२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना

डेढलाख बढी आन्तरिक, बाँकी विदेशी

गत कात्तिकमा पाहुना लिएर मुस्ताङको मुक्तिनाथ उक्लेका गाडीको भीड। फाइल तस्बिरः नागरिक

पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एक लाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एक लाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढ लाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बताएको छ।

मुस्ताङ प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म भित्रिने आन्तरिक पाहुनाको संख्या १ लाख ५४ हजार ६ सय ३९ रहेको छ। त्यस्तै सार्क (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) सदस्य राष्ट्रका पर्यटकको संख्या २९ हजार ९ सय ९२ र अन्य मुलुकका पर्यटकको संख्या ५ हजार ४ सय ४४ रहेको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए।

‘आन्तरिक पाहुनाको आकार निकै नै छ। आन्तरिक पाहुनाले यहाँ अधिकांश समय चहलपहल बढेको छ,’ पाण्डेले भने, ‘विदेशी मात्र नभई मुस्ताङ घुम्न आउन आन्तरिक पाहुना निकै नै हुने गरेका छन्। आन्तरिक पाहुनाकै कारण यहाँको पर्यटन क्षेत्र पनि चलायमान बनेको छ।’ अहिले चिसो बढेकोले पाहुना आगमन घटे पनि सिजनको बेला पाहुनाको चाप पर्ने गरेको उनले बताए।

प्रहरीका अनुसार मुस्ताङमा सबैगरि साउनमा मात्र ९ हजार ६ सय २ जना पाहुना पुगेका थिए। त्यस्तै भदौमा १० हजार ७ सय २५, असोजमा ३३ हजार २ सय ९२, कात्तिकमा ७८ हजार ३ सय २३, मंसिरमा ४१ हजार ३ सय २९ र पुसमा १६ हजार ८ सय ४ जना पर्यटक मुस्ताङ उक्लेका छन्।

‘भित्रिएका पर्यटकलाई कुनै समस्या नपरोस् भनेर प्रहरी सचेत छ। त्यसबाहेक को कस्ता पाहुना भित्रिएका छन् भन्न पनि थाहा पाउनका लागि प्रहरीले तथ्यांक राख्ने गरेको छ,’ उनले भने, ‘आन्तरिक पाहुनाबारे पनि सूचना राख्ने गरेका छौ।’ यति बेला चिसो बढेकोले पाहुनाको चहलपहल केही कम भएको पनि उनले बताए। अहिले हिमाली जिल्ला मुस्ताङका अधिकांश गाउँका बासिन्दा चिसो छल्न सहर झर्ने भएकोले पनि पाहुनाको गतिविधि त्यस क्षेत्रमा नहुने उनले बताए। ‘माथिल्लो भेग त यो बेला सुनसान नै छ। तल्लो भेगमा पनि चिसोका कारण पाहुना आउँदैनन,’ उनले भने।

म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका—४ घाँसामा मुस्ताङ भित्रिने हरेक व्यक्तिको अभिलेख कम्प्युटर प्रणाली मार्फत दैनिक रुपमा राख्ने गरेको उनले बताए। घुम्न आउने पाहुना मात्र नभई स्थानीयको आउजाउ र कर्मचारीबारे पनि विवरण राख्ने गरेको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत प्रमोद रेग्मीका अनुसार अहिले मुस्ताङको पर्यटनमा सबैभन्दा ठूलो राहत आन्तरिक पाहुनाले दिएका छन्। ‘आन्तरिक पाहुनाको तथ्यांक त एक्यापले राख्दैन। तर, जिल्लामा भित्रिने आन्तरिक पाहुनाको संख्या निकै नै हुने गरेको छ,’ रेग्मीले भने। रेग्मीका अनुसार बाटोको पहुँच र सार्वजनिक सवारीका कारण पनि अहिले हिमाली जिल्लामा आन्तरिक पाहुनालाई आउजाउमा सहजता भएको छ।

‘केही वर्ष अघिसम्म हवाईजहाजको मात्र भर पर्नुपर्ने थियो। अहिले त्यो अवस्था छैन। किनकि पोखराबाटै गाडी चढेर पाहुना आउन पाएका छन्,’ उनले भने, ‘नियमित गाडी चल्ने भएकोले पनि पाहुना आउजाउमा सहजता भएको छ। हवाई माध्यम मात्र कुर्नुपर्ने अवस्था छैन।’ सदरमुकाम जोमसोम मात्र नभई माथिल्लो भेग लोमान्थाङसम्म पनि पाहुना उक्लिन पाउने भएकोले सहजता भएको उनले बताए। गाडीबाटै पाहुना सिधै लोमान्थाङसम्म उक्लिन पाउँदा सहज भएको उनले बताए।

‘जोमसोम मात्र नभई यहाँका महत्त्वपूर्ण गन्तव्य कोरला नाका र मुक्तिनाथ मन्दिरसम्मकै गाडीमा जान सकिन्छ। कोरला नाका हेर्न भनेर भित्रिने आन्तरिक पाहुनाको आकार निकै नै ठूलो हुने गरेको छ,’ रेग्मीले भने, ‘गाडीमा जान सकिने भएकोले पनि अहिले आन्तरिक पाहुना भित्रिएका हुन्।’ दसैंतिहारको लामो बिदामा यो पटक मुस्ताङ उक्लिने आन्तरिक पाहुनाको आकार निकै नै बढी रहेको उनले बताए।

कात्तिक महिनामा मात्र मुस्ताङमा ७८ हजार ३ सय २३ जना आन्तरिक पाहुना भित्रिएका थिए। बिदाको बेलाको त्यो भिडभाडले केहीदिन मुस्ताङको चहलपहल निकै नै बढेको थियो। आन्तरिक पाहुनाको कारण मुस्ताङको पर्यटन क्षेत्र फस्टाउन सकेको उनले सुनाए।  

प्रकाशित: २६ पुस २०८० १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App