पूर्व सचिव शारदा प्रसाद त्रितालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार भइरहेको कुरा चलाखीपूर्ण भाषामा स्वीकार गरेको टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो शासनकालमा पहिलो पटक देशमा भ्रष्टाचार भइरहेको कुरा चलाखीपूर्ण भाषामा स्वीकार गरेको र यो खुसीको कुरा भएको बताएका हुन्।
उनले अहिले देशमा भ्रष्टाचार चलिरहेको मात्र नभएर तीव्र गतिमा चलिरहेको पनि बताएका छन्। उनले अहिलेको शासन व्यवस्थामा तीव्र गतिमा चलेको एक मात्र काम नै भ्रष्टाचार रहेको बताएका छन्।
उनले भनेका छन्,'भ्रष्टाचार ढोलक बजाएर जानकारी दिएर गरिँदैन न त रसिद काटेर नै लेनदेन हुन्छ । यो निगरानी तथा अध्ययन अनुसन्धानबाट पत्ता लाग्ने अपराध हो । वर्तमान संविधान बेनपछिका समयमा सबैभन्दा बढी प्रधानमन्त्री बनेको वर्तमान प्रधानमन्त्रीज्यू नै हुनुहुन्छ । त्यसैले कम्तीमा २०७२ सालपछिका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक तथा अध्ययन प्रतिवेदनहरूको अध्ययनबाट थाहा हुन्छ । त्यही समयदेखिका महालेखा परीक्षकका वार्षिक प्रतिवेदन (यद्यपि महालेखाले देखाएका सबै बेरुजु भ्रष्टाचार होइनन् तिनले सम्भाव्य भ्रष्टाचारको सङ्केत गरेका हुन्छन् ।) बाट पनि थाहा हुने कुरा हो ।'
उनले यदि प्रधानमन्त्रीले चाहने हो भने सत्तारुढ दलका भातृ तथा शुभेच्छुक संस्थाका इमानदार सदस्यहरूबाट पनि भ्रष्टाचारका तथ्यहरू प्राप्त गर्न सकिने बताएका छन्।
'प्रधानमन्त्रीले साँच्चै चाहने हो भने भ्रष्टाचार न्यूनीकरण गर्न सकिने पनि उनले बताएका छन्। प्रधानमन्त्रीले साँच्चै भ्रष्टाचार रोक्न चाहने हो भने अब हुनसक्ने भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ । किनभने भ्रष्टाचार नियन्त्रणको कार्यमा करिब ७० प्रतिशत कार्यक्षेत्र प्रधानमन्त्री अर्थात देशको कार्यकारी प्रमुखको हुने गर्छ । संसदको करिब १० प्रतिशत हुन्छ । संसदमा पनि प्रधानमन्त्रीको बहुमत हुने हुँदा राम्रा कानून बनाउन पनि प्रधानमन्त्रीकै हात हुन्छ,' उनले लेखेका छन्, 'भ्रष्टाचार भइसकेपछि उपचारात्मक कार्यमा अख्तियार लगायतका स्वतन्त्र निकायको करिब १० प्रतिशत र न्यायालयको १० प्रतिशत जति मात्र भूमिका हुने हुँदा मुख्यतः कार्यकारी प्रमुखले इमानदारीपूर्वक काम गरेमा अव हुने भ्रष्टाचार रोकथाम हुन सक्छ ।'
प्रकाशित: २८ चैत्र २०८१ १८:५२ बिहीबार





