६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

लम्पी स्किनः हिमाली जिल्लाका याक चौंरी सुरक्षित

याक चौंरी उच्च भेगमा रहेकोले अहिलेसम्म सुरक्षित छनः पशु चिकित्सक

पशुमा लाग्ने लम्पी स्किन रोगले यतिबेला सबैतिर अत्याइरहँदा हिमाली भेगमा पालिएका याक चौंरी भने अहिलेसम्म सुरक्षित रहेका छन्। याक चौंरीमा अहिलेसम्म यो रोग फेला नपरेको हिमाली जिल्लाका पशु स्वास्थ्य चिकित्सकले बताएका छन्। हिमाली भेगकै अरु गाई गोरुमा यो रोग देखिएपनि याक चौंरी भने सुरक्षित रहेको उनीहरुको भनाई छ।  

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मनाङका प्रमुख नारायण कुसुमले अहिलेसम्म याक चौंरीमा लम्पी स्किन रोग नदेखिएको बताए। उनका अनुसार यो बेला याक चौरी उच्च हिमाली भेगमा चरनमा रहेकोले पनि उनीहरुसम्म रोग सार्ने किरा उक्लिन नसक्दा संक्रमित हुनबाट जोगिएका हुन्। ‘हिमाली जिल्ला मनाङमा अहिलेसम्म याक चौंरीमा लम्पी स्किन रोग देखिएको पुष्टि भएको छैन। ती पशु उच्च हिमाली भेगमा चरनमा छन,’ कुसुमले भने, ‘तल्लो भेगका पशुसँग चरनमा रहेका याक चौरीको लसपस पनि छैन। उच्च भेगमा रहेकोले रोग सार्ने किरा त्यहाँसम्म पुग्न नसकेको पनि हुनसक्छ।’

याक चौरीमा लम्पी स्किन रोग नदेखिए पनि हिमाली जिल्लाका अरु गाई गोरुमा भने लम्पी स्किन संक्रमण फैलिसकेको उनले बताए। उनका अनुसार मनाङमा चारहजार हाराहारीमा याक चौंरी रहेका छन्। ती पशु अहिले समुन्द्री सतहदेखि चारहजार मिटर माथिको क्षेत्रमा चरनमा छन्।

‘अरु गाइ गोरु तल्लो भेगमा पनि छन्। तल्लो भेगमा पालिएका गाइ गोरुमा लम्पी स्किन देखिएको हो। तर, चरनमा रहेका याक चौंरीसम्म यो रोग उक्लिसकेको छैन,’ उनले भने, ‘उच्च भेगमा रहेकोले पनि ती पशुको तल्लो भेगका पशुसँग लसपस छैन। चारहजार मिटर माथिको भेगमा रोग सार्ने लामखुट्टे, झिंगा नउक्लेको हुनसक्छ।’

पशु चिकित्सकका अनुसार लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग एकअर्का पशुमा सर्छ। त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने गर्छ। पशु चिकित्सकका अनुसार अहिले पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा छिटो सर्छ। उच्च हिमाली भेगमा रहेको ती याक चौंरीसम्म मान्छेको आउजाउ पनि कम रहेको उनले बताए। कुसुमका अनुसार मनाङको चामेमा अहिलेसम्म एक, नासोँमा २ र मनाङ ङिस्याङका ४ गरि अहिलेसम्म सातवटा गाई गोरुमा यो रोगको पुष्टि भएको छ। जिल्लामा अहिले करिब १५ सय गाइगोरु रहेका छन्।

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि याक चौंरीमा लम्पी स्किन देखिएको छैन। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका पशु चिकित्सक दण्डपाणि शर्माका अनुसार मुस्ताङका याक चौंरीमा पनि अहिलेसम्म लम्पी स्किन देखिएको छैन। तल्लो भेगमा पालिएका लुलुगाइ, उन्नत र पहाडी स्थानीय गाइमा लम्पी स्किन देखिएपनि याक चौंरीमा भने अहिलेसम्म नदेखिएको शर्माले बताए।

मुस्ताङमा अहिलेसम्म ३३ वटा गाइ गोरुमा लम्पी स्किन देखिएकोमा ५ वटा मरेका छन्। जिल्लामा रहेका याक चौंरी समुन्द्री सतहदेखि ३५ सयदेखि ४५ सय मिटरसम्मको उच्च क्षेत्रको चरनमा छन्। मुस्ताङमा सबैगरि करिब ४१ सय याक चौरी रहेको अनुमान छ। 

‘अरु पशुको सम्पर्कमा याक चौरी छैनन। यतिसम्मकी मान्छेदेखि पनि टाढा छन्,’ उनले भने। केही गोठाला ती पशुसँगै रहेपनि उनीहरुको पनि अन्यत्र आउजाउ नहुँदा रोग उक्लिन नपाएको उनले बताए।  

‘अहिलेसम्म याक चौरी सुरक्षित छन्। गाई गोरुमा भने लम्पी स्किन देखिएको छ,’ उनले भने, ‘उच्च भेगको चरन क्षेत्रमा रहेकोले पनि याक चौरी सुरक्षित रहेका हुन। त्यहाँसम्म मान्छे, अरु पशु र किरा, झिंगा, लामखुट्टे पनि उक्लिन सक्दैनन। त्यसैले पनि सुरक्षित रहन सकेको अनुमान छ।’ उनका अनुसार यो बेला याक चौरी माथिल्लो भेगमा चरनमा जाने बेला हो। तल्लो भेगमा मात्र रोग देखिएको उनले बताए।

प्रकाशित: ४ श्रावण २०८० ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App