लेखक एवं व्यवसायी गणेशप्रसाद लाठले ‘सीमान्त सम्झना’ नामक पुस्तक सार्वजनिक गरेका छन्। नेपालयले प्रकाशन गरेको संस्मरणात्मक पुस्तक शनिवार काठमाडौंमा सार्वजनिक गरिएको हो।
वीरगन्जमा जन्मे-हुर्केका लाठले आफूले त्यस ठाउँका विषयमा देखेको, भोगेको विषय पछिल्लो पुस्तालाई जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताएका छन् । उनले सीमान्त सम्झना एउटा उत्सुक बालक, किशोरले देखेको आफ्नो घर समाजको रूपान्तरणको संस्मरण भएको बताएका छन् ।
लाठले समाजका विसङ्गतिलाई साहित्यमार्फत पोख्ने गरेका छन् । उनले छिटपुट कविता मात्रै होइन आर्थिक विषयमा पनि लेख्छन् । उनको यो पाँचौँ कृति भएको बताएका छन् । यस अघि तराइका पृष्ठभूमिमा लेखिएका व्यङ्ग्यात्मक कथा ‘छमियाँ’ प्रकाशन गरेका थिए । त्यसै गरी ‘अघटित’, ‘क्षमादान’ लगायतका पुस्तक प्रकाशित छन्।
तीन वर्ष लगाएर सीमान्त सम्झना प्रकाशन गरेको बताएका छन् । उनले पुस्तकमा वीरगन्जका पुराना जानकार व्यक्तिसँग कुरा गरेर उल्लेख गरेका छन्।
कार्यक्रममा लेखक यादव देवकोटाले वीरगन्जबारे लेखिएको पुस्तकको समीक्षा गरेका थिए । लाठ एक व्यापारी भएर पनि अनुसन्धानात्मक रूपमा पुस्तक प्रकाशन गर्नु निकै सकारात्मक भएको बताए।
‘विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ’, पुस्तकमा भनिएको छ । ‘रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोक इतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र !’
प्रकाशित: ३० चैत्र २०८१ १६:४७ शनिबार




