनले भने, ‘आठमहिना अवधिमा भित्रिएका पाहुनाका कारण मुस्ताङको पर्यटन क्षेत्र निकै नै चलायमान बनेको छ।’

तेस्रो मुलुकतर्फ भने साउनमा ४ सय ४६, भदौमा ४ सय १८, असोजमा १ हजार ७ सय ४३, कात्तिकमा २ हजार २ सय ६७, मंसिरमा २ सय ७५, पुसमा ४ सय ५०, माघमा ३ सय ४५ र फागुनमा १ हजार ३ सय ४० जना पाहुना भित्रिएका छन् । यी सबै स्थल मार्गमार्फत भित्रिएका पाहुना हुन।

डिएसपी पाण्डेका अनुसार हवाई मार्ग मार्फत भित्रिएका पाहुनाको संख्या पनि यसमा थपिएको छैन। त्यसबाहेक मनाङ हुँदै थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ झरेका पर्यटकको पनि संख्या गणना गरिएको छैन। लामो समय बस्ने कामदार र स्थानीयको आउजाउलाई पनि यसमा गणना नगरिएको प्रहरीको भनाई छ। नितान्त घुमफिरका लागि आएका पाहुनाको संख्या मात्र रहेको डिएसपी पाण्डेले बताए। प्रहरीले घाँसा हुँदै भित्रिएका पर्यटकको मात्र तथ्याङ्क राखेको उनको भनाई छ।

सिजन र बिदाको बेला त्यहाँ आन्तरिक पाहुनाको भिडभाड निकै नै हुने गरेको डिएसपी पाण्डेले बताए। उनका अनुसार मुस्ताङ प्रवेशको नाकामा प्रहरीले जिल्ला भित्रिने सबै प्रकारका सवारी र यात्रुको विवरण लिने गरेको छ। ‘हामीले नाकामा एकएक गरेर यात्रु विवरण लिने गरेका छौ। आन्तरिक पाहुनाको आकार निकै नै बढेको छ,’ उनले भने, ‘आठमहिना अवधिमा भित्रिएका पाहुनाका कारण मुस्ताङको पर्यटन क्षेत्र निकै नै चलायमान बनेको छ।’

हिमाली जिल्ला भएकोले दसैंतिहारको बेला मुस्ताङमा आन्तरिक पाहुनाको निकै नै भीड लाग्ने उनले बताए। यो पटक सबैभन्दा बढी कात्तिकमा आन्तरिक पाहुना मुस्ताङ भित्रिएका छन्। ‘अब फेरि सिजन सुरु भएको छ। अहिले पनि आन्तरिक पाहुनाको आगमन बढिसकेको छ,’ उनले भने। बाटोघाटको सहजता, यातायातको साधनको पर्याप्तता, साना आकार र निजी गाडीको पहुँचले अहिले मुस्ताङ आउजाउलाई सहज बनाएको पनि उनले बताए।

सार्क मुलुकभित्रका पाहुनामध्ये अधिकांश भने भारतीय धार्मिक पाहुना हुने गरेका छन्। मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पाहुनाका कारण सार्क मुलुकका पाहुनाको आकार निकै नै बढी हुने गरेको छ। यो बेला पनि मुस्ताङमा भारतीय धार्मिक पर्यटकको भीड बढिसकेको डिएसपी पाण्डेले जानकारी दिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका संरक्षण अधिकृत प्रमोद रेग्मीले पनि आन्तरिक पाहुनाको कारण मुस्ताङको पर्यटन बार्हाै‌ँ महिना चलायमान बनेको बताए। उनले पनि चाडबाडको बेला, सार्वजनिक बिदा र सिजनका बेला आन्तरिक पाहुनाको निकै नै भीड लाग्ने गरेको बताए।

‘सिजनका बेलामा पनि आन्तरिक पाहुना अधिक नै आउँछन। दसैं–तिहारको मौका पारेर ठुलो संख्यामा आन्तरिक पाहुना भित्रिने गरेका छन्,’ रेग्मीले भने, ‘अलि लामो बिदा भयो भने पनि आन्तरिक पाहुना बढिहाल्छन्।’

आन्तरिक पाहुना थपिएका कारण हिमाली जिल्ला मुस्ताङका होटलमा बेलाबेला कोठा पाउन पनि मुस्किल हुने गरेको रेग्मीले सुनाए। ‘नियमित सार्वजनिक बिदामा थपिनेगरि बिदा अवधि बढेमा पाहुनालाई होटलमा कोठा पाउन पनि मुस्किल हुने गरेको छ। हालैको शिवरात्रिको बेलाको बिदामा पनि यहाँ आन्तरिक पाहुनालाई कोठा अभाव थियो,’ रेग्मीले भने, ‘कुनै न कुनै निहुँमा अहिले आन्तरिक पाहुना मुस्ताङ आउन चाहन्छन्।’

रेग्मीका अनुसार पछिल्लो समय विभिन्न शैक्षिक संस्था, आमा समूह, क्लबबाट पनि समूह बनेर घुमघामका लागि आउने गरेका छन्। ‘युवादेखि वृद्धवृद्धाको गन्तव्य मुस्ताङ बनेको छ । युवापुस्ता रमाउनका लागि आउँछन्। वृद्ध वृद्धा धार्मिक महत्त्व बोकेर मुस्ताङ उक्लिने गरेका छन्,’ उनले भने, ‘विदेशी पाहुनाका लागि त गन्तव्य नै हो।’

प्रकाशित: १ चैत्र २०८० १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App