८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

दशैँलाई साझा चाड बनाउने कि !

हिन्दू धर्मावलम्बीको सर्वाधिक महत्वपूर्ण र लामो पर्वका रूपमा दशैँलाई लिइन्छ । यो पर्व आश्विन शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक–फरक देवी (नवदुर्गा)को पूजाअर्चना गरिन्छ । दशैँमा प्रतिपदा (घटस्थापना) देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्राघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको सप्तशदि (चण्डी) पाठ गर्दै नवदुर्गाको पूजाअर्चना गरिन्छ । यसको अतिरिक्त शिवपत्नी महाकाली, ब्रह्मपत्नी महासरस्वती र विष्णुपत्नी महालक्ष्मीको समेत विशेष पूजा गरिन्छ ।

यसरी नवौँ दिनसम्म नौवटा दुर्गा र देवीको पूजा गरेपछि दानवी शक्तिमाथि अथवा असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा दशौँ दिन विजया दशमी मनाइन्छ, आफूभन्दा ठूलाबडाको हातको टीका लगाई आशीर्वाद ग्रहण गरेर । दशैँमा विशेषतः दुईवटा शक्ति सिंहवाहिनी भनेर चिनिएको दुर्गादेवीले महिषासुर नामक दानव (राँगाको आकार भएको) लाई वध गरी दानवी शक्तिमाथिको जितका रूपमा र अर्कोचाहिँ लंकाको राजा रावणमाथि अयोध्याका राजा रामले विजय गरेको दिनका रूपमा विजया दशमी मनाउने गरिन्छ । दशैँलाई ठाउँ अनुसार दशोरा, दशेरा, दशेहरा, आयुद्यपूजा, वडादशैँ, विजयादशमी, दशमी, दशैँ आदिका नाममा मनाउने गरिन्छ । भारतीय हिन्दू धर्मावलम्बीले भने दशहराको नाममा रामले रावणको वध गरेको दिनको रूपमा दशैँलाई मनाउने गर्छन् ।  

दशैँको सुरुवात कसरी भयो ?  

‘ब्रह्म सत्य जगतमिथ्या’ चिन्तन बोकेको वैदिक परम्परामा एउटै परमदेव नै सबै सत्ताको रहस्य वा सबै आत्माको केन्द्र हो भन्ने मान्यता छ । यो जगत्को सम्पूर्ण जीवात्मा एउटै ब्रह्मका अंश हुन् । यो परम् तŒव एउटै हो, यसैलाई ईश्वर, भगवान्, परमात्मा, ब्रह्म आदि नामले सम्बोधन गर्ने गरिन्छ । वेदान्त दर्शनले यो चराचर जगत्को सृष्टि एउटै ब्रह्मको मूल प्रकृति र मूल पुरुषबाट निष्पन्न भएको ठान्छ । यसरी एउटै परमात्मा ब्रह्मलाई मात्र शाश्वत र अमर ठान्ने वैदिक परम्परामा बिस्तारै अनगिन्ती देवदेवताको मूर्त रूपको कल्पना गरेको पाइन्छ । वैदिक परम्पराबाट जन्मे–हुर्केका हिन्दूले आ–आफ्नो पेसा, रुचि अनुसार खासखास देवीदेवतालाई खासखास समयमा खास उद्देश्यका लागि उपासना गर्ने गर्छन् । जस्तैः राजा–महाराजाले विष्णुको, व्यापारी तथा आयआर्जन गर्नेले लक्ष्मीको, लेखपढ गर्नेले सरस्वतीको, ऋषि, योगी, ध्यानीले शिवको, ब्रह्मचारीले ब्रह्मको, युद्ध, लडाइँ गर्न चाहनेले कालीको, दैनिक धर्मकर्म गर्नेले गणेशको उपासना गर्ने गर्छन् ।  

विश्वमा सबै धर्म सम्प्रदायमा पुलिंगी र स्त्रीलिंगी शक्तिको उपासना गर्ने परम्परा देखिन्छ । हिन्दूमा पनि स्त्रीलिंगी दैविक शक्तिको निकै ठूलो उपस्थिति देखिन्छ । जस्तैः भगवान्, भगवती, देवीदेवता, ईश्वर–ईश्वरी आदि । हिन्दूहरूले पनि प्रकृति र पुरुषबाट अर्थात् महिला र पुरुषको समागमबाट सृष्टिमा महिला र पुरुषको निष्पन्न भएको मान्छन् । यसरी वैदिक चिन्तन परम्परामा प्रकृतिलाई स्त्रीलिंगी र पुरुषलाई पुलिंगी शक्तिका रूपमा लिने गरिन्छ । पुरुष र महिला दुवैलाई शक्तिस्वरूप मान्ने गरिन्छ भने यस्ता शक्ति पतिपत्नीकै रूपमा समेत स्थापित बनेको पाइन्छ । जस्तैः उमा–महेश्वर, लक्ष्मी–नारायण, ब्रह्म–सरस्वती, सीता–राम, राधा–कृष्ण, गणेश–ऋद्धिसिद्धि आदि । यस्ता पतिपत्नीमध्ये ब्रह्म र सरस्वती, विष्णु र लक्ष्मी, शिव र पार्वती (काली)लाई विशेष शक्तिशाली जोडीका रूपमा लिइन्छ । यिनीहरूमा सरस्वती, लक्ष्मी र पार्वतीको शक्तिशाली रूपलाई महासरस्वती, महालक्ष्मी र महाकालीका रूपमा समेत चिनिन्छ ।  

राज्यको एकल नीति होस् वा अन्य जुनसुकै कारणले होस्, नेपालमा लगभग सबै जाति, क्षेत्र र समुदायमा दशैँ मान्ने आदत बसिसकेको छ । दशैँलाई हिन्दू धर्म अनुसार विधिपूर्वक नमनाए पनि एक आपसमा भेला हुने, खानपान गर्ने, मनोरञ्जन गर्ने आदि यहाँका आदिवासी जनजातिले पनि गर्दै आएका छन् । क्रिस्चियनले समेत दशैँमा एकै ठाउँमा भेला भएर रमाइलो गर्ने गरेको देखिन्छ । केही विकृति हटाएर दशैँलाई सम्पूर्ण नेपालीको साझा चाडका रूपमा मनाउन सकिन्छ ।

यसरी हिन्दू परम्परामा शक्तिस्वरूपा वा मातृशक्तिकी रूपमा देवी, दुर्गा, काली, महाकालीको कल्पना गरिएको पाइन्छ, जसले शत्रुहरूलाई वध गर्ने र विजय प्राप्त गर्ने गरेको देखाइएको पाइन्छ । यसरी वध गर्ने क्रममा नै केही गर्दा पनि नमर्ने वरदान प्राप्त महिषासुर (पुरुष र भैँसीको समागमबाट जन्मिएको शक्तिशाली दानव)ले देवतामाथि अन्याय अत्याचार गरेको हुँदा कालीले महिषासुरसँग आश्विन शुक्ल प्रतिपदादेखि नवमी नौ दिनसम्म घमासान युद्ध गरी वध गरेको र दशौँ दिनमा असत्यमाथि सत्यको विजय भएको रूपमा दशमी मनाउन थालिएको किंवदन्ती पाइन्छन् ।  

दशैँ कहिलेदेखि मनाउन सुरु गरियो भन्ने वास्तविक तथ्य प्राप्त गर्न सकिन्न । नेपालमा लिच्छविको पालादेखि नै दशैँ मनाउन थालिएको पनि भनिन्छ । त्यसको ठोस आधार भने कतै पाइँदैन । वास्तविकताचाहिँ के हो भने वर्तमान नेपालको सम्पूर्ण भू–भागमा दशैँको प्रभाव परेको गोर्खाका राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि नै हो ।  

काली को हुन् ?  

काली एक प्रमुख र शक्तिशाली देवी हुन् । काली देवीलाई शक्तिका रूपमा समेत चिनिन्छ । शक्तिका अनेकौँ रूपमध्ये पार्वती पनि एक हुन्, जसलाई दयालु, कृपालु, करुणामयी, सुखदात्री आदिका रूपमा लिइन्छ । अर्को शक्ति हो, दुर्गा । यिनलाई सुन्दरी, शुद्ध र पराक्रमीका रूपमा लिइन्छ । शक्तिको तेस्रो रूप हो, काली । यिनलाई अत्यन्त भयानक, विध्वंसक, आक्रामक रूपमा लिइन्छ । कालीका रूप वास्तवमा काल हो भने यिनका वाहन पनि हिंस्रक सिंहलाई मानिन्छ । कालीलाई निस्पट्ट काली, क्रुद्ध तथा भयानक रूप भएको, रातो जिब्रो निकालेकी, रातो आँखा हेरेकी, कपाल फिँजाएकी, नरमुण्ड माला पहिरेकी, मरेका मान्छेका हातले आफ्नो कम्मरमुनिको भाग बेरेकी, हेर्दा अत्यन्तै भयानक रूपमा उभिएकी रूपमा वर्णन गरिएको पाइन्छ ।  

कालीको अर्को शक्तिशाली रूप हो, महाकाली । यिनलाई शिवको छातीमा टेकेको रूपमा देखाइएको हुन्छ । महाकाली कालीको विराट रूप हुन् भने महाकालीलाई प्रलयकारी, संहारकी देवीका रूपमा लिइन्छ । यसरी हेर्दा के देखिन्छ भने शिवशक्तिका रूपमा रहेको पार्वतीको शक्तिस्वरूपा रूपहरू नै देवी, दुर्गा, काली र महाकाली हुन् । शिवलाई संहारकर्ताका रूपमा लिइनुको कारण पनि यही हो । यसरी कालीको रूपबाट अर्थात् मातृसत्ता र मातृशक्तिको शक्तिबाट शत्रुहरूको वध गर्ने गरेको विवरण हिन्दू संस्कृत वाङ्मयमा पाइन्छ । त्यही शक्तिकी प्रतीक हुन्, काली ।  

दशैँको विरोध किन भयो ?  

वर्तमान नेपाल अनेकौँ स–साना राज्य मिलाएर निर्माण गरिएको हो । यसको प्रारम्भकर्ता हुन्, गोर्खाका राजा पृथ्वीनारायण शाह । यसरी गोर्खा राज्यको विस्तारित रूप नै वर्तमान नेपाल हो । गोर्खाका शाह राजाले गोर्खादेखि पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै क्षेत्रलाई कब्जा गर्दै आफ्नो राज्यमा गाभ्दै जाँदा गोर्खा राज्य भौगोलिक रूपमा विशाल बन्दै गयो, तर अलग–अलग राज्यमा बसोबास गर्ने अलग–अलग जाति, सम्प्रदाय र धर्म–संस्कृतिका जनता गोर्खा राज्यभित्रै गाभिन पुग्दा उनीहरूको आफ्नो मौलिक धर्म–संस्कृतिमा व्यापक प्रभाव पर्न गयो । राज्यले गाभिएका राज्यका जनताको अनुकूल होइन, आफ्नै अनुकूल नीति–नियम अनुसार शासन सञ्चालन गर्ने हुँदा यसो हुनु स्वाभाविकै हो । भौगोलिक र राजनीतिक रूपमा नेपाल एक भयो तर भिन्नभिन्न जाति र धर्म–संस्कृतिका जनतालाई उनीहरूले मान्दै आएको सांस्कृतिक परम्परा मान्न नदिई जबर्जस्ती गोर्खा राज्यले अंगीकार गर्दै आएको हिन्दू धर्म, भारोपेली नेपाली भाषालाई नै अनिवार्य बनाइयो ।  

‘नेपाल चार वर्ण छत्तीस जातको पूmलबारी हो’ भन्ने उद्घोष गरे पनि एउटै जाति, वर्ण र धर्म–संस्कृतिलाई नै मान्नुपर्ने बाध्य पारियो । फलतः अनेकौँ प्रकारका धार्मिक, सांस्कृतिक भाषिक अवयव लोप हुन पुगे । यसरी आ–आफ्नो धर्म, संस्कृतिको उपयोग, संरक्षण, संवद्र्धन गर्न नपाएकामा विभिन्न जातजातिका जनताले राज्यसामु असन्तुष्टि प्रकट गर्दै नआएका होइनन्, तर ती आवाजलाई दबाइयो । नेपालको विभिन्न समयमा भएको राजनीतिक मोडहरूमा मूल विषय यही हुने गरेको पनि हो । यस प्रकारको विरोधको आवाज २०४६ को राजनीतिक परिवर्तनपछि भने व्यापक रूपमा देखाप¥यो । नेपालमा बसोबास गर्ने विभिन्न जातिले आ–आफ्ना जातीय संस्थाको स्थापना गरी जातीय सचेतना र सांस्कृतिक संरक्षणको अभियान गर्दै राज्यसामु सबै धर्म–संस्कृतिलाई एउटै नजरले हेरिनुपर्छ भन्ने माग गर्न थाले ।  

‘एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देश’, ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ जस्ता नारा र मान्यताविरुद्ध आवाज उठाउन थाले । नेपालमा बसोबास गर्ने हरेक व्यक्ति नेपाली भएको हुँदा हरेक नेपालीले बोल्ने भाषा, मान्ने धर्म र संस्कृति नेपाली हो । त्यसैले सबै भाषा, धर्म, संस्कृतिलाई समान रूपमा राज्यले हेर्नुपर्छ, समान व्यवहार गरिनुपर्छ भन्ने आवाजहरू उठ्न थाले । त्यस्तै, नेपालमा विभिन्न धर्म सम्प्रदायका मानिस बसोबास गर्ने भएकाले एउटै धर्मलाई राज्यको धर्म बनाइनु, संरक्षण गरिनु हुँदैन भन्ने आवाज उठ्न थाले । हिन्दू धर्म–संस्कृतिसँग सम्बन्धित चाडपर्वलाई मात्र राज्यले महŒव दिई सार्वजनिक बिदा दिने हुँदा अन्य धर्म सम्प्रदायको चाडपर्वमा पनि राज्यले सार्वजनिक बिदा दिनुपर्छ भन्ने माग गरिन थाले । हिन्दू धर्मअन्तर्गत मानिने प्रमुख चाडका रूपमा रहेको दशैँका बेला दिइने बिदा र सेवा–सुविधाको विरोध सुरु हुन थाल्यो । यसरी विकासको मूल प्रवाहबाट बाहिरिन पुगेका गैरहिन्दूले ‘दशैँ हाम्रो चाड होइन, तर राज्यले हाम्रो संस्कृतिलाई विलय गराउँदै दशैँ मान्न बाध्य बनायो, त्यसैले हामीले दशैँ बहिष्कार गर्नुपर्छ भन्दै’ दशैँ बहिष्कारको अभियान चलाउन थाले ।  

नेपालमा प्रमुख दुई कारणले दशैँको विरोध भएको देखिन्छ– राजनीतिक र सांस्कृतिक । राजनीतिक कारणमा गोर्खा राज्यले आफ्नो राज्य विस्तार गर्ने क्रममा विशाल नेपालको निर्माण गरे पनि नयाँ निर्मित राष्ट्रले बहुलसंस्कृति, बहुजाति, बहुधार्मिक राज्यको अवधारणाअनुरूप शासन सञ्चालन गर्न नसकेको आरोप लगाउँदै आएको देखिन्छ । यसमा एकल भाषिक, सांस्कृतिक, धार्मिक नीतिका कारण नेपालको कैयौँ भाषा–संस्कृति र परम्परा लोप भएको भन्ने आरोप छ । यसरी बहुभाषी, बहुसंस्कृतिसम्पन्न मुलुक नेपाललाई हिन्दूकरण गरिएकामा उनीहरूले आपत्ति जनाउँदै आएका छन् । हिन्दूकरण गर्ने अस्त्रका रूपमा दशैँलाई मुख्य रूपमा मान्दै आएको देखिन्छ । दशैँमा सरकारले आधा महिना (१५ दिन) जस्तो बिदा र एक महिना बराबरको थप तलब (दशैँ–भत्ता) दिने हुँदा राज्यको ढुकुटीबाट दशैँको नाममा वार्षिक अर्बौं रूपैयाँ खर्च हुँदै आएको छ । तर, अन्य धर्म–संस्कृति मान्ने नेपालीको चाडपर्वमा राज्यले एक रूपैयाँ खर्च नगर्नु र एक दिन बिदा समेत नदिनुका कारण गैरहिन्दूले राज्यको यस कदमको विरोध गर्दै आए । अहिले बिदा दिने सन्दर्भमा पहिलेभन्दा फरक नीति राज्यले लिएको छ, जुन आन्दोलन वा विरोधकै प्रतिफल हो । त्यस्तै, हिन्दू धर्मसँग सम्बन्धित हिन्दू मठ, मन्दिर, धार्मिक केन्द्र, पीठ, सांस्कृतिक केन्द्रहरूलाई सयौँ बिघा, सयौँ रोपनी जग्गा, भेटी, पूजारी भत्ता आदि दिने तर अन्य धर्मावलम्बीलाई केही नदिने राज्यको एकलवादी नीति भएको ठहर गर्दै यसको पनि व्यापक विरोध हुँदै आएको देखिन्छ ।  

पछिल्लो बदलिँदो राजनीतिका कारण र जनचेतना तथा जनदबाबका कारण नेपाल हाल धर्मनिरपेक्ष मुलुकका रूपमा रहे पनि राज्यले अझै पनि संविधानको मर्मअनुरूप काम गर्न नसकेको भन्दै गैरहिन्दूले दशैँलाई अभैm पनि सांस्कृतिक विरोधका रूपमा बहिष्कार गर्दै आएको देखिन्छ ।  

हिन्दूहरूले दशैँलाई असत्यमाथि सत्यको विजयका रूपमा मनाउँदै आएका छन् । ‘प्राचीन आर्यले वेद र ईश्वर नमान्नेलाई असुर, पापी, दुष्ट, दानव आदि असत्यको रूपमा उभ्याउँदै आए, उनीहरूले असत्यवादी, दानव भनेकै वेद नमान्ने हाम्रै पुर्खालाई हो । उनीहरूले हाम्रै पुर्खालाई हत्या गरेर त्यही रगतको टीका लगाएर दशैँ मनाउन थालेका हुन्, त्यसैले हामी गैरहिन्दूले दशैँ मान्नुहुँदैन’ भन्ने तर्क समेत राख्दै आएको देखिन्छ । त्यस्तै, दशैँमा नवदुर्गाको सप्तमातृका, अष्टमातृका, महालक्ष्मी, महाकाली, महालक्ष्मी, राम आदिको पूजा गरिन्छ । यी सबै हिन्दू मिथकमा आधारित भएकाले गैरहिन्दूले मान्नुपर्ने कुनै जरुरी छैन, दशैँलाई जबर्जस्ती सबैलाई मान्नुपर्ने बाध्यता पारिनुहुन्न भन्ने तर्कसहित पनि गैरहिन्दूबाट आवाज उठ्दै आएको हो ।  

नेपाल बहुजाति, बहुभाषी, बहुसंस्कृति सम्पन्न मुलुक हो । यहाँ एउटा कुनै खास जातिको खास भाषा–संस्कृतिलाई मात्र राज्यले महŒव दिँदा अन्य धर्म, संस्कृति लोप भइरहेको छ । राज्यभित्रका सबै धर्म–संस्कृति अमूल्य सम्पदा र सम्पत्ति हुन् । त्यसैले सबै धर्म–संस्कृतिलाई राज्यले समान रूपमा हेर्नुपर्छ भन्ने माग गैरहिन्दूहरूको देखिन्छ ।  

निष्कर्ष  

वस्तुतः दशैँ हिन्दू धर्मावलम्बीको सांस्कृतिक पर्व हो । टीका लगाउने चलन भने आदिवासीको हो भन्ने विद्वान् प्रशस्तै पाइन्छन् । हुन पनि खस–आर्यहरू यायावर जाति भएको र उनीहरूले एउटै भूगोलमा वर्षौंसम्म खेतीपाती गर्दै नबसेको हुँदा कृषि कर्म आदिवासी (रैथाने) जातिले नै सुरुवात गरेका हुन् । उनीहरूले अन्नलाई आफ्नो प्राणदाताको रूपमा स्वीकार गर्छन् । त्यसैले अन्न सेवनपूर्व त्यसैको टीका लगाई अन्नलाई आफ्नो प्राण रक्षकका रूपमा मान्दै आएको देखिन्छ । अझै पनि नेपालका रैथाने जातिले नयाँ अन्न सेवन गर्नुपूर्व चढाउने र त्यसैको टीका लगाउने प्रचलन देखिन्छ । हिन्दूहरूले दशैँमा रातो टीका लगाउँदा यहाँका रैथाने जातिले प्रायः सेतो टीका लगाएको देखिन्छ । दशैँ पर्व भने हिन्दू संस्कृति र मिथमा आधारित पर्व भएको हुँदा गैरहिन्दूको हो भनेर मान्न सकिँदैन ।  

वर्तमान समयमा दशैँ पर्वले छुट्टै स्थान ओगट्न पुगेको छ । राज्यको एकल नीति होस् वा अन्य जुनसुकै कारणले होस्, नेपालमा लगभग सबै जाति, क्षेत्र र समुदायमा दशैँ मान्ने आदत बसिसकेको छ । गैरहिन्दूले पनि वर्षौंदेखि जानेर वा नजानेर दशैँ मानिरहेको हुँदा अब दशैँ पर्वले नेपालको सबै जाति, वर्ग र समुदायमा प्रवेश पाइसकेको छ । पछिल्लो समयमा दशैँ बहिष्कार गर्ने, दशैँको विरोध गर्ने गरेको त देखिन्छ, तर उनीहरूले पनि दशैँको टीकाबाहेक खानपान, मोजमस्तीमा हिन्दूलाई उछिनेको देखिन्छ । दशैँलाई हिन्दू धर्म अनुसार विधिपूर्वक नमनाए पनि एक आपसमा भेला हुने, खानपान गर्ने, मनोरञ्जन गर्ने आदि यहाँका आदिवासी जनजातिले पनि गर्दै आएका छन् । क्रिस्चियनले समेत दशैँमा एकै ठाउँमा भेला भएर रमाइलो गर्ने गरेको देखिन्छ । वर्तमान समयमा दशैँ हिन्दूको मात्र रहेन, आम नेपालीको खुसियाली मनाउने साझा चाडको रूपमा विकास भएको छ । पशुहत्या, हिंसा, अत्यधिक मदिरा, मासु सेवन, तासजुवा, झैझगडा जस्ता विकृतिलाई हटाउँदै दशैँलाई सम्पूर्ण नेपालीको साझा चाडका रूपमा मनाउन सकिन्छ । किनभने बहुजाति, बहुभाषी, बहुसंस्कृति सम्पन्नमूलक नेपालमा आ–आफ्नो चाडपर्वको अतिरिक्त एउटा साझा चाड चाहिन्छ नै ।  

(नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष तथा लोकवार्ता परिषद् नेपालको महासचिव डा. राई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा संस्कृतिविज्ञका रूपमा समेत कार्यरत छन् । )

प्रकाशित: १ कार्तिक २०७७ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App