१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराका हवाई यात्रु दिनकै ४ हजार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाजबाट ओर्लिदै यात्रु। तस्बिरः उमेश पुन/नागरिक

चाँडबाँडको बिदाले आन्तरिक र पर्यटकीय सिजनको कारणले विदेशी पाहुनाको आगमन बढ्दा अहिले पोखरा–काठमाडौं–पोखरा रुटको हवाई यात्रामा यात्रु चाँप बढेको छ। यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन्। दिनमा चारहजार हाराहारीमा हवाई यात्रुको आउजाउ भईरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।  

यतिबेला बुद्ध एयरले पोखरा–काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ। त्यस्तै यती एयरलाइन्सले पनि यही रुटमा दैनिक ७ वटा उडान गरिरहेको छ। श्री एयरलाइन्सले पनि पोखरा–काठमाडौं दिनमा ३ वटा उडान गरिरहेको छ। दिनमा पोखरा–काठमाडौं रुटमा २७ वटासम्म उडान भईरहेको हवाई कम्पनिले बताएका छन्।  

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले चाँडबाँडको बिदाले आन्तरिक यात्रु पोखरा क्षेत्रमा थपिँदा हवाई चाँप बढेको बताए। उनका अनुसार पोखरा–काठमाडौं रुटका उडानमा सतप्रतिशतसम्म यात्रु छन्। पोखरा–काठमाडौं रुटका यात्रुमध्ये आधा नेपाली र बाँकी विदेशी रहेको उनले बताए। ‘यो बेला पोखरा–काठमाडौं रुटमा हवाई यात्रुको चाँप छ। चाहेको बेला टिकट पाउन पनि मुस्किल छ,’ बरालले भने, ‘उडान संख्या थप्दा पनि यात्रुले भनेको बेला टिकट पाएका छैनन्।’

अहिले पोखरा आसपासका क्षेत्रमा आन्तरिक पाहुनाको भीडभाड छ। छोटो रुटको पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन बढ्दा हवाई यात्रामा पनि यात्रु चाँप बढेको उनले बताए। ‘यो बेला विदेशी पाहुनाको सिजन पनि हो। त्यसले गर्दा पनि यात्रुको चाँप बढेको हो, अहिले पोखरामा भन्दा पनि पदयात्रा क्षेत्रमा पाहुनाको भीडभाड छ,’ बरालले भने, ‘अन्नपूर्ण फेरो सकेर पोखरा ओर्लेका विदेशी र स्वदेशी पदयात्री पोखराबाट हवाईमार्ग हुँदै राजधानी फर्किने भएकोले चाँप बढेको हो।’

अहिले पोखरामा भन्दा पनि आसपासका पर्यटकीय गाउँमा आन्तरिक पाहुना खचाखच हुँदा  हवाईजहाजलाई यात्रु अभाव नभएको उनले बताए। ‘अझै केहीदिनका लागि यात्रु अभाव हुँदैन,’ बरालले भने, ‘दसैं सुरु भएपछि हवाई यात्रुको चाँप बढ्न थालेको हो। त्यो चाँप अहिले पनि उत्तिकै छ। अबका केहीदिनपछि भने घट्न थाल्नेछ। किनकी आन्तरिक यात्रु केही कम हुनेछन्।’ बुद्धले पोखराबाट काठमाडौंसँगै भरतपुर, भैरहवा र नेपालगञ्ज पनि दैनिक उडान गरिरहेको छ। बुद्धले यतिबेला पोखराबाट दिनमा २० वटा उडान गरिरहेको छ। काठमाडौंबाट पोखरा आउने यात्रुको पनि भीडभाड रहेको उनले बताए।

यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं रुटमा दिनमा ७ वटा उडान गरिरहेको छ। पोखरा–काठमाडौं मात्र नभई काठमाडौंबाट पोखरा आउने यात्रुको संख्या पनि उत्तिकै रहेको यती एयरलाइन्सले बताएको छ। त्यस्तै पोखरा–काठमाडौं रुटमा यात्रु बढेपछि उडान संख्या थपेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए। लामो बिदाले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा आन्तरिक यात्रु बढेको र यहीबेला पर्यटकीय सिजन परेकोले विदेशी यात्रु पनि थपिएको मानन्धरको भनाई छ। पोखरा–काठमाडौं–पोखरा रुटमा सतप्रतिशतसम्म यात्रु भरिएको श्री एयरलाइन्सका मानन्धरले बताए।

‘पर्यटकीय सिजनका कारण पदयात्रामा विदेशी पाहुना पर्याप्त भए। त्यस्तै लामो बिदाका कारण यो पोखरा र आसपासका क्षेत्रमा घुम्न जाने आन्तरिक यात्रु पनि धेरै नै छन,’ उनले भने, ‘दुवैतर्फि उडानमा अहिले हवाई यात्रु छन्। यतिबेला पोखराका लागि हवाई यात्रु अभाव छैन। अबका केहीदिन पछि यात्रु कम हुन सक्छन्।’ पोखरा–काठमाडौंको स्थलमार्ग झन्झटपूर्ण बनेकोले पनि यो बेला हवाई यात्रामा यात्रु भीड बढेको हवाई कम्पनिले बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार अहिले दिनमा ४ हजार हाराहारीमा हवाई यात्रुको आउजाउ रहेको बताईन। सेप्टेम्बर लागेदेखि नै पोखरामा हवाई यात्रु थपिँदै गएको उनले बताईन। उनका अनुसार हवाई यात्रु बढेपछि हवाई कम्पनिले उडान संख्या पनि थपेका हुन्। ‘विदेशी पर्यटकका लागि मुख्य सिजन हो। आन्तरिक पाहुनाका लागि पनि यो बेला लामो बिदा हुँदा घुमघाममा जाने यात्रु बढ्दा हवाई चाँप बढेको हो,’ सुवेदीले भनिन, ‘यो सिजनमा हवाई यात्रुको चाँप निकै नै राम्रो रह्यो।’

प्रकाशित: ४ मंसिर २०८० ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App