११ मंसिर २०७८ शनिबार
कला

काइतेन र बेसारको रङ

बबरमहलस्थित सिद्धार्थ कला दीर्घामा कलाकार सुवास तामाङको ‘काइतेन’ शीर्षकको एकल कला र बौद्धस्थित ग्यालरी एल एमा अर्का कलाकार एल बज्र लामाकोे ‘बेसार’ शीर्षकको अर्को एकल कला प्रदर्शनी भर्खरै समापन भयो। 

बाह्य स्वरूपमा अवलोकन गर्दा यी दुवै कला प्रदर्शनीका काम सामान्य चित्रको रूपमा दृश्यावलोकन हुन्छ। दुवैको कलाका प्रकृति यथार्थपरक छन्। बोधगम्य छन्। रेखाहरूलाई विस्तारमा केलाएर संरचना गरिएका यस्ता काममा गहिरो मिहिनेत देखिन्छ। 

यी दुवै काममा आम मान्छेले पनि चिन्न सक्ने रूपलाई क्यानभासमा व्यवस्थित गरिएको वा भएको देखिन्छ। बाह्य चर्मचक्षुले हेर्दा सहज र सरल देखिने यी दुवै कलाकारको कामले बोक्ने अर्थ, आसय र भूमिका भने गहन छ।

काइतेन र बेसारको रहस्य

काइतेन तामाङ भाषा हो, जसको भावार्थ हुन्छ, आफ्ना कुरा गीति भाषा वा कथामा भन्नु। तामाङ समुदायले सम्मानपूर्वक दिएको पदवी ताम्बा काइतेनले यसरी डम्फु बजाइबजाई भाका मिलाएर गीति कथा भन्ने गर्छन्। जहाँ तामाङ समुदायको अनेक लोकोक्ति र गाथा लुकेका हुन्छन्।

सदियौँदेखि प्रचलनमा रहेको यो किंवदन्ती आज पनि यो समुदायमा जीवन्त छ। कैयौँ सालदेखि चलिआएको यो संस्कारले यो समुदायको मर्म, पहिचानको ढुकढुकी मात्र होइन, राष्ट्रभरि छरिएर रहेका तामाङ समुदायलाई ऐक्यबद्धतामा बाँध्ने गहकिलो सूत्र पनि हो।

यस्ता जीवन्त सम्पदाको पृष्ठभूमिसँगै कलाकारले अनेकौँ उत्पीडन, सीमान्तकृत वर्गले भोगिरहेको दमन, विभेद, शोषणको विरोध र बहिष्कारलाई आफ्नो कला सिर्जनामा जोडेका छन्। गोले काइँला (२००७ सालमा स्वतन्त्रताको लडाइँमा सहिद भएका थिए), असिने लामा (कलाकारको आफ्नै बाजे) र पिपा (सेनाका भरिया) जस्ता अनेक पात्रलाई राज्यले कहिल्यै न्याय गरेन। कलामार्फत उनले यो यथार्थतालाई उठाउने जमर्को गरेको देखिन्छ। 

राज्यले सम्झन बिर्सेको सहिद (जो २००७ सालको आन्दोलनमा विराटनगरमा सहिद भएका थिए) र तामाङ समुदायमा पल्लवित भएको तन्त्रका कैयौँ अवयवलाई समेत कलाकारले प्रकाशमा ल्याउने कोसिस गरेका छन्। तामाङ समुदायमा तन्त्रको प्रभाव बेजोड मात्रामा छ भन्ने कलाकारको दाबी छ।तामाङ समुदायको अनगिन्ती यस्ता तथ्य–सत्य अवयव उनको क्यानभासमा प्रकटीकरण भएका छन्।

आफ्नो समुदायसँगको प्रेम, समुदायले सदियौँदेखि अवलम्बन गर्दै आएको परम्परा, संस्कार र यस माथिको आफ्नो आस्था र विश्वासलाई सुवासले सिर्जनामा थोरै पनि डगमगाउन दिएको देखिँदैन। बरु यही सामाजिक मान्यतालाई अझ प्रबल बनाउँदै कलाका विविध रूप प्रस्तुत गर्नु उनको कामको खास विशेषता देखिन्छ। 

समग्रमा उनको कला तामाङ जातिको इतिहास, स्मृति र पहिचानको वरिपरि घुमेको छ। अब हामी हाम्रो पहिचान आफैँ बनाउँछौँ भन्ने गर्जन उनको कलामा समावेश छ। यी र यस्तै कथा व्यथालाई अघि सारेर उनका कला बनेका देखिन्छन्। तामाङ जातिको इतिहास खोतल्दै अन्ततः समावेशी मुद्दामा पुगेका छन्, उनका कला।

बेसारमा भने कलाकारले अलि अलग्गै पाराले नेपालको वर्तमान अवस्था, सोच र क्रियाकलाप आदिलाई समेटेका छन्। बेसारको शारीरिक रोग निको पार्ने गुण र कलाको सामाजिक रोग निको पार्ने गुणबीच तालमेल मिलाइएको कलाकारको दाबी छ।

कलामार्फत सम्प्रेषण भएका सूचनालाई आम भावकले मनन मात्र गर्न सके धेरै सामाजिक समस्या हल हुन सक्थ्यो। आम जनता यसबारे सुसूचित नहुनु नै ठूलो समस्या रहेको उनको अर्को दाबी छ। उनको कलामा अलिकता नेताबारे, अलिकता अहिलेको राजनीतिक सामाजिक अवस्था (राष्ट्रबाट हुनुपर्ने तर हुन नसकेको अवस्था वा कोभिडलाई समयमै नियन्त्रण गर्न सकिन्थ्यो, तर गर्न नचाहेको वा नजानेको) आदिलाई सेटायरिकल र अस्वाभाविक संयोजन भएको देखिन्छ। 

जसमार्फत प्रस्ट आम भावकले बुझ्ने गरी यथार्थ आकृतिमूलक विम्ब प्रस्तुत हुनु यसको मूल विशेषता हो। यसरी हेर्दा समग्रमा नेपाली समाजमा अवस्थित सामाजिक र राजनीतिक सवाललाई बटुलबाटुल गरेर यसबारे आम समुदायलाई सूचना प्रवाह गर्ने लक्ष्य उनको कलाको देखिन्छ।

यसरी दुवै कलाकारले आजको समाज, यसको सोच र प्रवृत्तिलाई एकैजसो पाराले अभिव्यक्त गर्नुले यो समसामयिक कला रहेको स्पष्ट प्रत्याभूति हुन्छ। समसामयिक कलाले बोक्ने धर्म यी कलाले बोकेको छ भन्नुपर्ने हुन्छ। नेपालमा अहिले देखिएको यो समसामयिक कलाको नवीनतम धार पनि हो।

कलाबाट समाज आन्दोलित

यी दुवै कलाकारका कलाको संयोजन, प्रस्तुतिको ढाँचा, सोच र अवधारणा प्रवृत्तिगत रूपमा नितान्त एउटै स्वरूपमा देखापरेको छ। एउटै कलाको दर्शन र सिद्धान्तको आधारभूमि खडा हुनुको पछाडि दुवै कलाकारमा औपचारिक कलाको ज्ञान र सीप यथेष्ट रहेकोतर्फ स्पष्ट संकेत गर्छ। मूलतः अहिलेका नेपाली कलाकार कन्टेस्ट र कन्सेप्टलाई आफ्नो कलाको अन्तर्वस्तुका रूपमा कसेरै समात्छन्। 

यसो हुँदा अहिलेका कला स्वभावतः समसामयिक कलाको एउटै धारमा देखिन्छ। विश्व कलाको बजारमा आज यस्ता कलाको प्रवृत्तिको चर्को माग छ। यस्ता प्रवृत्तिका कला विश्वमा जहाँ पनि मान्य र ग्राह्य हुने गर्छन्। यसलाई हामीकहाँ अलि गहिरोसँग बुझ्न, बुझाउन समय लाग्न सक्छ, लागेको देखिन्छ। तथापि यो कलाको भाषा विश्वमा नौलो छैन। 

विश्व कला भाषामा खरो उत्रेका यी कलाले स्वभावतः नेपालमा नवीनतम ढंगको कला वातावरण मात्र बनाएको छैन, नेपालको कलालाई विश्वका कलासँग नजिकमा तादात्म्यता गाँसेको अनुभूत गर्न सकिन्छ।

अलि अगाडिका आधुनिक कलाकार समाजमा विद्यमान कुसंस्कारलाई अनुभव मात्र गर्थे। आफ्ना कलामा यसैको अभिव्यञ्जना पोख्थे। आजका कलाकार यसलाई परिवर्तन गर्ने हुंकार गर्छन्। आफ्नो कलामार्फत लबिङ वा वकालत गर्छन्। 

परिवर्तनका लागि पहल गर्छन्। कोल्याबोरेसनमा ओर्लन्छन्, अनि आम समुदायलाई आफ्नो कलाको एक अभिन्न अंग बनाउँछन्।आँधीबेरी जस्तो गरेर समाजको एउटा ठूलो वर्गलाई उद्वेलित गर्दै एउटा आन्दोलनको बीउ रोप्छन्। कलाको यो प्रकृति भनेकोे विश्वमा वर्तमानमा उदाएको उत्तर आधुनिक कलाको नौलो सोच र प्रवृत्ति हो।

यस्तो कलामा अति उन्मुक्त भएर भावना र विचारमा उड्न र सीमाहीन माध्यमको प्रयोग गर्न सकिन्छ। यसो बुझिहेर्दा यस्ता कला सिर्जना गर्न सजिलो जस्तो देखिन्छ। तर, यो सत्य होइन। गुणस्तरीय कला गर्नेका लागि भने यही कला अझ जटिल र चुनौतीपूर्ण छ। हिम्मत र जाँगरको आवश्यकता हुने यस्ता कला बग्रेल्ती मात्रामा देखिँदैनन्। 

कतिले जे गर्दा पनि हुने रहेछ जस्तो गरी यस्ता काम गरेको देखिन्छ। यसो हुँदा केही सर्जकका यस्ता काम अनुशासनविहीन भएर पनि देखापरेका छन्। तथापि अधिकांश माझिएका कलाकारले यो नौलो स्वरूपलाई अँगाल्ने धृष्टता गरिरहेका छन्। 

बुझ्न र बुझाउन अलिकता गाह्रो हुने, भावकलाई गहिराइमा तान्न नसकिने, एप्रिसिएसन र बिक्रीको सम्भावना कम हुने भएकाले यस्ता कला सिर्जना गर्न कलाकारको ठूलै आँट चाहिन्छ। यसो हुँदा नेपालमा कलात्मक र गुणात्मक यस्ता काम गर्नेको संख्या निकै थोरै मात्रामा छ। 

व्यवसायमा अल्झेका धेरै कलाकारले यतापट्टि आउन अलिकता हिचकिच गर्ने जस्तो देखिनु आर्थिक पक्ष पनि हो। यस्ता कलाबाट कमाइ कम हुन्छ।  

नेपालमा सामाजिक सवालहरूमा बहिष्करण विषयलाई लिएर कला सिर्जना गर्ने प्रचलन दशकौँ नाघिसक्यो। तैपनि आक्कलझुक्कल देखापर्ने यस्ता अब्बल कला भने धेरै कम देखिन्छन्। सुवासले गरेको कलाको विविध पक्षको प्रयोग, चोटिलो उनको कलात्मक मोटिफ र सांगठनिक संरचनाले भावकलाई निकै प्रभावमा पारेको देखिन्छ।

सही र गहिराइमा व्याख्या विश्लेषण हुन नसक्दा यस्ता गुणात्मक कलाहरू आम जनता, विज्ञ वर्ग र क्रेता माझ पुग्न सकेको देखिँदैन। जसले यस्ता राम्रा काम गर्ने कलाकार केही मात्रामा हतोत्साही पनि भएका देखिन्छन्। र, यो नयाँ धारलाई शुभारम्भ गर्ने कलाकार पनि कम सक्रिय भएको देखिएको छ।  

उहिले जमानामा कलाकारलाई शिल्पीको रूपमा मात्र हेरी कलामा नाम नराखी दिने, कलाको लालित्य र सौन्दर्यताको सन्दर्भ नउठाई कलाकारको पहिचानलाई उठ्न नदिने अवस्था थियो। आज परोक्ष रूपमा हेर्दा यो अवस्था फेरियो जस्तो देखिन्न। 

यसर्थ आज पनि कलाकार र कलाको पहिचान र सम्मान हुन जरुरी छ। सामाजिक वा राजनीतिक मुद्दामा बनेका कला वा विनामुद्दामा बनेका परम्परागत कला, लोककला सबै कलाको गहिरो रूपमा विश्लेषण हुन आवश्यक देखिन्छ। तर, यसमा हामी अझै कमजोर देखिएका छौँ।

सुवास र वज्र पछिल्लो पुस्ताका सशक्त भिजुअल आर्टिस्ट हुन्। सामान्यतः भिजुअल आर्टिस्ट भनी समसामयिक कलाको नयाँ प्रवृत्ति (उत्तर आधुनिककलाको प्रवृत्ति) अँगालेर सिर्जना गर्ने सर्जकलाई भन्ने प्रचलन छ। मूलतः विश्व बजारमा यसैलाई समसाायिक कलाको नौलो प्रवृत्तिका रूपमा हेर्ने गरिन्छ। अहिले नेपालमा समसामयिक कलाको परिभाषा र सीमा स्पष्ट किटान भइनसकेकाले पश्चिमी प्रवृत्ति, पद्धति र सिद्धान्तमा बनेका सबैजसो कलालाई समसामयिक कला भन्ने प्रचलन हराइसकेको छैन। 

हामीकहाँ अहिले आधुनिक कला र उत्तरआधुनिक कला भन्ने प्रचलन बढी मात्रामा पाइन्छ तर विश्व कला बजारमा अहिलेका कलालाई मात्र समसामयिक कला भन्ने गरिन्छ। नेपालमा सन् ६० को उत्तरकालमा आधुनिक कलाकार यथेष्ट मात्रामा देखापरे। 

यसैको लर्कोमा आजका युवा कलाकार पनि छन्। तथापि सन् २००० को उत्तरकालमा केही युवा कलाकारले नितान्त नौलो धारमा कलाको सिर्जना गरे। विभिन्न समयका कलाका फरक फरक धारलाई विस्तारमा केलाउन अझै बाँकी छ।

कला८८ प्रदर्शनीमा नाम राख्ने प्रचलन

कला प्रदर्शनीमा नाम राख्ने प्रचलन नेपालमा धेरैपछि मात्र विकास भएको हो। सन् ६० को उत्तरकालमा एकल कला प्रदर्शनी गर्ने लहर चल्यो। तर त्यतिबेला प्रदर्शनीको नाम राख्ने चलन थिएन। आफूसँग भएका पुराना र नयाँ कलालाई बटुलबाटुल गरेर एकल कला प्रदर्शनी गर्ने चलन थियो। कलाको अलग अलग शैली, प्रवृत्ति र अलग अलग समयका कला हुने हुँदा त्यतिबेला कला प्रदर्शनीको केही नाम राखिँदैनथ्यो। 

अलि पछि केही कलाकारले प्रदर्शनीको नाम राखी नामसँग मिल्दाजुल्दा कला प्रदर्शनी गर्न थालेको देखिन्छ। यसैबेला कलामा सिरिज भन्ने र गर्ने चलन चल्यो। पछि बिस्तारै बिस्तारै विशेष थिम र विषयमा एकै शैलीका कला सिर्जना गरी एकल कला प्रदर्शनी गरिने प्रचलन चल्यो। 

यद्यपि यसको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा अनुसन्धान आवश्यक छ। यस्तो अध्ययन, अनुसन्धानमा कला सिर्जनादेखि प्रस्तुतिसम्म र कलाको शैली, भावकमा परेको आदिबारे यथेष्ट प्रमाण तथ्यांक जुटाउनुपर्छ। अनि मात्र हामीले हाम्रा गुणात्मक कलालाई विश्वमा चिनाउन सक्छौँ।

कला प्रदर्शनीको नाम राख्ने प्रचलन सम्भवतः सन् २००० पछि अचकाली बढेर आयो। किनकि यस बखतका कला भित्री कोठाबाट आम जनताकहाँ पुग्न थालेको देखिन्छ। यति मात्र होइन, आम समुदायको पीरमर्का र दुखेसालाई कलाकारले चासो लिई त्यसलाई विषय बनाई कला सिर्जना गर्न थाले। कलाकारहरू सामाजिक र राजनीतिक अवस्था र संरचनामा समेत सचेत भएको र यसैका आधारमा कला सिर्जना भएको देखिन्छ।

यसले गर्दा कला सिर्जना र प्रदर्शनी पनि बढ्न थाले। बन्द कोठाबाट यस्ता कला प्रदर्शनी निक्लेर खुला सडकमा आउन थाले। समुदायकै घर, घर वरिपरि प्रांगण र समग्र समुदायलाई लिएर कला सिर्जना हुन थालेको देखिन्छ। यस्तो अवस्था आएपछि कलाको विषय र समसामयिक थिम बग्रेल्ती आउन थालेका हुन्। अहिलेका कला प्रदर्शनीहरू विनाविषयका र बिनाथिमका देखिँदैनन्। यसको महत्त्व र असर थाहा पाएका वा नपाएका सबैजसो कलाकारले आफ्नो कला प्रदर्शनीको नाम राख्ने प्रचलन अब नौलो भएन।

सिर्जनाका माध्यम र प्रस्तुतिको शैली

सुवासले आफ्नो कलालाई विविध प्रकारबाट प्रस्तुत गर्न खोजेको देखिन्छ। एउटै कला प्रदर्शनीमा सम्भवतः यति विघ्न माध्यम र अलग अलग प्रस्तुतिका ढंग समात्नु भनेको एकल कला प्रदर्शनीको खास विशेषता हो। आम भावक र कला समीक्षकले कलाको यो क्षेत्रलाई उल्लेख गर्ने जमर्को गरेका छैनन्। साधारणतः गर्ने चलन छैन।

बजारबाट उपभोग्य वस्तु ल्याएर एउटा अवधारणाका साथ प्रदर्शन कक्षमा मात्र राखिदिँदा तत्क्षणका लागि कला बन्न गएका घटना थुप्रै छन्। यसैले कलाकारले नौलो ढंगबाट प्रस्तुत गर्नु नै अहिले कलाको नवीनतम कला बनेको पनि छ। कला प्रदर्शनीपछि पुनः यस्ता वस्तु बजारमा बिक्रीका लागि राखिन्छन्। 

अनि यो वस्तु सामान्य वस्तु मात्र भई कलाको रूपमा यसलाई लिइँदैन। कलाकारको प्रस्तुति नै कला बन्दा त्यसले भावकमा पर्ने क्षणिक प्रभावलाई कलाकारको अलौकिक कला मान्ने प्रचलन विश्वमा चलिसकेको छ। यसर्थ सुवासको कला प्रस्तुतिलाई गौण मानिन हुँदैन। 

नेपालमा कला र कलाकारको इतिहास, कलाका आन्तरिक तत्त्व, सौन्दर्य पक्ष, समय सापेक्ष विषय वा नौलो र इनोभेटिभका सन्दर्भ केलाउने परम्परालाई स्थापित हुन नदिँदा राम्रा कलाकार सधैँ छायामा परेको देखिएको छ। बाहिर यसैको खोजीनितीमा चासो दिँदा आज समसामयिक कलाको सन्दर्भमा विदेशकै सिको गर्ने चलन झन्डै अपरिहार्यजस्तो भइसकेको छ।

सुवासका अधिकांश काम साइनोटाइप, उडकट र इचिङ माध्यम (प्रिन्ट मेकिङ कला)मा बनेको छ। परम्परादेखि नेपालमा प्रयास र अभ्यास हुँदै आएको यो कलाको माध्यम समसामयिक कलामा प्रयोग हुन थालेको धेरै भएको छैन। तामाङ समुदायको पहिचानका लागि लोक्ता कागज (स्थानीय प्रविधिमा बनाएको कागज) लाई प्रतीकात्मक रूपमा कलाकारले प्रयोग गरेका छन्।

लोक्ता कागजमाथि कलाको निर्माण गर्नु होस् वा लोक्ता कागजलाई नै प्रदर्शनमा राखेर होस्, तामाङ समुदायको पहिचानका रूपमा कलाकारले विम्बात्मक प्रस्तुति दिन कोसिस गरेको देखिन्छ। नुवाकोटे तामाङले बनाउँदै आएको यो लोक्ता कागज विशेष काममा प्रयोग हुँदै आए पनि बनाउने मान्छेको इतिहास लोप भएको अवस्था छ भन्ने सङ्केत पनि हो यो।

 शिलाको सिलोट उनको अर्र्को कलाको सशक्त माध्यम हो। जहाँ उनले राष्ट्रको आधिकारिक पुस्तक (महेन्द्रमाला, लोक सेवाका लागि बनाइएको सामाजिक अध्ययन आदि)मा तामाङलाई होँच्याएर नराम्रो पहिचानलाई लिपिबद्ध गरेको सन्दर्भमा प्रयोग गरेका छन्। चार पाँचवटा यस्ता सिलोट लहरै राखेर यस्ता लिपिलाई मेट्दै जाने प्रक्रियामा आबद्ध भएर कला प्रस्तुत भएका छन्। यसैमा महत्त्वपूर्ण प्रसंग जोडिन आएको देखिन्छ, अब हामी के हौँ हामी नै भन्छौँ। 

अर्को महत्त्वपूर्ण माध्यमका रूपमा कोको म्हेन्दो फूललाई लिइएको छ। फूल टिपिवरी यसैलाई सुकाएर एक आपसमा जोडाएर एउटा सग्लो क्यानभास तयार गरिएको छ। यही पृष्ठभूमिमा उनका कलाको निर्माण भएको देखिन्छ। टोटोला फूल (को को म्हेन्दो) लाई माध्यमका रूपमा प्रस्तुति गर्नु उनको अर्को तरिका हो। यसबाहेक भिजुअल डकुमेन्ट्री समेतको प्रयोगलाई उनले प्रस्तुत गरेका छन्। जसलाई ठूलो पर्दामा काइतेनको सन्दर्भलाई सुन्न, हेर्न र बुझ्न सकिन्छ। 

पहिला पहिला सरकारलाई राजस्व बुझाउन आँप लगेर चढाउने प्रचलनको प्रतीकका रूपमा मानिसको मुहार आँपले छोपेर प्रस्तुत गर्नु (उनका अधिकांश पोट्रेचरको स्वरूपमा बनेका चित्रमा अनुहार देखाइएको छैन भने अति विस्तारमा मौलिक वेशभूषालाई केन्द्र बिन्दुमा राखेर प्रस्तुत गरिएको देखिन्छ। 

अनि, कागजी रकम, मासिन्या मतवाली, बैगानी रकम, गाईमाथिको निबन्ध आदि पनि आकर्षक ढंगबाट प्रस्तुत भएका छन्। यस्ता अनेकौँ विविध रूपका प्रस्तुतिले यो समुदायको वास्तविकता छर्लंग पारेको अनुभूत गर्न सकिन्छ। मिथक, विम्ब वा प्रतीक पनि यो कला प्रदर्शनीको अर्को गहकिलो विशेषता हो।

एल बज्र लामाको प्रस्तुति भने अलग्ग पाराले देखापरेको छ। मोनालिजा इज अ लाई, स्पाइडर म्यान, मे २९ आदि नाम र उपनामले कला प्रस्तुतिकै ढंग पनि नौला देखिन्छन्।

 सरकारको इरेस्पोन्सिबल अवस्था देखाउन अनेक युवा युवतीलाई संसद् भवनअगाडि झुन्डिएको देखाउनु, रूखका हाँगामा नवजात शिशुलाई टाँसी एभोर्सनको प्रसंग उठाउनु, तीनजना अस्वाभाविक पोजमा पदुवा नेताको चित्रण गरेर भ्रष्टाचारको प्रसंग उठाउनु, झुट बोल्ने लत र यसको संस्कार नै बनिसकेको सन्दर्भ उठाउने क्रममा मोनालिसाको लामो नाम बनाएर यसैमाथि एप्पल (एप्पल ब्रान्डको प्रसंग) राखेर संयोजन गरिनु आदिमा उनको समसामयिक चेत देखिन्छ। कोभिड आउनअघि नै संकेत देखिँदा पनि वास्ता नगरेको सन्दर्भमा लामखुट्टेको प्रतीकात्मक विम्ब प्रस्तुत गरेर कुनै न कुनै रूपमा यी अवस्थालाई आम जनतामा सुसूचित गर्न उनका कलाको मूल ध्येय रहेको देखिन्छ।

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: ६ कार्तिक २०७८ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App