२५ फाल्गुन २०७७ मंगलबार
कला

लिपुलेकमा नेपालको झन्डा !

कलाकार प्रनोद दत्तका १० चित्र

नेपालीले लिपुलेकमा झन्डा गाड्दै गरेको चित्र।

समसामयिक विषयवस्तुलाई आफ्ना भावनासहित क्याभासमा उर्ताने अब्बल कलाकार हुन्–प्रनोद दत्त। धरान बजारको चतरा लाइनमा बसेर उनी कलाकर्म गर्छन्। सामाजिक विषयवस्तु, ल्याण्डस्केप र पोटे«ट बनाउँछन्। पानी रंग, एक्रेलिक रंग र तैल रंगका माध्यमले अर्धमूर्त चित्र कोर्छन्।

उनी कर्मसियल कलाकार होइनन् तैपनि उनले बनाएका चित्र स्टक बस्दैन, बनाउन नभ्याउँदै तात्तातै बिक्री हुन्छ। उनले कलाकारिताबाट आत्मसंतुष्टि र नाम कमाएका छन्।  

उनी धरानको ‘युवा कला केन्द्र’ मार्फत कलाकर्म गर्छन् जुन केन्द्र विसं २०३३ मा मुकेश मल्ल र कर्ण मास्के लगायतले खोलेका थिए। तिनै अगुवाको प्रेरणाले उनी कलामा होमिएका।  

उनी धरानको पब्लिक स्कुलमा कक्षा ६ को विद्यार्थी हुँदा केन्द्रले आयोजना गरेको कला प्रतियोगितामा पहिलो भएका थिए। ‘म उत्कृष्ट भएकाले होला उहाँहरूले मलाई प्रेरणा दिइरहनु भयो’, उनी सम्झन्छन्, ‘उहाँहरूले कला सम्बन्धी ज्ञानज्ञुन बाँड्नु भयो।’  

साथै रमेश खनाल, उपेन्द्र पागलहरूबाट समेत उनले बरोबर सुझाब पाइरहे। कुनै पनि विषयलाई फोटोमा जस्तो दुरुस्तै नउतारेर त्यसमा कलाकारको भावना पनि मिसाउनु पर्छ भन्ने शिक्षा यिनै अगुवाबाट पाए।    

उनले लकडाउनमा पानी रंगबाट २८ वटा चित्र बनाए। लकडाउनपछि उनी धरानमा सातौं एकल प्रदर्शनी गर्ने योजनामा छन् भने क्रमशः विराटनगर, काठमाडौं र पोखरामा पनि प्रदर्शनी गर्नेछन्।

कलाकार प्रनोद दत्त

आज उनी ५४ वर्षमा हिँड्दैछन्। आमा, श्रीमति र छोराछोरीसहित सन्तोकको जिन्दगी विताउँदैछन्।    

उनले ६ पटक धरानमा एकल कला प्रदर्शनी गरिसके। पहिलो प्रदर्शनी २०४५ सालमा सडक छेउको भित्तामा चित्र झुण्ड्याएर गरेका थिए।  

‘नगर क्षेत्रमा एउटा पनि प्रदर्शनी हल तथा ग्यालरी नभएको अबस्थामा मैले सरोकारवालालाई व्यंग्य गर्न सडकमा प्रदर्शनी गरेको थिएँ’, उनले सम्झिए, ‘त्यस्तै बाटो हिँड्ने सर्बसाधारणले पनि कलाको स्वाद चाखून भन्ने चाहना पनि थियो।’  

उनले व्यंग्य गरेको धेरै वर्षपछि बल्ल यसपाला नगरपालिकाले कला ग्यालरी बनाउँदैछ।  

धरानको कलाकारिता विकासमा युवा कला केन्द्र, स्वयं आर्ट ग्यालरी र युमा कला केन्द्र क्रियाशील छन्।  

विशुद्ध कलाकार भएर बाँच्ने वातावरण बनिसकेको छैन। त्यसैले उनी निवासमै स्टेशनरी पसल चलाउँछन्। त्यहाँ कलाकारलाई चाहिने रंग, ब्रस र क्यानभास लगायत सामान पनि पाइन्छ।  

लकडाउनमा फुर्सदिलो बनेपछि उनले २८ वटा चित्र बनाए। पानी रंगबाट  बनाइएका चित्र। अब केहि चित्र थपेर सातौं एकल प्रदर्शनी धरानमा गर्ने उनको योजना छ।  

‘धरान पछि विराटनगर, काठमाडौं र पोखरामा पनि एकल प्रदर्शनी गर्नेछु’, उनले भने, ‘कोरोना शान्त भएपछि प्रदर्शनी गर्नेछु।’  

लकडाउन अबधिमा उनले बनाएका दश वटा चित्रहरूको यहाँ चर्चा गरिएको छ।  

लिपुलेक  

नेपाल र भारतबीच सीमा विवाद छ। तथ्य र प्रमाणका आधारमा लिपुलेक नेपालको हो। तर, भारतले आफ्नो भूमि भन्दै बलमिच्याईँ गरिरहेको छ। त्यसबाट मन दुखेकाले उनले लिपुलेकमा नेपालीले राष्ट्रिय झण्डा गाड्दै गरेको चित्र बनाएका हुन्। यो चित्र गत जेठमा बनाइएको हो।  

समुन्द्र  

कलाकारहरू रंगलाई दुई वर्गमा बाँड्छन्–कोल्ड र वार्म कलरका रुपमा। यसमा उनले समुन्द्रको चित्र उतारेका छन्। नीलो रंगले कोल्ड कलरको प्रतिनिधित्व गर्छ भने रातोले वार्मको। यी दुई रंग मिसिएमा कालो रंग बनेर अस्तित्वविहिन हुन्छ। सबै रंगको आआफ्नै महत्व छ भन्ने सन्देश दिन्छ यसले।

मच्छिन्द्रनाथ  

काठमाडौं उपत्यकाका नेवार रातो मच्छिन्द्रनाथलाई सहकालका देवता मान्छन्। त्यसैले वर्षेनी मच्छिन्द्रनाथको जात्रा गरिन्छ। पहिलापहिला बिजुली नभएका बेला रातको समयमा राँको र मइन्टोल आदि बालेर जात्रा गर्ने चलन थियो। अचेल विजुलीको उज्यालोमा गरिन्छ। उनको चित्रमा राँको बालेर जात्रा मनाइएको देखिन्छ। यसले पुराना दिनको सम्झना गराउँछ।  

साहसी

कालो र पहेंलो रंग प्रयोग गरेर उनले जोडी घोडा बनाएका छन्। साहसको प्रतीकका रुपमा उनले क्यानभासमा घोडालाई उतारेका। यसले मान्छे पनि विवेकी बनेर घोडाझैं आफ्नो काममा तेजिलो बन्नुपर्छ भन्ने सन्देश दिन्छ। यो चित्र पोखरेली कलाकार यादवचन्द्र भूर्तेलले किन्छु भनिसकेका छन्।

काठमाडौं

चारैतिरका मान्छेको जमघटस्थल–काठमाडौं। एकताका मन्दिरैमन्दिरको सहरका रुपमा चिनिन्थ्यो। अचेल मान्छेहरू प्राचीन सम्पदा अतिक्रमण गर्दैछन्। जता हे¥यो उतै मान्छे र ठूल्ठूला भवन देखिन्छन्। अग्ला भवनको छायाँमा परेका छन् मन्दिरहरू। कलाकार दत्तले यस चित्रमा काठमाडौंको अस्तव्यस्तता झल्काएका छन्।

कोरोना भाइरस  

कोरोना भाइरसले मानव सभ्यतालाई चुनौती दिएको छ। विज्ञानको चमत्कार देखाउने मान्छे आज भाइरससँग त्राहीत्राही छ। मान्छेलाई नाक जोगाउन गाह्रो भैसक्यो। त्यहि भावमा उनले यो व्यंग्य चित्र बनाएका।

चौतारी  

पहिलापहिला गाउँघर, सहरबजार सबैतिर चौतारा हुन्थे। त्यहाँ मान्छेहरू सुस्ताउँथे। भलाकुसारी गर्थे। गर्मीमा शितल ताप्थे। तर, विकाससँगै चौतारीहरू मासिए। मान्छेमा हिँड्ने बानी कम भइसक्यो। सबै हतारमा छन्। त्यसैले चौतारामा भेटघाट गर्ने चलन एकादेशको कथा भइसक्यो। त्यही दृश्य झल्काउँछ उनको ‘चौतारी’ शीर्षक चित्रले।

पुरानो घर  

एक समय काठमाडौंमा ढुँगा र माटोबाट बनेका घर थिए। गर्मीमा शितल र जाडोमा न्यानो हुने घर। हिजोआज कंक्रिट, फलाम र सिमेन्टबाट घर बनाउने होडबाजी छ। पुराना घर शिला खोजेझैं खोज्नु पर्ने भैसक्यो। त्यस्तै एउटा पुरानो घरको चित्र बनाएका हुन् उनले।

गणेश मन्दिर  

धरानको विजयपुर डाँडामा गणेश मन्दिर छ। लकडाउन हुनुभन्दा केही दिन अघि चैत पहिलो साता उनले तत्स्थानीय कला कार्यशालामा यो चित्र बनाएका। उनी युवा कला केन्द्रका साथीहरूसँग बेलाबेलामा धरान वरपर पुगेर यसैगरि चित्र बनाउँछन्। 

लकडाउन

लकडाउनमा घुम्न नपाउँदा वा साामजिक दूरी कायम गर्नु पर्दा मान्छेहरू खुम्चिएका छन्। एकै ठाउँमा बसेका छन्। त्यस्तै धरानमा तन्काएर टाँगिनु पर्ने तारहरू खम्बामा गुजुल्टो बनाएर राखिएको छ। यस्तो अबस्था, काठमाडौं, विराटनगर सबैतिर छ। उनले ‘लकडाउन’ शीर्षक चित्र मार्फत नगरपालिका नेतृत्वलाई व्यंग्य गरेका हुन्। 

प्रकाशित: ८ भाद्र २०७७ २०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App