राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राज्य पार्टी सभापति रवि लामिछानेको पछाडि लागिरहेको बताएका छन्।
शनिबार (आज) चितवनमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यसको विश्लेषणसमेत गरेका छन्।
उनको विश्लेषणमा आउँदो निर्वाचनमा रास्वपाले ठूलो सफलता हात पार्न सक्नेतर्फ सचेत हुँदै सरकारसम्बद्ध ठूला दलहरू कांग्रेस-एमालेले लामिछानेलाई सिद्ध्याउन लागिपरेका छन्।
स्वर्णिमका थप कुरा जस्ताको त्यस्तै-
कांग्रेस-एमाले गठबन्धनको कायरता, किन तर्सिरहेका छन् यिनीहरू ? किन यसरी कामिरहेका छन् भन्दाखेरि यसको पछाडि एउटा अङ्कगणित छ। यो तपाईं-हामीले बुझ्नुपर्यो र यहाँका चिया पसलहरूमा, अन्य चोक-चौताराहरूमा र अन्य दाजुभाइ तथा दिदीबहिनीहरूलाई बुझाउनुपर्यो।
७० वर्षसम्म राजनीति गरेका यी कांग्रेस-एमालेले अस्ति ०७९ को चुनावमा पाएको मत जम्मा २७/२८ लाख हो। पाँच महिना अगाडि मात्रै मैदानमा उत्रिएका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नमा झन्डै-झन्डै साढे १२ लाख छ।
यिनीहरू किन तर्सिरहेका छन् भने आज १६ वर्षको केटा, १७ वर्षकी एउटी केटी अथवा कलेज जान थालेका छात्रछात्राहरू कोही पनि यी पुराना पार्टीमा जान इच्छुक छैनन्, बाआमा कांग्रेस-एमाले होलान् तर, उनीहरू कि त स्वतन्त्रै छन्, कि स्वतन्त्र पार्टीमै आबद्ध छन्। त्यसैले उनीहरूले यो हिसाब, विगत-भविष्यको आकलन गरिसकेका छन्। अस्ति पाएको २७/२८ लाख अब घटेर १७/१८ लाखमा खुम्चेला।
र, यो राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ तीनगुणा बढाएर २६/२७ लाख ल्याइदियो भने यिनीहरूको खेल खत्तम हुन्छ। त्यसैले यसको मूल नेतृत्व नै सखाप पार्न सकियो भने हामी धेरै कुरा गर्न सक्छौँ भनेर अहिले रवि लामिछानेमाथि प्रहार गरिरहेका छन्, उहाँलाई यो न्यायालयको चङ्गुलमा फसाउने, उहाँलाई भुलाइराख्ने भन्ने छ।
आज उहाँले जनसभामा जोडिन खोज्नुभएको थियो, चितवन आएर तपाईंहरूसँग साक्षात्कार गर्न खोज्नुभएको थियो। उहाँ त उहाँ नै भइहाल्नुभयो। तर, त्यसपछिका नेतृत्वहरूलाई पनि विभिन्न हल्ला फैलाएर; सन्तोष परियार एमाले जाने भयो रे, स्वर्णिम कांग्रेस जाने भयो रे भनेर त्यो अफवाह फैलाएर अल्झाउने काम भइरहेको छ।
प्रकाशित: २३ चैत्र २०८१ १७:४६ शनिबार