१६ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

पारदर्शी कविता: पानीको परेड

पुस्तक

काठमाडौं बिहानीको रहरलाग्दो चिसोमा भिडभाड–कोलाहलमुक्त क्षेत्र कालिकास्थानस्थित नेपालयको रमणीय प्राङ्गणको वातावरणमा थप रौनकता थपिएको थियो त्यसदिन। चिटिक्क परेको क्याफेसँगै नेपालयका प्रकाशित पुस्तक मात्र नभई स्वदेशी–विदेशी लेखकका पुस्तकसमेत किन्न वा हेर्न पाइने मनमोहक पुस्तक पसल यसैसँग जोडिएको चिरपरिचित नेपालयको आरशाला मञ्च।

नेपालयले विगत लामो समयदेखि नेपाली गीतसङ्गीत तथा साहित्य दुवै क्षेत्रका कलासाधकका सिर्जनाको पुस्तक प्रकाशन गर्न तथा कालजयी गीतहरूको प्रस्तुति दिने कार्य गर्दैआएको छ।

यसै सन्दर्भमा कवि दिनेश अधिकारीको एक दशकभन्दा बढी अन्तरालपछि पाठकमाझ आएको कवितासङ्ग्रह ‘पानीको परेड’ विमोचन कार्यक्रम राखिएकाले त्यसदिन सम्बन्घित क्षेत्रका स्रष्टाहरू आउनेक्रम चलिरहेको थियो। कार्यक्रमको अवधि छोटो र मुख्य आकर्षण कवि दिनेश अधिकारी स्वयम्ले ‘पानीको परेड’ का केही कविता वाचन गर्नुहुने भएकाले सबै अधैर्य देखिन्थे। परिसरमै विमोचित पुस्तक सहुलियत दरमा बिक्रीमा राखिएको थियो र आमन्त्रित व्यक्तिहरू पुस्तक किन्दै छेउमा उभिरहनुभएका कवि दिनेश अधिकारीसँग फोटो खिचाउँदै पुस्तकमा उहाँको हस्ताक्षर लिँदै थिए।

उमेरले आफ्नो असर छोड्नै सकेनछ भन्ने लाग्ने शारीरिक तन्दुरुस्ती, उँचो कद, दिल खोलेर हाँस्ने कवि दिनेश अधिकारीको व्यक्तित्वमा अझ निखार थपिएझैँ हरियो रङको स्वेटरमाथि खैरो ब्लेजरमा हुनुहुन्थ्यो।

सम्भवतः प्रकृतिबाट नै कविलाई उत्कृष्ट वाचन गर्न सक्ने मिठासपूर्ण शैली प्राप्त हुन्छ होला, त्यसैले लेखकले नै मञ्चनका बेला वाचन गर्ने भएपछि सो क्षण सुन्ने र हेर्ने व्यग्रता झन् बढी नै हुनेगर्छन्।

संस्कृतविद् सत्यमोहन जोशी भन्नुहुन्थ्यो, ‘स्रष्टालाई सम्मान गर्दा संस्था स्वयम् सम्मानित हुन्छ ।’ यही भनाइजस्तै पचिस वर्षअघि २०५६ सालको मदन पुरस्कार उहाँको कवितासङ्ग्रह ‘अतिरिक्त अभिलेख’लाई प्रदान हुँदा मदन पुरस्कार यसरी कविता विद्यामार्फत प्राप्त गर्ने प्रथम व्यक्ति भएकाले उहाँको जन्मथलो र समकालीन कवि कति गर्वित भए होलान्?

निर्धारित समयमै सुरु भएको विमोचन कार्यक्रममा कवि अधिकारी उही चिरपरिचित मुस्कानसहित ‘आरशाला’ मञ्चमा देखिए। पुस्तक मञ्चनपश्चात् कवितावाचनका क्रममा भन्नुुभयो– ‘कविताले भनेभन्दा बढी कविले भन्नुपर्ने केही बाँकी रहँदैन। कविता जीवनको कलात्मक मन्तव्य हो। यो जीवनको विद्रोही वक्तव्य हो। शिल्प र कल्पनाको घरबार त हो नै, कहिलेकाहीं अनुभूति हुन्छ, यो लडाइँको तरबार पनि हो। भावनाको भँगालो र विचारको अँगालो पनि हो, समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो।’

कवि अधिकारी कविता नै जीवन हो भन्ने स्विकार्नुहुन्छ, ‘म कवितामा रमाएको छु, रोएको छु, छाम्न नसकिने ठाउँहरूमा दुखेको छु। देखाउन असमर्थ फाँटहरूमा ढकमक्क फुलेको छु।’

मञ्चमा उहाँले आफ्नो पूर्वार्ध समयका प्रेरकलाग्दा स्मृति पल्टाउँदै गर्दा वातावरण नै चकमन्न हुनपुग्यो। सुरुका दिनमा आफ्नो कवितासङ्ग्रह प्रकाशन गर्नका लागि साथीहरूबाट हौस्याइँ मात्र होइन, कवितासङ्ग्रह प्रकाशन गर्नमा सहयोग पु¥याएको, आफूले कविता लेखनमा आफैंलाई चुनौती दिँदै सिर्जनामा एकोहोरिँदै गएको जस्ता अनुभूति सुनाउनुभयो।

पुस्तकको सुरुमै छ– ‘उषाको हातमा’। उषा उहाँकी जीवनसँगिनी। विमोचन समारोहमा उहाँले कविता वाचनका साथमा आफ्ना विगतका पल साट्ने क्रममा सबैले एकपटक पुनः मञ्चमा वाचन गर्न अनुरोध गरिएको २०४० फागुन २५ मा प्रकाशित कविता ‘बिहे’ वाचनपूर्व सुनाउनुभयो– ‘कुरो २०५७ जेठ १३ को हो। म कार्यालयतिरै थिएँ। घरबाट श्रीमतीले फोन गरिन्– आज ‘साप्ताहिक’ भन्ने पत्रिकामा ‘दिनेश अधिकारीका दुई पत्नीहरू’ भनी छापिएको छ रे। मेरो साथीले फोन गरी सुनाई। के हो त्यो? एकपल्ट त म पनि झस्किएँ। साप्ताहिक पत्रिकाको अन्तिम पातोमा शीर्षक नै रहेछ– दिनेश अधिकारीका दुई पत्नीहरू। त्यो प्रा. डिपी भण्डारीको लेखोट भन्ने देखेपछि ढुक्क भएँ। यी प्रसङ्ग दर्शकदिर्घाको बिचमा हरियो रङकै सारी पहिरिएकी उहाँकी धर्मपत्नी उषा अधिकारीले पनि सुनिरहनुभएको थियो।

‘पानीको परेड’भित्र पानीसँग सम्बन्धित कविताभन्दा पनि विद्यमान समाज अनि परिवेशको जल्दोबल्दो यथार्थका शब्दरूपी कविता हुन्भन्दा अतिशयोक्ति नहोला।  

पुगिसकेर पनि धेरै ठाउँमा छुटेको म भन्दै सङ्ग्रहको सुरुमै रहेको ‘अन्तिम तयारी’ शीर्षकको कवितामार्फत कवि चुनौतीको सामना गर्न तयारीमा छन् भन्ने लाग्छ। ‘सम्बन्धको पागलपन’ कवितामा कवि अधिकारी भन्छन्– कवि हुनुका कारण जति नै काटे पनि आततायीहरूले पटक्कै नकाटिने पानीको सामथ्र्य आर्जन गरेकाले हरेकपल्ट कवितामा जन्मने गरेको छु।

‘पानीको परेड’मा २०६४ सालदेखि २०८० सालबिचका छानिएका कविता भएको उल्लेख गर्दै सङ्ग्रहका लागि कविता छनोट साह्रै गाह्रो काम भएको कुरा कवि स्विकार्छन्। यस पुस्तकमा सतहत्तर कवितालाई सात खण्डमा अलग अलग शीर्षक दिई विभाजन गरिएको छ। जसअनुसार जीवनको ज्वार, आस्थाको आकाश, वक्र वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र सातौं खण्डलाई प्रेमको प्रकाश शीर्षक दिइएको छ।

पुस्तकभित्रका प्रत्येक कविताले कथा बोलेका छन्। यहाँ न जाति, धर्म, सम्प्रदाय छ, न भौगोलिक परिधि। यी सबैबाट टाढा रही कविताले कविभित्रको बहुआयामिक व्यक्तित्वको महसुुस गराइदिन्छ। कतै रौसिएका छन् कवि, कतै हौसिएका छन्।

‘पहिरोले पुरिएको घरजस्तो भएको छ मेरो स्थिति

फर्के पनि दुलहा र जन्तीका लस्कर

फर्कने नसक्ने छ मेरो मनस्थिति’

दाइजो र सामाजिक प्रतिष्ठाका लागि जे गर्न पनि तयार हुने तराईको सामाजिक कुरीतिको अवशेष रहेको पर्सामा घटित सामाजिक अहम् प्रस्तुत गर्ने कविता हो– रामदुलारीका प्रश्न।  

पुस्तकको दोस्रो खण्ड ‘आस्थाको आकाश’भित्र १२ वटा कविता छन्। जसमा रहेको ‘जनरल वार्ड’ कविता नभई सरकारी तथा निजी अस्पताल र यहाँ पुग्ने रोगीले भोग्ने वास्तविकताको तस्बिर उजागर गरिएको छ।

हातगोडा लागेका सन्तान यत्रतत्र छरिएपछिका एक मात्र सहारा हुन्छन् बुढेसकालमा दम्पती। तर यस्तैमा जब जीवनसँगिनीले पनि सदाका लागि छोडेर गएसँगै बिछोडको वेदना, निरस एक्लो जीवन व्यतीत गर्नुपर्दा विवशतापूर्ण जीवनयापन, बुढेसकाल घरका भित्ताजस्तै नितान्त एक्लो हुने कविको अनुभूति छ।

‘एउटै नाप, आकार र रङमा कारखानामा उत्पादन हुने छालाका जुत्ता त होइन नि मान्छे ?’ उत्साहित हुँदै कवि भन्छन्– विचार नमिलेका कारण तिमीले मलाई अस्वीकार गर्न मिल्छ ? तिम्रो इच्छाको फ्रेमभित्र अट्न नसकेका कारण तिमीले मलाई तिरष्कार गर्न मिल्छ ? जति नै उज्यालो भए पनि के गर्नु ? देख्नका लागि आफ्नो वरिपरि कोही भएन भने आँखाको पनि अस्तित्व संकटमा पर्छ।

२५ मार्च २०२० का दिन अमेरिकाको मिनियापुलिस मिनिसोटाका एक ४६ वर्षीय अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोयङलाई गोरा प्रहरीद्वारा घुँडाले घाँटी थिचेर अमानवीय ढङ्गबाट मारिएपछि विश्वलाई नै हलचल गराइदिएको घटनाबाट आहत कवि अधिकारीले कोरेका छन्, ‘जवाफ देऊ अमेरिका !’

हिउँदे घामको प्रतीक्षामा बसेका कविले घाम आउँदै गरेको देखेपछि खुसी हुन्छन् अनि हत्त न पत्त बिस्कुन फिँजाउँछन्, सिरक तताउन तरखरिन्छन् तर उसको आशामा तुषारापात तब हुन्छ जब घाम दिनभर मात्र छिमेकी न्यायाधीशको अग्लो घरको कौसीमा बसिदिन्छ अनि कवि बोल्छन्– म हेरेको हे¥यै भएँ !

‘प्रकृतिको पदचाप’ नामकरण गरिएको पाँचौं खण्डमा पाँचवटै कविता राखिएको छ। छैठौं खण्ड ‘पाइलापछिका पाइला’भित्र १५ कविता छन्। जसअन्तर्गतको ‘साहिँली मुखिनीको अमेरिका यात्रा’ कविताले जो जहाँ पुगे तापनि सबको व्यथा एउटै देख्छन् अनि कवि आफ्नै देशप्रति सहानुभूति प्रकट गर्दै व्यङ्यात्मक शैलीमा भन्छन्– सालिक भएर वर्षाैंदेखि जहाँको त्यहीं उभिएको विचरो मेरो देश !

लामो समयको जागिरे जीवन बिताएका कविले आफ्नै घरका छेउकुना समेटेर लेखेको कविता हो– एउटा अर्काे जिन्दगी। कवितामा यसरी आत्मालोचनन गर्छन् कवि–‘एक्लैले हेर्नुपर्दा भ्याई नभ्याई थियो पत्नीलाई। अहिले सघाउन पाएको छु। व्यस्तताबाट अवकाश पाएपछि घरलाई नियाल्न पाएको छु।’

यसरी ‘पानीको परेड’ कवितासङ्ग्रहमा हाम्रै जीवन, समाज, मानिसका व्यवहारका विविध आयामलाई सुन्दर ढंगमा प्रस्तुत गरेका छन्। नेपाली गाउँ समाजका जीवनका मानिससँग जोडिएका तथ्यलाई रोचक तथा सान्दर्भिक तरिकाले देर्साउन सक्ने खुबी भएकाले यही प्रवृत्ति यहाँ पनि देखिएको छ।  

प्रकाशित: १० जेष्ठ २०८२ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App