७ वैशाख २०८१ शुक्रबार
ब्लग

क्होंलसोंथरमा लेक लाग्दा...

गुरुङको आदिम भूमि

तमु समुदायको आदिम भूमि क्होंलसोंथर । तस्बिर: मुनाल फिल्म प्रालि ।

हामी तमु समुदायको आदिम थलो क्होला सोप्रें ट्हों (क्होंलसोंथर ) हो । त्यहाँबाट हामी १२ सय वर्षअघि बसाइँ सरेको इतिहास छ । सानैदेखि त्यहाँ पुग्ने रहर जागेको थियो । तर, धेरै वर्षपछि मात्र त्यहाँ पुग्ने मौका मिल्यो । पवित्र दर्शनीयस्थल रहेछ क्होंलसोंथर !  

क्होंलामा कटुवाल घोकाउने ढुंगा ।  

हामी क्होंलाको अध्ययन भ्रमणमा निस्कनुमा कारण पनि छ । त्यो के भने वाइट लोटसबाट प्रायोजित युग गुरुङ दाइको टेलिभिजन कार्यक्रम ‘तमु मै ताँ’ (गुरुङहरूको कुरा) मा ताङतिङको शैक्षिक अभियान, ग्रामीण जीवनशैली र गुरुङ संस्कृतिका विषयमा बोलेको छु । युटयुवमा त्यो कार्यक्रम हेरेपछि ‘तमु प्या छया धिं’ (गुरुङहरूको संस्कृति घर) अमेरिकाका चोग डिवी नम्जु पैगीलाम गुरुङ दाइले क्होंलसोंथरको वृत्तचित्र बनाउन आग्रह गर्नुभयो । नाइँ भन्ने त कुरै भएन !    

प्रकाश गुरुङ  

दाइले उताबाट आवश्यक खाका पठाइदिनुभयो । । तमु संस्कृतिकर्मी तथा गुरुङ फिल्म एसोसियसनका तत्कालीन अध्यक्ष तथा हालका मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम), फोटो पत्रकार युनिश गुरुङ, नमस्ते कोरियाका अध्यक्ष तथा मानवशास्त्री डा. डोजिइ ह डोजिङ, थमन गुरुङ र मसहितको भ्रमण टोली बन्यो ।

हामी तमुहरू क्होंलसोंथरबाट गण्डकी प्रदेश लगायत मुलुकका विभिन्न भूभागमा छरिएका हौं । त्यहाँबाट हामी १२ सय वर्षअघि बसाइँ सरेको इतिहास छ । हाम्रो त्यो पितृथलोमा भग्नावशेष छँदैछन् । आउनुहोस् क्होंलसोंथरलाई पर्यकीय गन्तव्य बनाऔं ।      

निर्धारित समय २० असार २०७२ मा हामी पोखराको काहुँ खोलाबाट बिहान दश बजे जीप रिजर्भ गरेर सिक्लेसतिर मोडियौं । सिमसिमे पानी परिरहेको थियो, विजयपुर खोला बढेको रहेछ, मुस्किलले जीपमा त¥यौं ।  

हामी काभ्रेडाँडा हुँदै थाकडाँडा चढ्दै थियौं । आकाशमा बादल नाच्दै थिए । दिउँसै अँध्यारो भएकाले नजिकैका मान्छे पनि देखिँदैन थियो । हाम्रो जीप उकालो चढ्न सकेन बरु ओरालोतिर पो झ¥यो । उता हाम्रो गाउँ ताङतिङबाट पाँच जना गाइड र भरियासहित टोंरातिर हिँडिसकेको खबर पाइयो ।      

बल्लबल्ल जीप उकालो चढन थाल्यो र हामी तप्राङ पुग्यौं । त्यहाँ खाजा खाएर अघि वढ्यौं । चिप्ली गाउँ हुँदै खिलाङ पुग्यौ । खिलाङ पुग्दा पार्चे गाविसका पूर्व अध्यक्ष तथा प्रदेश सभासद मनबहादुर गुरुङ र गाउँलेहरू वातावरणमैत्री गाउँ बनाउन लालीगुराँस रोप्दै थिए ।  

प्राचीन घरको भग्नावशेष ।  

उनीहरूसँग एकछिन भलाकुसारी गरेर हामी सिक्लेसतिर उकालियौं । असारे रोपाईँमा गाउँलेहरू व्यस्त थिए । हामी सिक्लेसबाट गाउँमुनि हुँदै मादीको मुहान नजिक टेंराको फेदीमा पुग्यौं । ताङतिङबाट आएका साथीहरू अघि नै आएर आराम गर्दै थिए ।    

क्होंलाको भूगोल ३,३०० देखि ४,२०० मिटर उचाइमा छ । हामी पुग्दा भुजुङ (लमजुङ)को भेडागोठ थियो त्यहाँ । नौला मान्छे देख्नासाथ गोठका लेकाली कुकुर भुक्दै आए । गोठालाले चुप लाग्न आदेश दिएपछि तीनले लुरुक्क आदेश माने । भुक्न छाडिहाले ।  

हामी मादीको फड्के तरेर सिक्लेस हाइड्रो पावरको कार्यालयमा खाजा खाएर टोंरामा बास बस्न उकालियौं । हिँड्दाहिँड्दा बाटामै घनघोर पानी प¥यो । बर्खाको मौसम बाटामा घाँसे झाडी थियो । हाम्रो खुट्टामा जुकाले छोपिहाले । झम्के साँझमा बल्लबल्ल टोंरामा पुग्यौं अनि त्यहाँको खाली घरमा बस्यौं ।  

गोरखातिरका लामा थरका एक जना दाइ एक दशकदेखि यतै घरजम गरेर बसेका रहेछन् । उनी काठ चिर्दै थिए । श्रीमतीचाहिँ बन्दै गरेको सिक्लेस हाइड्रो पावरमा काम गर्दिरहिछन् ।  

रातमा पारि ताङतिङ अनि वारि सिक्लेसमा विजुली बलिरहेको थियो । यसरी पहिलो रात हामीले टोंरोमा बितायौं । बिहान ५ बजे नै उठेर खाजा खाएर ६ बजे पदयात्रा सुरु ग¥यौं । असारे झरी, बाटोभरि जुका, उकालो बाटो । घाँसैघाँसले बाटो पहिल्याउन पनि सकस भयो । उकालैउकालो टोरो, तोदी हुँदै हामी ६ घण्टा जतिको कठिन जंगल यात्रापछि १२ बजे सिल्दुङारा खर्क पुग्यौं । त्यहाँ खाजा खाएर उकालो चढ्यौं ।  

पसिनैपसिना । भारी वर्षा । खुट्टाभरि जुका । मनसुन ट्रेकको आनन्द ! मनमा ऊर्जा बढेको थियो । हाम्रो कल्पनामा त्यही आदिम पुख्र्योली थलोको चित्र आयो ।  

ओखल ।  

हिँड्दाहिँड्दै हामी साँझ ६ बजे कहोंलासोंथर पुग्यौं । हाम्रो पितृथलो (३,३०० मिटर) पुग्दा खुसीको आँसु नै खस्यो । कति प्रिय हुने रहेछ पितृथलो । खासमा क्होंलासोंथर मादी गाउँपालिका–२ कास्कीमा पर्दछ । अन्नपूर्ण र लमजुङ हिमालको दक्षिणमा अवस्थित क्होंलाको भूगोल ३,३०० देखि ४,२०० मिटर उचाइमा छ ।

हामी पुग्दा भुजुङ (लमजुङ)को भेडागोठ थियो त्यहाँ । नौला मान्छे देख्नासाथ गोठका लेकाली कुकुर भुक्दै आए । गोठालाले चुप लाग्न आदेश दिएपछि तीनले लुरुक्क आदेश माने । भुक्न छाडिहाले ।  

राति हामी मु क्होंला (तल्लो क्होंला)को धर्मशालामा बस्यौ । सुत्नुअघि भोलिपल्टको भिडियो छायांकन तथा अध्ययन योजना बनायौं । साँझमा हामीले गोठालाका गीत पनि सुन्यौं । उनीहरूले दूधपोखरी जात्रामा गाइने गीत गाए । हामीचाहिँ नाच्यौं ।  

भग्नावशेष भएका ठाउँमा सयौं वर्ष पुराना विशाल रूख छन् । यस्तै प्रकारले मु क्होंला (तल्लो क्होला)को मध्य भागमा सयौं घरका भग्नावेशष छन् । त्यहाँ अहिले पनि २४ फिट चौडाइ र ६४ फिट लम्बाइ भएको पर्खालसहित घरको भग्नावशेष छ जसलाई क्होंला राज्यको छोजधिं (सभाघर) मानिएको छ ।

बिहान ५ बजे नै उठेर नास्ता गरेर क्होंलाडाँडाको दक्षिण भागमा रहेको मु क्होंला (तल्लो क्होंला), प क्होंला (माझ क्होंला) र तु क्होंला (उपल्लो क्होंला)का प्राचीन वस्तीका अवशेष खिच्यौं ।  

हामीलाई क्हाेंलाबारे स्रोत व्यक्ति बनेर गोठाला डिलबहादुर गुरुङ दाइले सहयोग गर्नुभयो । पूर्वी भागमा विभिन्न घरका भग्नावशेष देखियो । मु क्होंलाको पश्चिमतर्फको वस्तीमा बीस वटा जति घरका भग्नावशेष देखियो । घरको ढाँचा, कोठाको विभाजन, झ्यालको व्यवस्था आदि विशेष प्रकारको भेटियो । करीब १७.६ फिट चांैडाइ र २०.८ फिट लम्बाइ भएको घरको भग्नावशेष भेटियो जसलाई म्रुंधि (राजाको दरबार) भनिँदो रहेछ ।  

भग्नावशेष भएका ठाउँमा सयौं वर्ष पुराना विशाल रूख छन् । यस्तै प्रकारले मु क्होंला (तल्लो क्होला)को मध्य भागमा सयौं घरका भग्नावेशष छन् । त्यहाँ अहिले पनि २४ फिट चौडाइ र ६४ फिट लम्बाइ भएको पर्खालसहित घरको भग्नावशेष छ जसलाई क्होंला राज्यको छोजधिं (सभाघर) मानिएको छ । क्याम्व्रिज विश्वविद्यालय, पुरातत्व विभाग र तमु प्ये ल्हु संघको संयुक्त अनुसन्धानबाट त्यहाँ ६० वटा घरका भग्नावेशष फेला पारिएको थियो ।  

सभाघरको आँगनमा चार फिट ६ इन्च अग्लो ढुंगाको खाँबो छ । यसलाई घले राजाको घोडा बाँध्ने खाँबो भनिँदो रहेछ । प्राज्ञ डा. जगमान गुरुङका अनुसार उक्त ढुंगाको खाँबो क्होला राज्यको मौलो हो । छोजधिंको पछाडितिर ठूल्ठूला ढुंगाका छपनी छापिएको भग्नावशेष छ जसलाई क्होइवाधिं मानिएको छ ।  

क्होंलसोंथर  अध्ययन टोली ।  

हाम्रा पुर्खाले अन्न पिँध्न प्रयोग गरेका पानीघट्टका अवशेष मु क्होंला क्षेत्रका खोलामा पाइन्छ । यस्तै प्रकारले मु क्हाेंलाका मध्य भागको सिरानमा म्हुद युम जोखना हेर्ने ढुंगा छ । तत्कालीन समयमा स्यारपु कटुवालले बस्तीमा केही कुरा संचार गर्दा वा घोक हाल्दा त्यही ढुंगामा टेक्ने गर्थे रे ! यसरी तल्लो क्होंलामा जोखना हेर्ने ढुंगादेखि थोरै तल गएपछि पूर्व दिशातिर ओखलको भग्नावशेष पनि छ । 

क्होलाबाट तमु राज्य संचालन भएको प्येहरूमा लेखिएको छ । यहाँबाट पश्चिममा मादी नदीको शिर करुदेखि पूर्वमा मिदिम खोलाको शिरसम्म र दक्षिणमा ऋबुच्हो र उत्तरमा दूधपोखरीसम्म क्होंला राज्य फैलिएको थियो भनेर तमु प्येमा उल्लेख छ । 

हामीले त्यस दिन तल्लो क्होंलामा देखिएका भग्नावशेषको जानकारी बटुल्यौं । क्यामेरामा कैद पनि ग¥यौं । खाना खाएपछि भरियाहरू क्होंलाबाट चोंरो   धर्मशालातिर  गए ।  

हामी (श्याम, युनिश, म र स्रोत व्यक्ति डिलबहादुर दाइ) २ बजेतिर (तु क्होंला) उपल्लो क्होंलातिर उकालो लाग्यौं । झन्डै २ घण्टाको कडा उकालो चढेपछि उत्तरतिर च्हयम्स्यो ङारा (झुमा गुफा)मा पुग्यौं ।  

प्राचीन भग्नावशेष 

त्यो लेक (४,००० मिटर)मा जटामसी, पाँचऔंले लगायत जडीबुटीका बोटविरुवा देखाउँदै तिनको महत्व बुझाए हाम्रा डिलबहादुर दाइले । उनले गोठालाका रूपमा २० वर्षभन्दा बढी समय लेकमा बिताइसकेका रहेछन् ।  

चट्टाने भीरमा गुफा पत्ता लगाउन सजिलो थिएन । आखिर श्याम, युनिश र डिलबहादुर दाइले पत्ता लगाएरै छाडे । मेरो भने लेक लागेर बेहालै भयो । टाउको फुट्ने गरी दुख्ने, बान्ता आउने, दिसा लाग्ने भइरह्यो । त्यसैले म बर्सादी ओछयाएर बुगेनमा सुतें । सयौं सपना देखें । अरूले सहयोग माग्दा हुन्न भन्न नसक्ने बानीले थुप्रै पटक दुःख पाएको सम्झें । आफूले आफैंलाई सम्झाएँ । 

गुफा खोज्न गएका साथीहरू घण्टौं कुर्दासम्म आएनन् । साथीहरू गुफा अध्ययन गरेर फर्के । त्यो समयमा झुमा बस्ने गुफामा ढुंगाले गारो लगाएर व्यवस्थित बनाइएको सुनाए साथीहरूले ।  

क्होंलाको एकसरो अध्ययन सकेर हामी चोंरो धर्मशाला पुग्न हिँड्यौं । त्यहाँ पुग्न ५ घन्टा हिँड्नुपथ्र्यो । सुरुमै उकालो आयो । उच्च समस्थली (४,२०० मिटर)मा पुगेर फेरि विस्तारै ओरालो झ¥यौं ।  

अब त श्याम भाइको खुट्टाले पनि काम गर्न छाड्यो । हामी चार जना अनेक दुःख झेल्दै सकीनसकी ओरालियौं । गोरेटोमा भेडा, भैंसी र गाईका बथानसँगै गोठाला भेट्यौं । सबैसँग हाइहेल्लो गर्दै राति दश बजेतिर धर्मशाला (३,३०० मिटर)मा पुग्यौं ।  

मलाई टाउको दुख्न छाडेको थिएन । वाकवाकी पनि लाग्यो । धर्मशालामा साथीहरूले कोदाको ढिँडो पकाएका रहेछन् । मन नलागीनलागी ढिँडो र फाँटो खाएर सुत्यौं ।  

चट्टाने भीरमा गुफा पत्ता लगाउन सजिलो थिएन । आखिर श्याम, युनिश र डिलबहादुर दाइले पत्ता लगाएरै छाडे । मेरो भने लेक लागेर बेहालै भयो । टाउको फुट्ने गरी दुख्ने, बान्ता आउने, दिसा लाग्ने भइरह्यो । त्यसैले म बर्सादी ओछयाएर बुगेनमा सुतें । अनि सयौं सपना देखें ।

बिहान अबेरसम्म आराम ग¥यौं । हामी खाना खाएपछि मात्र ओरालो झ¥यौं । युनिश र डिलबहादुर क्रबुडाँडा र नौचुको फोटा लिन हामीबाट छुट्टिए । सिन्कु खोलाको ओरालो झर्दा मैले पुराना दिन सम्झें । यो ठाउँमा हामी निगाला काट्न आउँथ्यौं । दशैंमा पिङ थाप्न काठ काट्न आउँथ्यौं ।  

हामी त्यहाँबाट झ¥यौं । खोला क्लि भैंसीखर्कमा पुगेर खाजा खायौं । हामी ताङतिङ आइपुग्दा अपरान्हको ४ बजेको थियो । त्यस रात सबै जना हाम्रो घरमा बस्यौं ।  

भोलिपल्ट असार २४ गते हामी सबै पोखरा झ¥यौं । यसरी पोखरादेखि क्होला सों प्रे टोंको पाँच दिने मनसुन टे«क पूरा भयो । हामीले क्होंलाको १५ मिनेटको वृत्तचित्र बनाएर संस्कृतिकर्मी दाइ डिबि गुरुङलाई बुझायौं । त्यो भिडियो युटयुवमा पनि छ ।  

अध्ययन अनुसार क्होंलाबाट तमुहरू १२ सय वर्षअघि बसाइँ सरेका हुन् । क्होंलासोंथरको इतिहास खोतल्दा मनाङको मैज्यू ह्युल र सब्जे प्हला ऊ नामक स्थानमा कृषि उत्पादन कम हुँदै गएको र पशुपालनमा पनि समस्या देखिएकाले त्यहाँका क्हयाल्बो (राजाले) ले खेती हुने स्थानको खोजीमा तीन जना शिकारीलाई दक्षिणतर्फ पठाएको तमु प्ये (गुरुङहरूको कथा) बुझिन्छ ।

कास्कीको ताङतिङ गाउँमा आन्तरिक पर्यटकसँगै गुरुङ समुदाय । 

ती शिकारी क्होंलामा आए र फर्कने बेलामा धनुषवाणको ठोक्राको पिँधमा रहेको करु (ऊवा) को दाना क्होंलामा छरेर गए । ६ महिनापछि फर्केर आउँदा उवा राम्रो भएको देखे । त्यसैले त्यहाँ क्हयाल्वो राजाले बस्ती बसालेको हुनाले त्यस ठाउँको नाम क्होंला रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।  

क्होलाबाट तमु राज्य संचालन भएको प्येहरूमा लेखिएको छ । यहाँबाट पश्चिममा मादीको शिर करुदेखि पूर्वमा मिदिम खोलाको शिरसम्म र दक्षिणमा ऋबुच्हो र उत्तरमा दूधपोखरीसम्म क्होंला राज्य फैलेकोथ्यो भनेर तमु प्येमा उल्लेख छ ।

क्होंला कास्कीको ताङतिङ, सिक्लेस, याङ्जाकोट र लमजुङको भुजुङ, घनपोखरा, पसगाउँ सिङदीबाट जान सकिन्छ । तमु संस्कृतिको आदिमभूमि एवं प्राकृतिक सौन्दर्यको भण्डार भएकाले क्होंला घुम्नलायक छ ।  

समग्रमा भन्नुपर्दा क्होंलसोंथरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जरुरी छ । दर्शनीयस्थल हो क्होंलसोंथर ।  हामी तमुहरूले त एक पटक पुगेर आफ्नो आस्था दर्शाउनै पर्छ ।  

(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश ।)  

प्रकाशित: २६ जेष्ठ २०७७ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App