२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राजनीतिक दलसँग साेह्राैं पञ्चवर्षीय योजनाबारे छलफल

राष्ट्रिय योजना आयोगले साेह्राैं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरू)सँग सुझाव लिएको छ। १६ औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ। तयार भएको मस्यौदा उपर आइतबार आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरूसँग सुझाव लिइएको हो।

सुझाव छलफल कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रीका सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एवं पूर्वमन्त्री पदम गिरी, एमाले सचेतक महेश बर्तौता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका दल प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

दलका प्रतिनिधिहरूले सबैले स्वीकार्ने र पूरा हुने लक्ष्यहरू १६औँ योजनामा समावेश गर्न सुझाव दिएका छन्। छलफलमा आयोगका सबै सदस्यहरू, सदस्य सचिव र अन्य अधिकारीहरू सहभागी थिए। आयोगका सहसचिव महेश भट्टराईले १६औँ योजना सम्बन्धी प्रस्तुति राखेपछि छलफल प्रारम्भ भएको थियो।

यसअघि आइतबार नै आयोग सदस्य डा. जयकान्त राउतको अध्यक्षतामा प्रतिनिधिसभाको संसदीय समितिका सभापतिहरूसँग सुझाव लिइएको आयोगका प्रेस सल्लाहकार रोयल आचार्यले जानकारी दिए।

संसदीय समितिका सभापतिहरूले योजनालाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाइ समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्धि हासिल गर्नुपर्ने विषयमा जोड दिएका छन्।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जैविक तथा सामाजिक विविधतालाई सम्बोधन गर्दै कृषि, वन, सिमेन्ट तथा फलामजन्य उद्योग, निर्माण लगायतका क्षेत्रमा केन्द्रित रहनुपर्ने धारणा सभापतिहरूको थियो।

प्रकाशित: १५ माघ २०८० ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App