चैत १५ गतेको तीनकुने आन्दोलन अराजक, हिंसक एवं पीडादायी बन्यो। राजावादी विवादास्पद छविका दुर्गा प्रसाईको कमान्डमा सञ्चालित थियो त्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतको समर्थनमा भएको आन्दोलन उच्छृङ्खल, अराजक तथा हिंसात्मक थियो। तोडफोड, आगजनी र लुटपाटका घटनाले त्यस दिन हद पार गर्यो। सञ्चार गृह, व्यापारिक केन्द्र, जडीबुटी कारखाना, नागरिक उड्डयन कार्यालयलगायत सर्वसाधारणका घर, सवारी साधन तथा सम्पत्तिमा आगो लगाउने, लुट्ने एवं विध्वंश मच्चाउने कार्य भए। आन्दोलनका निहुँमा आपराधिक गतिविधि चलाइए।
जे नहुनुपर्ने थियो त्यहीे भयो। टिभी पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरेको शंका छ। कीर्तिपुरका युवक सविन महर्जनको गोलीबाट मृत्यु भयो। वैदेशिक रोजगारमा जान तयार भोजपुरका शम्भु परियार गम्भीर घाइते भएर अस्पतालमा छन्। अनुगमनमा गएका राष्ट्रिय मानव अधिकार आयोग(रामाआ) का अधिकृत खिमानन्द बस्यालमाथि भौतिक आक्रमण भयो।
रास्वपा सांसद सन्तोष परियार चढेको गाडीमाथि आगजनी गरियो। दुई सञ्चार गृहमाथि आगजनीका प्रयास असफल भएपछि भौतिक क्षति पु¥याइयो। नेकपा समाजवादीको पार्टी कार्यालय आगजनी र तोडफोड भए। स्वास्थ्य मन्त्रालयको आकडामा अस्पताल आएका घाइतेको संख्या १२९ पुगेको थियो।
एक महिला प्रहरीसमेत ‘ड्युटी’ मा खटेका प्रहरीलाई घेरामा पारेर ज्यान लिन कोसिस गरियो । आन्दोलनका कमान्डर भनिने व्यक्तिले सुरक्षा घेरामा रहेका प्रहरीमाथि गाडी हुइँक्याइ तीनकुनेलाई रक्ताम्य पार्न खोजे। इँटा–ढुङ्गाका वर्षा भए। अन्धाधुन्ध अश्रुग्यास र घातक गोली प्रहार भए। भिड नियन्त्रण मापदण्ड पालनामा कमजोरी देखियो। नेतृत्वबिहीन जत्था लुटपाट तथा आगजनीमा उत्रियो। तीनकुने आतंकित बन्यो। जनधनको क्षति रोक्न सरकार अक्षम भयो। यस घटनाको न्यायिक छानविन गर्न विज्ञहरूले सुझाव दिएका छन्।
सञ्चार गृह, पार्टी कार्यालय, सञ्चारकर्मी, अधिकारवादी र सांसदको गाडीमाथिका आक्रमण र आगजनीलाई हल्का ढंगबाट लिन हुँदैन। यो लोकतन्त्र तथा मानव अधिकारविरुद्धको हमला हो। राजावादीका नियतको प्रतिबिम्ब हो। निरंकुशता फर्काउने दुस्साहस हो। वागडोर सम्हालेका गणतन्त्रवादीले नागरिकका निम्नतम आवश्यकता सम्बोध नगर्न नसक्दा ‘धमिलो पानीमा माछा मार्ने’ कुचेष्टा हो। ब्याप्त भ्रष्टचारविरुद्धको आक्रोश पनि हो। दण्डहीनता अवस्थाको नियति हो।
चैत १५ को परिदृश्य योजनाबद्ध एवं नियोजित ढंगबाट भएकामा शंका छैन। यसको पूर्वाभ्यास २०८० मंसिर ७ गते ग्वार्कोमा दुर्गाले गरेका हुन्। यिनका उदण्ड चरित्र त्यतिबेला खुलेको हो। बैंक तथा लघुवित्त ऋण मिनाहा गराउने लालसामा पीडितको भिड जुटाएर तिनलाई बेबकुफ बनाए।
बैंकका कर्मचारीमाथि ‘मोसो’ अभियान चलाएर पीडितका मसिहा बन्न खोजे। युट्युबरका सहारामा स्तरहीन गालीगलौज तथा घृणा फैलाउने अभिव्यक्ति दिँदै आए। राजनीतिक नेताहरूविरुद्ध हावादारी गफ चुटेर युट्युब ‘फलोअर’ बढाए। सामाजिक सञ्जाल दुरूपयोग गरे। अहिले ‘खरो राजावादी’ भएर ज्ञानेन्द्रलाई हुस्सु बनाउने पथमा लागेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग ‘मार्सी भात’ खाएको व्यक्तिगत तस्बिर सुरुमा भाइरल गराएर दुर्गाले चर्चा बटुले। एमाले र माओवादीबीच ‘नेकपा’ एकीकरणको जस पनि लिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा दुवै नेतालाई विर्तामोडको निजी अस्पताल परिसरमा बोलाए। राज्यशक्तिमा वर्चस्व भएको देखाए।
मेडिकल कलेजको लाइसेन्स पाउने वचन लिए। दुबईका राजकुमारले सुनको लौरो उपहार दिएको नाटक रचे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत विश्वका शक्तिशाली मुलुकका राजनेतासँग घनिष्ठ सम्बन्ध रहेको उडन्ते गफ हाँके। निजी सुरक्षा दस्ता ‘परेड’ का भिडियो बनाएर राज्यका सुरक्षा निकायलाई जिस्काउने हैसियत बनाए।
द्वन्द्वकालमा चारआली ब्यारेकमा माओवादीको शंकामा सेनाको गैरकानुनी हिरासतमा केही महिना परेका थिए दाजु–भाइ राकेश र दुर्गा। मलगायत उनका नातेदार बाबुराम कुँवर (हाल राष्ट्रपतिका सल्लाहकार) समेतको अथक प्रयासबाट दुवै ‘बेपत्ता’ हुनबाट जोगिएका थिए। २०६३ को जनआन्दोलनको सफलतापछि उनी दाहालका प्रियपात्र बने। नेकपा विभाजनपछि एमालेका ओलीको खास मान्छे र अन्धभक्त देखिए। यसबाट एमालेको केन्द्रीय सदस्यमा मनोनीत पनि भए।
मेडिकल कलेज सम्बन्धन नपाएर वा अन्य कुनै कारणले हो– दुर्गा राजावादी बनेका छन्। ज्ञानेन्द्र शाहलाई झापाको काकरभिट्टामा बोलाएर राजनीतिमा सक्रिय हुन उक्साएर अहिले उनका प्रिय बनेका हुन्। निर्वाचित एवं शालीन छविका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पाखा लगाइएका छन्।
हिन्दु राष्ट्र तथा राजसंस्थासहित प्रजातन्त्रको अजेन्डा बोकेको राप्रपालाई छाडेर राजनीतिबाट टाढिएका नवराज सुवेदीलाई ज्ञानेन्द्रले अघि सारेका छन्। दलभन्दा व्यक्तिमाथि विश्वास देखाएका छन्। दुर्गालाई कमान्डर तोक्न लगाए तर चैत १५ को घटनापछि तिनी देशभित्र छन् वा विदेशिएका हुन् ? अत्तोपत्तो छैन।
फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ’ भने।
फागुन २७ गते विमानस्थलमा स्वागत शक्ति प्रदर्शन र चैत १४ गते सुवेदी र दुर्गासँगको लामो भेट अनि चैत १५ गते हिंसात्मक झडप यस आह्वानको परिणति हो। तथापि ‘जता मल्खु उतै ढल्कु’मा अभ्यस्त दुर्गाले ज्ञानेन्द्रप्रति वितृष्णा जागेका दिन यस अभियानका भित्री रहस्य अवश्य खोल्नेछन्।
दुर्गाका दाजु राकेशले एक नातेदार पुण्यप्रसाद प्रसाईंलाई आन्दोलनको एक दिनअघि ‘तीनकुने’ मा जलाइदिने टेलिफोन धम्की दिएका थिए, तिनको विरोध गरेकोमा। आगजनी तथा हत्याका पूर्वयोजना यस धम्कीबाट पनि खुलेको छ। साथै राष्ट्रिय झण्डा घाँटीमा बेरेका एक व्यक्तिले पूर्वतयारीका साथ जिपमा आगो लगाएको भिडियो ‘फुटेज’ समेतले तीनकुनेमा भएका घटना योजनाबद्ध थिए भन्ने थप पुष्टि गर्दछ।
नेपालका सांसदलाई संसद्मा जे बोल्न पनि छूट हुन्छ संसदीय कानुन तथा प्रचलनले। मर्यादित शब्दबाट संसद्भित्र जस्तोसुकै कपोकल्पित आरोप लगाउन सक्छन्। त्यसको सत्यतथ्यको परीक्षण हँुदैन र गरिंँदैन पनि। उठेका विषयवस्तुमाथि बहस त हुन्छन् तर जवाफदेही बन्नु पर्दैन। कारबाही गरिँदैन। झुटा आरोप लगाए पनि सुनवाइ हुने संसद्मा व्यवस्था हुँदैन।
च्याउसरी उम्रेका ‘युट्युबर’ सामाजिक सञ्जालमा लोकप्रिय छन्। सशक्त सूचनाका स्रोत बनेका छन्। सांसदले जस्तै जे–जस्ता अभिव्यक्ति प्रशारण गरे पनि छूट पाएका छन्। व्यक्तिगत चरित्र तथा कपोकल्पित आरोपबाट ‘भ्युअर’ कमाएका छन्। बहुसंख्यक ‘युट्युबर’ जवाफदेहीबिहीन भएका छन्।
घृणा फैलाउने औजारका रूपमा प्रयोग हुन्छन्। दुर्गा प्रसाई जस्ता अराजक व्यक्ति उत्पादन गर्ने कारखाना बनेका छन्। प्रमुख राजनीतिक नेताको बदख्वाइँ गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पारेका छन्। यसबाट तिनले समेत भोगेका ‘यो स्वतन्त्रता’ गुम्ने जोखिम भने थोरै ‘युट्युबर’ ले बुझेका छन्।
डा.भेषबहादुर थापाले राष्ट्र–परराष्ट्र पुस्तकमा ‘ज्ञानेन्द्रको पानीजहाजको सपना’ मा राष्ट्रलाई ठग्ने खेलबाट कसरी जोगाएको थिएँ भन्ने खुलासा गरेका छन्। ‘बदलामा गलैँचा काण्ड’ मा उनी लेख्छन्– मेरो निष्कर्षचाहिँ सिपिङ कम्पनी खोल्न नदिएको परिणाममा गलैँचा काण्ड जन्मन पुगेको थियो।
प्रकाशित: २२ चैत्र २०८१ ०९:४३ शुक्रबार