अस्थायी एकीकृत आवास स्थलमा रहेका विपद् पीडितलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा नं ३ लुकुवा क्षेत्रमा स्थायी पुनर्वास गराउने गरी गृहकार्य अघि बढाएको छ। गाउँपालिकाले लुकुवा क्षेत्रमा करिब ७० रोपनी जग्गाको व्यवस्थापन गरी स्थायी एकीकृत आवास केन्द्र बनाउने प्रकृया अघि बढाएको हो।
गाउँपालिकाका प्रवक्ता एवं पालिकाको वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार लुकुवा क्षेत्रमा प्रतिरोपनी तीन लाख ५० हजार रुपैयाँमा जग्गाको स्वामित्व पालिकामा आउने गरी जग्गा धनीसँग कुरा टुङ्गिएको छ। अब चाँडै जग्गा प्राप्तिको प्रकृया अघि बढ्ने समेत उनले जानकारी दिए।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले स्थायी पुनर्वासका लागि छानिएको जग्गाको माटोमा आवास स्थल बनाउन उपयुक्त हुने वा नहुने भन्ने विषयमा माटो परीक्षण समेत गरिएको छ। माटो परीक्षण प्रतिवेदनमा स्थायी पुनर्वास स्थल निर्माण गर्न सकिने अवस्था देखिएको पालिकाले बताएको छ। माटो परीक्षण प्रतिवेदनका आधारमा पालिकाले लुकुवा क्षेत्रको उक्त जग्गा पालिकाको स्वामित्वमा प्राप्त गरी विपद् पीडितका लागि स्थायी आवास गृह बनाउने कार्य सुरु गर्ने छ।
बाढीपहिरोका कारण विस्थापित तथा उच्च जोखिममा परेका पालिकाका ६५ पहिरो प्रभावित परिवारलाई पालिकाले २०८० साल असोज ८ गते एकीकृत अस्थायी आवास स्थल निर्माण गरी हस्तान्तरण गरेको थियो। अब स्थायी एकीकृत आवासस्थल निर्माण भएपछि पालिकाले निर्माण मदन भण्डारी रंगशलामा निर्माण गरेको अस्थायी आवास स्थल खाली गरी निर्माणाधीन रंगशालालाई समेत पूर्णता दिने प्रकृया अघि बढाइने भएको छ।
अस्थायी आवास स्थलमा मैवाखोला गाउँपालिका वडा नं ४ साँघु ओदक टोलका ६२ परिवार, ताम्राङ टोलका दुई र वडा नं ३ का एक गरी ६५ परिवार रहेका थिए। पहिरो पीडित ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई परिवार लिम्बू समुदायका रहेको गाउँपालिकाले जनाएको छ। अस्थायी आवासस्थलमा रहेका परिवारमध्ये केही भने यो आवास स्थलबाट बाहिरिएका छन्।
२०८० साल असार महिनामा आएको भीषण बाढी तथा पहिरोका कारण विस्थापित भएका तथा उच्च जोखिममा रहेका परिवारलाई मैवाखोलाले निर्माणाधीन अस्थायी रंगशालामा अस्थायी एकीकृत आवास स्थल बनाइ सुरक्षित गरेको थियो। अब पालिकाले विपद् पीडित परिवारलाई एकीकृत स्थायी आवास स्थल निर्माण गरी स्थायी रूपमै पुनर्वासमा राख्ने भएको छ। अस्थायी आवास गृह निर्माणका लागि श्रमदानसमेत एक करोड ५० लाख ५३ हजार ७ सय ८७ रुपैयाँ खर्च भएको थियो।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार आवास गृह निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, व्यक्ति तथा संस्थाबाट ५५ लाख ९२ हजार ७७० रुपैयाँ सहयोग भएको थियो। यस्तै गाउँपालिकाको २६ लाख ६० हजार १७ रुपैयाँ र श्रमदानबापत ६८ लाख एक हजार रुपैयाँ बराबर खर्च भएको गाउँपालिकाले जनाएको छ।
प्रकाशित: ३० चैत्र २०८१ १३:२२ शनिबार





