२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

फर्गेट भने पनि फर्गेट नहुने रहेछ– एस्टर्डे

‘फर्गेट एस्टर्डे’ सुने–सुनेझैँ लाग्ने, केही घटना–परिघटनाहरू सम्झाउने शब्दजस्तै लाग्छ। जे–जसरी, जुनसुकै मनसाय या दुराशयले घटेको या घटाइएको भए पनि भएको त भैहाल्यो। जति फर्गेट भने पनि फर्गेट नहुने रहेछ– एस्टर्डे।

कुनैबेला सोसियल मेडियामा निकै चलेको र एकजना उच्चपदस्थ सम्माननीयलाई एकैसाथ धुलिसात बनाएको वा बनाइएको यौटा घटना र त्यो बेला निकै प्रयुक्त शब्दहो ‘फर्गेट एस्टर्डे’। एकजना पूर्व प्रधानमन्त्री, जो त्यो शब्द प्रयोग गरेर बेलाबेला खिसिटिउरी गर्न रुचाउँछन्, उनैले लोकार्पण गरेको कवि मिना श्रेष्ठको कविताको किताबको नाम पनि हो ‘फर्गेट एस्टर्डे’। जसमा लामाछोटागरी जम्मा ५७ वटा फरक स्वाद र प्रकृतिका कविता छन् ।

समाजमा व्याप्त विकृति, विसङ्गति, अन्याय, अत्याचार र असमानताहरूका विरुद्धको खबरदारी फर्गेट एस्टर्डेको सबल पक्ष हो। उनले आफ्ना केही कविताहरूमा पिछडिएको जाति, समुदाय र सम्प्रदायको आवाज बोलेकी छन्। ‘म शान्ता चौधरी’ त्यस्तै यौटा कविता हो। ‘युगको समाधी’, ‘दासत्वको दाह संस्कार’ र ‘पहिचान आमाको’ सङ्ग्रहभित्रका सामाजिक चेतले ओतप्रोत भएका कविताहरू हुन्।

पितृसत्तात्मक सत्ताले जकडेको हाम्रो समाज र त्यही समाजमा नेपाली महिलाहरूको अवस्था र यसको पृष्ठभूमि, उनीहरूले भोगेको कष्टप्रद जीवनको कथा र सोका विभिन्न आयामहरूको कलात्मक चित्रण गरेकी छन् उनले आफ्ना केही कविताहरूमा। ‘आइमाई बस्ने घर’ यौटा त्यस्तै कविता हो, जहाँ नेपाली पुरातन महिलाहरूको कुरूप अवस्थाको चित्र छ। बाबुको घरबाट लोग्नेको घर पुगेकी चेलीले आफ्नो घर खोजेको कथा छ त्यहाँ। यो नेपाली ग्रामीण महिलाहरूको प्रतिनिधिमूलक पीडा हो। हुन त अहिले अवस्था केही हदसम्म बदलिएको छ। पुरूषहरू नै घर न घाट भएका घटनाहरूको अलग्गै फेहरिस्त छ हाम्रो समाजमा। त्यतातिर नजाऔं। कविता कलात्मक छ।  

हो, मेरी आमाको घर थिएन

बुबाको घर कहिल्यै उनको भएन  

त्यो घर काकाको थियो  

त्यो घर बडाबाको थियो  

मेरी आमा जहिल्यै  

बाहरूको घरमा बसिन्। (आइमाई बस्ने घर)

यसरी लैङ्गिक विभेदको कलात्मक विन्यास गर्न सफल कवि ‘चौतारी जिन्दगीको’ मा पुग्दा ठ्याक्कै १८० डिग्रीमा फर्केकी छन् र आफू प्रीतको चौतारीमा दासी बन्न राजी छन्। ‘छिल्लिएको हावा’ मा उनको स्वभाव, आशक्तिपूर्ण छ्र। ‘तिमीलाई बेहुला बनाई भिœयाउने मन छ’ कवितामा उनको नारी सुलभ मन चञ्चल, कोमल र प्रेमिल भेटिन्छ। मानौं, कि उनी बेहुली बनेर बेहुलाको भावातीत प्रतीक्षामा छिन्। ‘भोगाइ तिम्रो र मेरो’ मा उनको काव्यात्मक स्वरले जीवन बाँच्नु र भोग्नुबीचको अन्तर दर्शाउँछ। प्रेम, पीडा, विरह, आनन्द सबमा उनको निजात्मक अनुभूति छ तर कोमल, मुलायम र मखमली।  

यही भिन्नता त छ  

तिमी र ममा  

म सुस्तरी प्रेम बोल्न चाहन्छु  

तिमी प्रेममा पनि विरह भेट्छौ

म पीडामा पनि आनन्द पाउँछु  

फरक यही त छ  

तिमी बाँच्ने जिन्दगीको  

मैले भोग्ने जिन्दगीको (भोगाइ तिम्रो र मेरो)

त्यसैले, उनका कविताहरूको काव्यात्मक प्रवृत्ति केलाउन त्यति सहज छैन। विविधता उनको विशेषता हो। हुन पनि, एकै खाले दृश्य खासै सुन्दर देखिन्न। हिमाल, पहाड, झरना, हरियाली, घाम–छाया, नदी, ताल–तलैयासँगै देखियो भने पो सुन्दर देखिन्छ्र। यस मानेमा कवि मिना श्रेष्ठ सुन्दर छिन्। उनको कविताको क्यानभास पनि सुन्दर छ।  

कविहरू कवितामा गुलाब खेती गर्छन्। मखमली आरोहणदेखि मैनझैँ पग्लिएका कविता कोमल लाग्छन्। सुन्दर लाग्छन्। सरलता, कोमलता र भाव गहनता सुन्दर कविताका गहनाहरू हुन्। मायाप्रेम, कविताको सर्वाधिक प्रिय सौन्दर्य हो। यो सर्वकालिक र शाश्वत हुन्छ्र। कवि मिना श्रेष्ठ पनि प्रेमिल कविताहरू लेख्न रुचाउँछिन्। उनका प्रेमपरक कविताहरू पढ्दा पाठक पनि आनन्दको अनुभूति गर्छ। कल्पनामा आफै भित्रभित्र हराउँछ।  

नदेखोस् कसैले  

हामी एउटै छातामा रुझ्दै हिँडेको  

नचियाओस् कसैले  

तिमी आधा, म आधा रुझेको (प्रेमिल झरी)  

सपनाहरू  

खण्डित बनेर आउँछन्

हरेक रातहरूमा  

र मलाई बिथोलेर जान्छन्

झस्काउँदै भन्छन्

झस्काउँदै सोध्छन्  

खै ती सिरानी लाउने हातहरू ?  

सुस्तरी सोध्छन्  

खै ती जिन्दगी बिताउने साथहरू ? (सपना र जीवन)

उनी भन्छिन्, ‘राजनीतिक प्राणी पनि हुँ म। कति बेला शासकका विरुद्ध, कति बेला संयन्त्रका विरुद्ध र कति बेला पार्टी नेतृत्वका विरुद्ध जोडले झटारो हान्न भन्छ मन। राजनीतिक विवेकले बन्धक बनाउँछ मनलाई ।’

तर किताब पढिरहँदा लाग्छ, उनले झटारो हानिनन् या प्रेमपूर्वक हाँनेझैँ गरिन्। जसले उनीभित्रको राजनीतिक प्राणीलाई सके फाइदा नै होस्, नभए नि केही घाटा नपरोस्। या उनको मनलाई नै राजनीतिक विवेकले बन्धक बनायो र उनी त्यसैको मेला पसिन्। एउटा सचेत पाठक झटारो खोज्दाखोज्दै आफै हराउँछ।  

काव्यको भाषा दैनिक जीवनमा प्रयोग हुने भाषाभन्दा अलिक भिन्न हुन्छ। दैनिक जीवनमा संवाद अथवा सम्प्रेषण हेतु प्रयोग हुने भाषा र काव्यिक लेखनमा प्रयुक्त भाषाले सामान्य लाग्ने विषयलाई पनि नयाँ ढंगले हेर्ने प्रयत्न गर्छ।

जुन सधैंको जस्तो सामान्य या सपाट हुँदैन। यसले पुरानो हुँदै गएका क्लिसे बिम्ब या विषयहरूलाई पनि विसामन्यीकरण गरेर हेर्ने दृष्टता गर्छ र फेरि नयाँ मौलिकपन दिन्छ भन्छन् पश्चिमाहरू पनि। त्यतातर्फ कविको ध्यान अलिक पुगेन कि। उनी सरल, सहज र कोमल बन्ने धुनमा आवश्यकताभन्दा बढी नै सरल बनिन्।

व्याख्यान मोहले कविताको सन्तुलन कमजोर हुन्छ। शब्द फारु गर्नुपर्छ कवितामा। कविताको बनोट र बुनोट जति कसिलो र सन्तुलित भयो उति सुन्दर हुन्छ कविता ।

मलाई लाग्छ, कवितामा पाठकले अर्थका नयाँ तह वा आयाम खोज्छ। त्यो उसको चेतनाको तह, मानसिक क्षितिज, वैचारिक धरातल, समय, परिवेश या परिस्थितिअनुसार फरक हुन पनि सक्छ।

धेरै टाढा नजाऔँ, २०२६ सालमा प्रकाशित भूपी शेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’लाई के पञ्चायतकालीन राजनैतिक अन्धोपन मात्रै भनेर बुझिरहने ? २०४६ पछिको बहुदलीय व्यवस्थाको छाडापन अथवा २०६२÷६३ पछि मौलाएको गणतान्त्रिक नेपालका कुर्चीहरूमा देखिएको अव्यवस्थाको नाङ्गो स्वरूप भनेर बुझ्न पाइने कि नपाइने ?

‘समाजलाई प्रगतिशील रूपान्तरण गर्ने ध्येयको बलले यो सम्भव भएको हो’ भनेर कवि मिना श्रेष्ठलाई प्रगतिशील कविको जामा पहिर्‍याउने प्रयत्नमा देखिन्छन् कतिपय आशीर्वचनहरू किताबमा। हाम्रोमा कुनै अमुक पार्टीको कार्यकर्ता भएपछि जे लेखे पनि प्रगतिशील हुने यौटा शैली विद्यमान छ। म चाहीँ ‘साहित्य प्रगतिशील या अप्रगतिशील भन्ने हुँदैन, यो कि त सुन्दर हुन्छ, कि असुन्दर हुन्छ’ भन्ने मान्यतालाई विश्वास गर्ने भएर पनि हुन सक्छ, अधिकांश कविताहरूमा प्रगतिशीलताको जामा फुस्किएको देख्छु।  

हृदयले हृदयलाई छुँदा  

कुनै भाइरस सर्दैन, जोखिम छैन  

बरू एक्लै रहूँ केही दिन  

बरू एक्लै सहूँ सबै चिज (उन्मुक्त प्रेम)

कसम होला जिन्दगी  

देवीदेवता भाकिसकेँ  

कति ढाँट्छस्, ढाँट जिन्दगी  

जति सक्छस्, ढाँट जिन्दगी (ऐठन हुने सपनाको सहर)

तिम्रो रक्सीको बेहोसी  

मलाई मात्रै थाहा होस्  

थाहा नहोस् कसैलाई  

कि तिमी मातेर आएछौ (प्रिय तिमी मातेर आऊ)

हृदय र मस्तिस्कमा एकसाथ तरङ्ग पैदा गर्न सक्नु कविताको सौन्दर्य हो र शक्ति पनि। त्यस्ता कविताहरू नै सुन्दर र शक्तिशाली कविता हुन्। कविहरू कवितामा आगो पनि ओकल्छन्। अन्याय, अत्याचार, हत्या, हिंसा, आतङ्क तथा असत्यको विरुद्धमा मशाल बोक्नु कविताको धर्म हो। संसारका ठुला ठुला आन्दोलनहरू तथा महŒवपूर्ण परिवर्तनहरूमा कविता साक्षी बसेको छ।

कविता नै साधन बनेको छ। आफूलाई राजनीतिक, सामाजिक अभियानमा होमिएको भन्न रुचाउने कविहरूबाट त पाठक अझ बढी अपेक्षा राख्दछ्र र यो अपेक्षा कवि मिना श्रेष्ठसँग त झन् बढी छ ।

त्यसो त, कवितालाई शाषकहरूले बेलाबेला आफ्ना तबेलाहरूमा पनि बाँधेका छन्। कतिपय आग्रह, पूर्वाग्रहमा बाँडिएर कविहरू आफै शासकहरूको तबेलामा बाँधिन रुचाइएका घटनाहरू पनि भेटिन्छन्।

अलिक समयअघि नेपाली गीतिलेखनको सर्वोच्च शिखर भनेर गीतकार खड्गप्रसाद ओलीमा प्रशस्ति चढाएको प्रसङ्ग चर्चित बनेको थियो। त्यसो त सत्ताकै साधन र स्रोत दुरूपयोग गरी नेता तथा मन्त्रीहरूकै प्रशस्ति गाएर, लेखेर र छपाएर सरकारी गाडी चढ्नेहरूको बिगबिगी छ जताततै। आफूले आफैलाई साहित्यिक राष्ट्रनायकलगायत दर्जनौं मानपदवी घोषणा गर्ने अलौकिक साहित्यकार र त्यसैमा फटके कीनाराको साक्षी बस्न जाने प्राज्ञहरू पनि छन् बजारमा।

बेलाबेला मानपदवी, उपाधि पनि यसरी बाँडिन्छ कि उपाधि नै लजाउँछ। पुरस्कार, अभिनन्दनको क्रयविक्रयको अर्कै पाटो छ। ‘केपीबा ! आइ लभ यु !’ भन्ने सङ्कल्प कविताले गर्न खोजेको सङ्कल्प र त्यहाँ व्यक्त गरिएको जबर्जस्त ‘आइ लभ यु’ले त्यस्तै घटनाहरूको संस्मरण गराउँछ्र। यो सङ्कल्प कविता नभएर त्यस्तै प्रशस्ति मात्रै हो भन्ठान्छु म। मैले भन्ठानेको कुरामा कवि र समस्त पाठक सहमत हुन आवश्यक छैन भन्ने कुरामा पनि म सचेत छु।  

जाँदाजाँदै, मलाई मन पर्ने लेखक सञ्जय थापा, उर्फ प्रदीप नेपालका शुभकामनाका शब्दहरूबाट केही शब्द सापट लिएर बोलूँ– सबै कविताहरू मिठा छन्। उनका कविताको मिठास उनका कविताहरू पढेपछि मात्र लिन पाइन्छ। सबै कविता राम्रा छन्, तर केही कविता अत्यन्त शक्तिशाली छन्। मैले पढेँ, तपाईंहरू पनि पढ्नुस् है !

प्रकाशित: १८ भाद्र २०७९ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App