७ वैशाख २०७८ मंगलबार
कला

त्रास भगाउन बालकथा

कोभिड–१९ का कारण् हाम्रो बिद्यालय मात्र नभएर सिँगो देश नै लकडाउनमा छ। हामी बिद्यार्थीको पठनपाठन ठप्प छ। घरमै बस्नुपरेको छ। कोरोनाको अज्ञात भयले हामी जस्ता बालबालिका मात्रै नभएर संसारभरकै मानव गम्भीर त्रासमा बाँचेका छन्।

आजको बिज्ञानको युगमा आँखाले देख्नसमेत नसक्ने शुक्ष्म जीवाणुले सारा बैज्ञानिकको भोक, निन्द्रा हराएको छ। यो त्रासदीपूर्ण भाइरसको नियन्त्रण र नियमन गर्ने एकमात्रै उपाय लकडाउन भएको हुँदा म पनि लकडाउनमा परिवारसँगै घरमा बसिरहेकी छु। सधैं बिद्यालय जाने, गुरु–गुरुआमा, साथीभाई इष्टमित्रसंग रमाउने र नियमित शिक्षा लिने मेरो दैनिकी कोरोनाको कहरले घरका चारदिवारभित्र सिमित छ। जसले गर्दा मेरो जीवनमा पहिलोपटक अत्यन्तै सकस र मनोबैज्ञानिक त्रासको अनुभव भएको छ।

डरलाग्दो जीव ‘यती’ यथार्थ होला भन्ठानेकी थिएँ यो त काल्पनिक जीव पो रहेछ भन्ने बालकथा पढेर थाहा पाएा।

यतिबेला स्वतन्त्रता के हो ? भन्ने कुराको महत्व बढीरहेको छ। झ्यालभित्रबाट खुल्ला आकाशमा कावा खाँदै उडिरहेका चरा र मानवविहीन सडकमा कुदिरहेका कुकुर र बिराला देखेर म स्वतन्त्रताको मनमनै अनुभूति गरिरहेको छु। हामीले जत्तिनै राम्रो लगाए पनि जत्ति नै मीठो खाए पनि स्वतन्त्र हुन सकिएन भने त्यसको कुनै अर्थ नहुने रहेछ।

लकडाउनमा बस्दा नियमित पठनपाठनलाई सकेसम्म कमी हुन दिएकी छैन। मैले पाठ्यपुस्तकका अलावा वालमैत्री पुस्तकमा पनि समय दिदैँआएकी छु। मेरो बाबा श्रीबाबु कार्की साहित्यकार भएको हुँदा घरमा प्रशस्त पुस्तक छन्। उहाँले अध्ययन गर्ने पुस्तक पनि यो समयमा पढेर ज्ञानको भण्डार बढाउने काम गरेकी छु।

बिगतमा पढ्न नसकेका बाबाकै दुई बालकथा संग्रह ‘यतिको कथा’ र ‘अचम्मको चरीगाउँ’ कथा संग्रह पढेर सकेँ। मलाई बालमनोबिज्ञानमा लेखिएका यी कथाहरूले कोरोनाको त्रासबाट थोरै भए पनि मुक्ति दिलाए।

यी कथामा हामीले जीवनमा आउने अनेकौं समस्यामा कसरी जुध्ने भन्ने कुरा सिकायो। ‘यतिको कथा’बाट मैले हिमालय क्षेत्रमा पाइने डरलाग्दो जीव यति यथार्थ होला भन्ने कल्पना गरेको थिएँ। तर यो त काल्पनिक जीव पो रहेछ !

विभिन्न जीव, जनावर, चराचुरुङ्गीलाई पात्र बनाएर लेखिएका कथाहरूले मलाई कतै अनुशासनका कुरा, कतै जीवनमार्गका कुरा, त कतै रोचक कुराको जानकारी दिए। कति कथा म आफैंले पढेँ भने कति बाबा आफैंले वाचन गर्नु भयो।

मलाई कविताका पुस्तक पढ्न र लेख्न मन पर्छ। मसंग धेरै बालकविता संग्रह पनि छन्। लकडाउनमा मैल ठुला उमेरका मानिसका लागि लेखिएको कवि मणि लोहोनीको ’मृत्युको अघिल्तिर’ भन्ने कविता संग्रह पनि पढें। ’मृत्युको अघिल्तिर’ पुस्तकमा समेटिएका ३२ वटै कविता स्वादिला लागे। यी कवितामा हामी बाँचेको समाजको चित्र छ। कुनैकुनै कविता त यति गाह्रो र अप्ठ्यारो थिए कि जो मेरो दिमागले कल्पना गर्नं पनि सक्दैनथियो। जत्ति बुझेँ, बुझेका कुराबाट मेरो जीवनमा उल्लेखनीय अर्थ राख्ने नै थिए।

म परिवारसँग रमाइलो गरेर बसेको छु। यो महामारीको त्रासबाट मनोबैज्ञानिक असर नपरोस् भनेर बाबाले हामीलाई रमाइलारमाइला पुस्तक पढ्न प्रेरणा दिइरहनु भएको छ। उहाँ गीत गाउने र कविता सुनाउने पनि गर्नु हुन्छ।

साथी तपाईं पनि लकडाउनबाट त्रसित त भइरहनु भएको त छैन ? यो बेला परिवारसंग घरभित्र खेलेर, खानेकुरा बनाउन सिकेर, गीतसंगीत सुनेर, विभिन्न पुस्तक पढ्दै मन भुलाउँदै त्रासलाई दुर गराउनुस् है।

(श्री जुगल इङलिस मिडियम स्कुल, कक्षा १०  कपन, काठमाडौं)

 

प्रकाशित: २३ चैत्र २०७६ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?