लालित्यपूर्ण काव्यधाराका विशिष्ट सर्जक राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्य आकाशबाट अस्ताएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाका समकालीन घिमिरेको निधनसँगै शताब्दी लामो नेपाली साहित्यको एउटा धरोहरको अन्त्य भएको छ । १०१ वर्षको दीर्घजीवनको अधिकांश समय नेपाली साहित्यको सेवामा समर्पण गरेका घिमिरेको मंगलबार साँझ ५ः५५ बजे आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
१९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरे दम र मधुमेहबाट पीडित थिए । एक वर्षयता सिर्जनात्मक कार्यबाहेक सार्वजनिक कार्यक्रममा अनुपस्थित घिमिरेलाई साहित्यकार अभि सुवेदीले लक्ष्मीप्रसाद देवकोटापछिका सफल समकालीन स्वच्छन्दतावादी कविका रूपमा स्मरण गरे । ‘उहाँले मानिस र प्रकृतिका बारेमा अत्यन्तै सुन्दर र बेजोड तरिकाले सिर्जना गर्नुभएको छ,’ सुवेदीले घिमिरेलाई सम्झँदै भने, ‘त्यो धाराको एक धरोहर ढलेको छ । राष्ट्रप्रेमका बारेमा लेख्ने एक महान् कविका रूपमा घिमिरेलाई नेपाली साहित्यले सधैं स्मरण गर्नेछ ।’
घिमिरेले सम्पूर्ण जीवन कला र साहित्यमा अर्पेर देशकै सान उँचो बनाए । १३÷१४ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए, राणाकाल, प्रजातन्त्र, बहुदल र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले राष्ट्रकविको उपाधि दिएका थिए ।
२०५४ सालमा ‘हिमालवारि हिमालपारि’ कृतिका लागि साझा पुरस्कारबाट सम्मानित घिमिरेले २०५८ सालमा पनि ‘चारुचर्चा’ निबन्धका लागि साझा पुरस्कार पाए । उनी २०६७ सालमा पद्मश्री साधना सम्मान र २०७५ मा महाउज्ज्वल पदकलगायतबाट सम्मानित भएका थिए ।
घिमिरेले सिंगै युग भोगे, लामो समयसम्म साहित्य सिर्जना गर्न सके । गत वर्ष उनको १०१औं जन्मदिन हर्षोल्लासपूर्वक मनाइएको थियो । यसवर्ष भने जन्मदिन आउन केही दिन बाँकी छँदा उनी अस्ताए । उनको शताब्दी अनुभव एउटा ‘संग्रहालय’ हो । उनीसँगै साहित्य कला क्षेत्रमा काम गर्दै आएका थोरै व्यक्तिमात्रै जीवित छन् । उनीसँगै काम गर्ने मौका पाएका संस्कृतिविद् सत्यमोहन जोशी नजाती खबर सुन्दा निकै भावुक भए । उनी भन्छन्, ‘उहाँ र म उमेरले धेरै फरक छैनौं, मभन्दा पाँच महिनामात्रै जेठो हुनुहुन्छ । अचानक यस्तो खबर सुनेर म झसंग भएको छु । निकै दुःखी भएको छ मन ।’
जोशीले युवा उमेरदेखि नै घिमिरेसँग काम गर्न पाएका थिए । २०२६ सालको कुरा हो, जोशी प्रज्ञा प्रतिष्ठानमा सहप्राज्ञ थिए, त्यति बेला घिमिरे प्राज्ञ थिए । पछि घिमिरे उपकुलपति र कुलपति भए । उनको पछिपछि जोशी थिए । जोशी भन्छन्, ‘सँगै काम गरेका कारण पनि हामी झन् नजिक भएका थियौं, उहाँले सम्हालेको जिम्मेवारी मैले पनि लगभग सम्हाल्न पाएँ । उहाँको लोककविता र लोकगीतको म फ्यान नै हुँ ।’ जोशीले एकताका दुवैजना मिलेर काठमाडौंमा साहित्यिक कार्यक्रम गरेको सम्झना गरे । जोशीलाई घिमिरेले कविता लेख्न सिकाउँथे । उनकै प्रभावका कारण आफूले साहित्य रचना गरेको जोशीको भनाइ छ ।
नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली संयोजन गरेर कविता लेख्ने घिमिरे गीतकार, गीतिनाटककारका साथै बालसाहित्यकारका रूपमा पनि चिनिन्छन् । नवमञ्जरी (१९९४), नयाँ नेपाल (२०१३), घामपानी (२०१०), किन्नर–किन्नरी (२०३३), राष्ट्रनिर्माता, राजेश्वरी आदि उनका कृति हुन् । हालैमात्र उनले महाकाव्य ‘ऋतम्भरा’ लेखेका थिए । उनले आफूले लेखेका केही कविता अझै छाप्न बाँकी रहेको र केही हराएको कुराकानीका क्रममा सुनाएका थिए ।
उनको ‘ऋतम्भरा’ फरक विषयमा केन्द्रित महाकाव्य हो । मानिसको मन र प्रविधिलाई यसमा घोल्न खोजिएको छ । प्रविधिले मानवीय भावनामाथि गरेको प्रहारलाई झल्काउन खोजिएको छ । यद्यपि उनी प्रविधिका विरोधी बनेर यो महाकाव्य रचेका होइनन् । पुरानो परम्परित समाजको अनुभव बटुलेका घिमिरे नयाँ प्रविधिको युगसम्म आफूलाई ल्याउन पाउँदा गौरव ठान्थे । एक वर्षअघिको भेटमा उनले भनेका थिए, ‘मेरो अन्तिम सपना ‘ऋतम्भरा’ नै हो ।’ ऋतम्भराको सिर्जना त सकियो तर उनले त्यसलाई सार्वजनिक गर्न पाएनन् । कोरोना महामारी नभएको भए यति बेलासम्म उनको महाकाव्य सार्वजनिक भइसक्ने थियो ।
गत वर्ष स्वास्थ्यमा समस्या आएका कारण उनलाई उपचारका लागि भारत लगिएको थियो । उनी अस्पतालमै छँदा कतिपयले उनको निधन भयो भनेर भ्रम फैलाएका थिए । अस्पतालबाट निको भएर फर्किएपछि उनले ऋतम्भराको लेखन सकाएका थिए । देशले धेरै स्रष्टालाई नचिनिरहेको अवस्थामा राष्ट्रकविलाई चिनेकोप्रति संस्कृतिविद् हरिराम जोशी खुसी छन् । उनले राष्ट्रकवि देशकै अमूल्य निधि रहेको बताए । उनले भने, ‘मैले चिनेको र जानेकोमध्ये राष्ट्रकवि घिमिरे देशको ठूलो इज्जत बोकेको व्यक्ति हुनुहुन्थ्यो । यद्यपि उहाँ अमर नै रहनुहुनेछ । तर देशकै धरोहरको यस्तो खबर सुन्दा म निकै दुःखी भएको छु ।’ उनले आफ्नो जीवन पूरै सिर्जनात्मक कार्यमा सुम्पिएर योगदान गर्ने राष्ट्रकविलाई देशले अझ सम्मान गर्नुपर्ने बताए । ‘मेरो बुझाइमा उहाँ सिर्जनात्मक यात्री हो । पूरै साहित्य देशको निम्ति रच्नुभएको छ, देशप्रति यस्तो समर्पित हुने कवि खासै छैनन्,’ उनले भने ।
शीर्ष नेताद्वारा दुख व्यक्त
राष्ट्रकवि घिमिरेको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको दुःखद निधनको खबरले स्तब्ध भएको बताएकी छन् । ‘काव्य र कविताको माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई हामी सधैं सम्झिरहनेछौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भनेकी छन् ।
घिमिरेको निधनप्रति प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि श्रद्धाञ्जली दिएका छन् । ट्विटरमार्फत प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राष्ट्रकवि माधव घिमिरेको १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको छ ।’ घिमिरेले साहित्यमार्फत मुलुकलाई लगाएको गुन नेपाली जनताले कहिल्यै नभुल्ने प्रधानमन्त्रीले बताएका छन् । ‘शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घिमिरेको निधनको खबरले मर्माहत भएको बताएका छन् । ट्विटरमार्फत श्रदाञ्जली व्यक्त गर्दै सभापति देउवाले लेखेका छन्, ‘उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चीरकालसम्म अमर रहनेछ । उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ । राष्ट्रकविप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली ।’
त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि घिमिरेको निधनप्रति दुख व्यक्त गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विटरमार्फत राष्ट्रकवि घिमिरेको राष्ट्रगानका केही पंक्ति उद्धृत गर्दै उनको निधनसँगै नेपाली वाङ्गमयको एउटा युग समाप्त भएको टिप्पणी गरेका छन् । ‘देशलाई अपूरणीय क्षति भयो, सादर श्रद्धाञ्जली’, थापाले लेखेका छन् ।
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको तयारी
सरकारले राष्ट्रकवि घिमिरेको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले घिमिरेलाई दिने सम्मानका विषयमा निर्णय लिनेछ । ‘राष्ट्रकविलाई दिने सम्मानका विषयमा मन्त्रिपरिषद्को (बुधबार) को बैठकले निर्णय गर्नेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथीसमेत भएकाले उनलाई सैनिक अधिकारीलाई सरह नै अन्तिम सलामी दिने तयारी सेनाले तयारी गरेको छ । सेनाले उनको अन्तिम संस्कारको सहजीकरणसमेत गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सिफारिसमा २०७४ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको सम्मान दिने निर्णय गरेको थियो ।
प्रकाशित: ३ भाद्र २०७७ ०१:४५ बुधबार