राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता झक्कु सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासीहरूमाथि ठूलो बेइमानी गरेको आरोप लगाएका छन्।
चुनावका बेला सुकुम्बासी बस्तीमा पुगेर संरक्षणको आश्वासन दिने नेताहरू अहिले डोजर चल्दा मौन बसेको भन्दै उनले आलोचना गरे।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेता सुवेदीले रास्वपाका प्रमुख नेताहरूले भोट माग्ने बेला गरेका प्रतिबद्धता बिर्सिएको बताए। ‘सुकुम्बासी बस्तीमा भोट माग्ने रास्वपाका प्रमुख नेताले अहिले उनीहरूको पक्षमा बोल्न भुल्नुभयो,’ सुवेदीले भने, ‘सरकारले डोजर चलाए म छाती थाप्न आउँछु भन्नुहुन्थ्यो, यतिबेला सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ तर तपाईँ कता हुनुहुन्छ ? तपाईंले सुकुम्बासीहरूमाथि ठूलो बेइमानी गर्नुभएको छ।’
नेता सुवेदीले सुकुम्बासी बस्ती खाली गराउने क्रममा देखिएको दृश्य करुणमय रहेको भन्दै सरकार र दलहरूको संवेदनहीनताप्रति प्रश्न उठाए। पुँजीपति वर्गले फेरि एकपटक विपन्न वर्गको उठिवास लगाएको टिप्पणी गर्दै उनले वास्तविक सुकुम्बासीको पहिचान नै नगरी बल प्रयोग गरिनु अन्यायपूर्ण भएको जिकिर गरे।
‘वास्तविक सुकुम्बासीको पहिचान नगरी किन बल प्रयोग गरिएको ? त्यो ठाउँमा बस्ने कसको रहर हुन्छ ? त्यो त बाध्यता हो,’ सुवेदीले थपे, ‘सरकारले सुकुम्बासीका समस्या सुन्न चाहेन, बरु दमन गर्न रमायो।’
उनले सुकुम्बासीहरूले आफ्नो थातथलो छोड्नुपर्दाको अवस्था अत्यन्तै पीडादायी भएको उल्लेख गर्दै सरकारले मानवीय पक्षलाई पूर्णतः उपेक्षा गरेको बताए। विपन्नका मुद्दामा ठूला कुरा गर्ने तर सत्ता र शक्तिको आडमा उनीहरूकै उठिवास लगाउने प्रवृत्ति लोकतान्त्रिक हुन नसक्ने सुवेदीको तर्क थियो।
नेता सुवेदीले सरकार सुकुम्बासीको समस्या समाधान गर्नभन्दा पनि उनीहरूलाई शक्ति प्रदर्शनको माध्यम बनाउन केन्द्रित भएको आरोप लगाए।
वास्तविक सुकुम्बासीलाई उचित विकल्प र व्यवस्थापन विना हटाउनुले राज्यको दायित्वमाथि प्रश्न खडा गरेको उनले बताए।
प्रकाशित: २८ वैशाख २०८३ १५:५८ सोमबार





