१० वैशाख २०८२ बुधबार
image/svg+xml २२:३८ अपराह्न
कला/संस्कृति

‘गोकर्णेश्वर नगर साहित्य पुरस्कार’ बाट प्राडा वासुदेव त्रिपाठी र विजय चालिसे पुरस्कृत

साहित्यकारहरू प्राडा वासुदेव त्रिपाठी र विजय चालिसेलाई ‘गोकर्णेश्वर नगर साहित्य पुरस्कार’ २०८१ अर्पिएकाे छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको उक्त पुरस्कार आत्तरखेलस्थित त्रिवेणी ब्याङ्क्वेटमा आयोजित समारोहमा नगर प्रमुख दीपक रिसालले अर्पिएका हुन्। पुरस्कृत स्रष्टाद्वयलाई दोसल्ला, सम्मानपत्र तथा फूलमालासहित जनही १ लाख रुपैयाँ नगद राशि पुरस्कार अर्पिएकाे थियाे।

उक्त अवसरमा नगर प्रमुख रिसालले यसै क्षेत्रको ग्राम निर्माण बन्धुमण्डल क्लब मार्फत रमेश विकलबाट साहित्यिक प्रभाव परेको सम्झिंदै आफू लगायत यस भेगका थुप्रै युवा साहित्यिक विकासमा प्रेरित बनेको बताए।

नगरप्रमुख रिसालले विकलको साहित्यिक प्रभावकै कारण आफ्नै माटोमा स्थापित भएका विशिष्ट साहित्यकारसहित यस वर्षदेखि देशभरका विशिष्ट साहित्यिक व्यक्तित्वलाई चयन गर्ने परम्पराको समेत विकास गर्ने सोच बनाएको बताए।

अभिनव साहित्य समाजका अध्यक्ष एवं नगर साहित्य पुरस्कार छनौट समितिका संयोजक गोविन्दप्रसाद घिमिरेले सम्मानित व्यक्तित्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा पुरस्कृत व्यक्ति प्राडा त्रिपाठीले वागमती नदीको सिरानमा रहेको गोकर्णेश्वर नगरपालिकाले अनुकरणीय काम गर्दै आएको भन्दै खुशी पाेखेका थिए। उनले यसै भूमिका कालजयी लेखकहरू हास्यव्यङ्ग्यकार भैरव अर्याल तथा आख्यानकार रमेश विकलको योगदानको स्मरण गरेका थिए।

अर्का पुरस्कृत साहित्यकार विजय चालिसेले आफ्नै जन्मथलोमा, विशिष्ट विद्वानहरूका बीचमा पुरस्कृत गरिएकोमा नगरपालिका, नगरप्रमुख तथा गोकर्णेश्वर नगरपालिका परिवारप्रति आभार प्रकट गरेका थिए।

उक्त समारोहमा नगरपालिकाको आर्थिक सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानले  प्रकाशन गरेका दुई ग्रन्थ रमेश विकल समग्र अन्तर्गत ‘बालकथाखण्ड’ र ‘बालउपन्यास’, ‘बालनाटक’ र ‘अनुवादखण्ड’ एवं सुरभि साहित्य प्रतिष्ठानले प्रकाशन गरेकाे ‘द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसे’ नामक ग्रन्थहरूको लोकर्पण गरिएको थियो।

कार्यक्रममा समालोचक गोपी मैनालीले विकल ग्रन्थबारे समालोचनात्मक मन्तव्य राख्दै छरिएका कृतिको समग्र खण्ड प्रकाशन गर्ने कार्यमा विकल प्रतिष्ठान र नगरपालिकाको सहयोगी भूमिकाको प्रशंसा गरेका थिए।

अर्का समालोचक प्राडा कृष्णप्रसाद दाहालले द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसेकोबारे समीक्षा मन्तव्य राख्दै साहित्यकार चालिसेको लेखन कौशल तथा लाेकार्पित ग्रन्थबारे चर्चा गरेका थिए।

समीक्षा मन्तव्य राख्दै समालोचक युवराज मैनालीले आफू महानगरवासी भए पनि यस नगरका साहित्यिक संस्था र तिनका गतिविधि नियालिरहेको बताए।

उनले भने, “गोकर्णेश्वर नरपालिका साहित्यिक गतिविधिको आधारमा मात्र हैन शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति, पूर्वाधार विकास तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा देशकै अग्रणी नगरपालिकाको रूपमा देखिन्छ।”

कार्यक्रममा नगरपालिकाकका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली, ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष एवं नगर साहित्य पुरस्कार छनौट समिति सदस्य बाजुराम पौडेल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्‌का, विशेष अतिथि प्रा. ठाकुर शर्मा भण्डारीले मन्तव्य राखेका थिए।

प्रकाशित: २४ चैत्र २०८१ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App