पोखरामा हुने फेवा नववर्ष महोत्सवका लागि पोखरेली व्यावसायीले काठमाडौंका पाहुनालाई आमन्त्रण गरेका छन्। होटल संघ पोखरामा आवद्ध व्यावसायीले यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नववर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेका हुन्।
होटल संघ नेपाल र होटल संघ पोखराले काठमाडौंमा संयुक्त पत्रकार भेटघाट गरी उपत्यकावासीलाई महोत्सवमा भाग लिई नेपाली नयाँवर्ष भव्य रुपमा मनाउन निम्ता गरेको संघका पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
होटल संघ नेपाल (हान)का केन्द्रीय अध्यक्ष विनायक शाहले फेवा महोत्सव पोखराको स्थापित कार्यक्रम भएकोले पर्यटन क्षेत्र चलायमान बनाउन पाहुनाको भूमिका हुने बताए। ‘पोखरामा महोत्सव हुने भएपनि पाहुना पर्याप्त हुने हो भने पर्यटन क्षेत्र चलायमान बन्छ,’ उनले भने।
पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण २०२५ मा लिइएको २० लाख पर्यटकको लक्ष्य पुरा गर्न यस्ता कार्यक्रमको महत्व रहने उनले बताए। पछिल्लो समय पोखराबाट चीनका विभिन्न शहरमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनु र विभिन्न शहरबाट पोखरा जोड्ने सडक समेत सुधार हुँदै जानु पर्यटन क्षेत्रका लागि सकारात्मक पक्ष भएको उनले बताए। नेपालको होटल क्षेत्रले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने तथ्यांक सुनाउँदै शाहले देशको समृद्धिको आधारमध्ये पर्यटन रहेको बताए।
होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचनले फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उनले बताए। पछिल्लो समय नेपाली नयाँवर्षलाई पनि उल्लासपूर्ण रुपमा मनाउने प्रचलन बढ्दै गएको निवर्तमान अध्यक्ष तुलाचनले बताए। होत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई २० प्रतिशत छुट प्रदान गर्ने जानकारी पनि उनले दिए।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई चलायमान बनाउनका लागि महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे। पोखरा र चीन जोड्ने गरी हालै केही अन्तर्राष्ट्रिय उडान ह्ुनु सकारात्मक रहेको उनले बताए। नेपालले अपेक्षा गरे अनुसार चिनियाँ पाहुना पाउन नसकेको अवस्थामा अहिले सुरु भएका हवाई उडानले चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने उनले बताए। अहिले सिचवान एयरलाइन्सले पोखरादेखि चीनको छेन्दुसम्म चार्टर र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासा उडान गरिरहेका छन।
आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले पोखराको खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुने बताए। नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रर्वद्धन गर्ने र पर्यटकको बसाई अवधि लम्ब्याउने महोत्सवको उद्देश्य रहेको संयोजक सुवेदीले जानकारी दिए।
प्रकाशित: २३ चैत्र २०८१ १७:३३ शनिबार