रूसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक मिसाइल र ड्रोनबाट ठूलो आक्रमण गरेको छ। यस वर्ष किभमा भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो, जसमा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
यो आक्रमणलाई लिएर किभको सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोले भने, ‘शत्रुले फेरि एक पटक किभ क्षेत्रमा ठूलो आक्रमण गरिरहेको छ।’
सहर र यसको बाहिरी क्षेत्रमा ब्यालिस्टिक मिसाइल प्रहार हुँदा एक घण्टाभन्दा बढी समयसम्म हवाई आक्रमणको सतर्कता जारी गरिएको थियो। आक्रमणका कारण आवासीय भवन र गोदामहरूमा ठूलो क्षति पुगेको छ। तकाचेन्कोका अनुसार बोरिसपिल जिल्लामा नौ जना, बुचा जिल्लामा चार जना र फास्टिभ जिल्लामा एक जनाको ज्यान गएको छ।
युक्रेनले रूसी आक्रमणबाट बच्न सहयोगी राष्ट्रहरूसँग थप अमेरिकी-निर्मित प्याट्रियट मिसाइल इन्टरसेप्टरहरू माग गरेको छ।
अर्कोतर्फ, रूसको रक्षा मन्त्रालयले किभ र वरपरका क्षेत्रमा रहेका रसद तथा आपूर्ति केन्द्रहरूमा प्रहार गरिएको बताएको छ। रूसले ती केन्द्रहरू हतियार भण्डारण र ड्रोन उत्पादनमा संलग्न रहेको दाबी गरेको छ। किभका मेयर भिटाली क्लिट्स्कोले सहरको केन्द्रमा भएको आक्रमणपछि मानिसहरू भग्नावशेषमा फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।
रूसले पछिल्लो समय किभमा आक्रमण तीव्र पारेको छ भने युक्रेनले पनि रूसी ऊर्जा तथा सैन्य पूर्वाधारमाथि हमला बढाएको छ। हालै मस्को क्षेत्रमा भएको आक्रमणमा केही मानिसको मृत्यु हुनुका साथै क्रास्नोडार क्षेत्रको समुद्र तटमा पनि ड्रोन आक्रमणबाट हताहती भएको थियो।
दुवै देशले नागरिकलाई लक्षित गरेको हमलाबाट आफूलाई टाढै राख्ने गरेका छन्।
प्रकाशित: २० श्रावण २०८३ १३:०१ बुधबार





