२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले मर्यादा पालन नगरे संसद्को गरिमा रहँदैन: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीले संसदीय मर्यादा र विधिको शासन पालना नगरे संघीय संसदको गरिमा जोगाउन नसकिने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जननिर्वाचित संस्थालाई छलेर स्वेच्छाचारी ढंगले शासन चलाउन खोजेको भन्दै आपत्ति जनाए।

संयोजक दाहालले आफ्नै आह्वानमा डाकिएको संसद स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक पद्धतिका लागि स्वीकार्य नहुने उल्लेख गरे।

‘जनप्रतिनिधिहरुलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउन खोज्नुभयो, यो विधिको शासन विपरीत छ,’ उनले भने, ‘संख्याको दम्भमा विधि मिच्ने काम नहोस्।’

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति लक्षित गर्दै दाहालले सरकारको आलोचना गर्ने पत्रकार, युट्युबर र सर्वसाधारणलाई धरपकड गर्ने कार्यले अधिनायकवादको झल्को दिएको टिप्पणी गरे।

उनले प्रतिशोधको गन्ध आउने गरी धरपकड सुरु गर्नु र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउनुले संसद र सरकारकै गरिमा घटाउने बताए।

उनले भने, ‘यो भवन सिमेन्ट र फलामले मात्र बनेको छैन, यसको अन्तर्यमा हजारौं शहीदको बलिदान छ। मर्यादा र विधिको पालना भएन भने यो गौरवपूर्ण इतिहासको अवमूल्यन हुनेछ।’

प्रकाशित: २९ वैशाख २०८३ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App