जुम्लाका एथ्लेटिक्स खेलाडीहरूले कर्णाली स्पोर्ट्स क्लबमार्फत चन्दननाथ नगरपालिका-५, रानीपोखरीनजिकै २२ लाख रुपैयाँको लागतमा कुटानी-पिसानी मिल सञ्चालन गरेका छन्।
यो मिल विगत सात वर्षदेखि सञ्चालनमा छ र खेलाडीहरूको दैनिक प्रशिक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक यातायात र खाजा खर्च जुटाउन महत्वपूर्ण सहयोगी बनेको छ। मिलमा धान कुट्ने, पिठो पिस्ने लगायतका सबै सेवा उपलब्ध छन्।
क्लबका अध्यक्ष सरोज शाहीका अनुसार, मिलको आम्दानीले नयाँ खेलाडी उत्पादन र खेलाडी व्यवस्थापनमा सहयोग पुगेको छ। ‘नियमित प्रशिक्षणका क्रममा खाजा, पोसाक, जुत्ता र यातायात खर्चको अभावले खेलाडीहरू निरुत्साहित थिए,’ उनले भने, ‘अब यो समस्या समाधान गर्दै कर्णालीको खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सक्षम खेलाडी उत्पादनमा केन्द्रित छौँ।’
विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले मिल सञ्चालनका लागि ३५ लाख बराबरको जग्गा र आफ्नो हरिबहादुर फाउन्डेसनमार्फत १ लाख ५० हजार नगद सहयोग गरेका छन्। ‘भोकै प्रशिक्षण र सहयोग माग्दा भोग्नुपरेको तिरस्कारको पीडा हामीलाई मात्र थाहा छ,’ उनले भने, ‘त्यसको अन्त्य गर्न यो मिल सञ्चालनमा सहयोग गरेको हुँ।’ रोकाया स्वयंले मिलको व्यवस्थापन सम्हालिरहेका छन्, किनकि छुट्टै कर्मचारी राख्न आर्थिक समस्या छ।
जुम्लाका खेलाडीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल छन्, तर आर्थिक कठिनाइले उनीहरूको प्रगतिमा बाधा पुग्दै आएको थियो। रोकायाले प्रशिक्षण दिएका खेलाडीहरू हाल भारतीय सेना, नेपाली सेना र प्रहरीमा कार्यरत छन्। ‘राज्यलाई खेलाडीले चिनाएका छन्, तर खेलाडी संरक्षणमा राज्यको लगानी न्यून छ,’ उनले भने, ‘त्यसैले हामीले आफ्नै मिल स्थापना गरेर जीवन धानिरहेका छौँ।’
मिल सञ्चालनका लागि १२ किलोवाटको सोलार जडान गरिएको छ, जसमा ग्रिड इन्टरनेसनल काठमाडौँले १४ लाख, राधा पौडेल फाउन्डेसनले २५ हजार र चन्दननाथ नगरपालिका-५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले २ लाख रुपैयाँ सहयोग गरेका थिए।
भवन निर्माणमा ७ लाख ५० हजार खर्च भएको अध्यक्ष शाहीले बताए। पूर्वखेलाडी र जागिरे खेलाडीले १ लाख, चन्दननाथ-२ का दया खत्रीले गिट्टी र ढुवानी, नगरपालिका-६ का वडाध्यक्ष रवि थापाले डोजर खर्च र नगरपालिका-१ का धर्मेन्द्र महताराले अन्य सहयोग गरेका थिए। कर्णाली स्पोर्ट्स क्लबका खेलाडीहरूले मिल निर्माणमा श्रमदान गरेका छन्। यसअघि, खेलाडीहरूले २५ सय वर्गमिटर क्षेत्रफलमा फापर, तरकारी र सिमी खेती गरेका थिए।
प्रकाशित: ३० चैत्र २०८१ १३:१७ शनिबार




