नयाँ वर्ष ०८२ लाई स्वागत गर्दै खोटाङ सदरमुकाम दिक्तेलमा ‘रेडपाण्डा–थार महोत्सव’ आयोजना हुने भएको छ।
‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई लक्षित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। उनले नयाँ वर्षलाई भव्य र सभ्य रूपमा स्वागत गर्दै महोत्सवलाई सफल बनाउन सम्पूर्ण खोटाङवासीलाई सहभागिता जनाउन आह्वान गरे।
नगरको वडा नं. १० पाथेका जङ्गलमा लोपोन्मुख जनावर रेडपाण्डा र थार भेटिएपछि तिनको संरक्षण तथा प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको हो। दिक्तेल–हलेसी सडकखण्डअन्तर्गतको पर्यटकीय स्थल हुर्लुङमा दुईदिने महोत्सव आयोजना गरिने छ।
महोत्सव मूल आयोजक समिति अध्यक्ष एवं वडा नं. १० का वडाध्यक्ष मुगाधन राईका अनुसार विभिन्न जातजाति र समुदायको संस्कृति झल्किने परिकार, भेषभूषा, काठ–बाँस तथा कच्चा पदार्थबाट बनेका सामग्री र स्थानीय उत्पादनका स्टलहरू महोत्सवका प्रमुख आकर्षण हुनेछन्।
त्यस्तै, नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले तयार पारेका रेडपाण्डा र थार सम्बन्धी चित्रहरू पनि महोत्सवस्थलमा प्रदर्शनी गरिनेछ। पर्यटन प्रवर्द्धनसहित स्थानीय आयआर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको आयोजक पक्षको भनाइ छ।
महोत्सवकै अवसरमा नयाँ पदमार्ग ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ को पनि औपचारिक शुभारम्भ गरिनेछ। किराती समुदायको सांस्कृतिक महत्व बोकेको तुवाचुङ–जायजुम क्षेत्रअन्तर्गत पर्ने हुर्लुङ, रूपाकोट, बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेलमा जोडिने सो रुटको प्रारम्भ हुर्लुङबाट हुनेछ।
यस नयाँ रुटको औपचारिक शुभारम्भ नयाँ वर्षको दिन ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ का सद्भावनादूत तथा अभिनेता दयाहाङ राईले गर्ने कार्यक्रम तय भएको छ।
नगर उपप्रमुख विशन राईका अनुसार तीन दिनमा पूरा गर्न सकिने यो ट्रेलले दिक्तेल रुपाकोट मझुवागढी नगरको पर्यटन सम्भावनामा उल्लेख्य टेवा पुर्याउने विश्वास गरिएको छ।
शुभारम्भको दिन दयाहाङसहित अतिथि टोली समुन्द्री सतहदेखि २६०० मिटर उचाइमा रहेको पर्यटकीय स्थल रूपाकोटमा वास बस्नेछ। भोलिपल्ट उनीहरू लोपोन्मुख प्रजाति रेडपाण्डा र थार अवलोकनका लागि पाथेका पुग्ने कार्यक्रम रहेको छ।
केही महिना अघि मात्रै पाथेकास्थित मेरुङ सामुदायिक वन उपभोक्ता समूहमा दुर्लभ रेडपाण्डा भेटिएको थियो। त्यसपछि नगरपालिकाले सो क्षेत्रको संरक्षणसहित तीन किलोमिटर दूरीको ‘रेडपाण्डा–थार रुट’ नामक ट्रेल सञ्चालनमा ल्याउन लागेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले जानकारी दिए।
प्रकाशित: ३० चैत्र २०८१ १४:४९ शनिबार





