१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी

कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ। चैत ३ सम्म चल्ने प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विधा सम्बन्धित कलाकृतिलाई समावेश गरिने मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

मूल आयोजक समितिका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा राईका अनुसार प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिगठानको आयोजना, इटहरी उपमहानगरपालिकाको सहकार्य र इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा हुन लागेको हो।

प्राज्ञ राईले सिर्जनात्मक कलातर्फ छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभंगिमा कला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कलासमेत प्रदर्शनीमा समावेश गरिने बताए।

उनका अनुसार प्रदर्शनीमा समावेश भएका कलाकृतिमध्येबाट प्रतिष्ठानको नियम र मापदण्डका आधारमा निश्चित कलाकृतिलाई विज्ञ टोलीबाट छनोट गरी राष्ट्रिय ललिलतकला प्रतियोगितामा पठाइने छ।

प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट ठहर भएका कलाकृतिलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार गरी तीन वर्गीकरणमा पुरस्कृत गरिने छ।

स्थानीय व्यवस्थापनको जिम्मा पाएको इटहरी मेट्रिक्सका अध्यक्ष विक्रमश्रीले प्रादेशिक ललितकला प्रदर्शनी २०८० का लागि हालसम्म १ सय ४७ जनाले सहाभागिता फाराम भरिसकेको जानकारी दिए।

उनका अनुसार ५८ जना चित्रकारका १२१ चित्रकला, ३६ जना मूर्तिकारका ४१ मूर्तिकला, २५ वटा लोककला, १५ वटा वास्तुकला, १२ वटा छविचित्र, २ वटा भिडियो आर्ट, २ वटा पर्फमिङ आर्ट र पाँचवटा प्रतिस्थापन कला रहेका छन्।

कलाकर्मी विक्रमश्रीले हाल प्रदर्शनीका लागि आफ्नै पहलमा आयोजना स्थलको सौन्दर्यीकरण गर्ने र कलाकृतिको डिस्प्ले गर्ने स्थल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए।

आयोजक समितिले प्रदर्शनीका लागि ३५ लाख बजेट लाग्ने जानकारी दिँदै ललितकलाको दृष्टिले बागमतीपछि देशको दोस्रो अग्रणी स्थानमा रहेको कोशी प्रदेशको प्रदर्शनीमा कलाकृति र कलाकारको सहभागिता उत्साहजनक देखिएको जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०८० १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App