१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

देवघाट प्लाष्टिक निषेधित क्षेत्र घोषणा

पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आज (शुक्रबार) भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको उपस्थितीमा एक विशेष कार्यक्रमको आयोजना गरि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको हो ।  

निषेधित क्षेत्रको घोषणा गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्लाष्टिक व्यवस्थापनमा आम नगरिक सचेत हुनुपर्ने बताइन्  । ‘पटक पटक उपमेयर सहित हामी सडकमा सरसफाईमा निस्कने गरेका छौँ । तर नागरिक सचेत भएको पाईदैन । जथाभावि रुपमा फोहोर फालेको देखिन्छ,’ उनले भने ‘फोहोर व्यवस्थापनमा सरकारी पक्ष मात्र नभई आम नगरिक पनि लाग्न आवश्यक छ।’ उनले देवघाटमा आउने भक्तजन तथा मलामीहरुलाई प्लाष्टिकको बारेमा सेचतना जनाउनुपर्ने बताए । शव लिएर आउने मानिसहरुले जथाभावि रुपमा कपडाहरु फाल्ने गरेको बताउँदै त्यसलाई व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ ।  

देवघाट क्षेत्र विकास समितिसँगै सहमति संस्था, नदीसँग हामी लगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्र भित्र ३७ वटा फोहोर संकलन गर्ने डस्बिनहरु राखिएको छ । जसमा प्लाष्टिक जन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरी प्रसाद लौडारीले जानकारी दिए ।  

घोषणा पश्चात देवघाटधाम क्षेत्रभित्र एकपटक प्रयोग हुने प्लाष्टिक झोला बोतल, गिलास, प्लेट तथा अन्य प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा क्रमशः निषेध गरिने लौडारीले जानकारी दिए । प्लास्टिक निषेधित क्षेत्र बनाउनका लागि स्थानीय सरकार, धार्मिक संघसंस्था तथा वातावरणसँग काम गर्दै आएका विभिन्न संघसंस्थासँग मिलेर अभियान सञ्चालन गरिने उनले बताए । उनले फोहोर गर्ने व्यक्तिलाई दण्ड जरिवानाको व्यवस्था गर्न स्थानीय तहलाई अनुरोध समेत गरे ।  

त्रिशूली, कालीगण्डकी र नारायणी नदीको संगमस्थल देवघाटधामलाई हिन्दू शास्त्रमा विशेष पुण्यभूमि मानिन्छ । यहाँ स्नान, दान, पूजा–पाठ र अन्त्येष्टि गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । देशका विभिन्न भाग तथा भारतलगायत बाह्य मुलुकबाट समेत हजारौँ तीर्थालु देवघाटधाममा दर्शन तथा स्नानका लागि आउने गर्छन् । देवघाट क्षेत्रको शव दाह गृहमा फोहोर व्यवस्थापनको चुनौती छ । त्यस्तै तिर्थ गर्न आउने भक्तजनले प्लास्टिक ल्याएर आउने भएकाले फोहोर बढी हुने गरेको केही समय अगाडि गरेको एक अध्ययनले देखाएको छ । शवदाह गृह वरपर मेटल सँगै लत्ताकपडा र प्लास्किटका बोतलहरु बढी हुने गरेका छन् । 

प्रकाशित: ११ पुस २०८२ १७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App