नेपाली कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएको आरोप लगाउँदै सरकारसँग निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
बुधबार सार्वजनिक गरेको पार्टीको समसामयिक धारणापत्रमा कांग्रेसले पार्टी सभापतिसहित सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा कार्यालयलाई लक्षित गर्दै गृह मन्त्रालयकै संरक्षण र निर्देशनमा आपराधिक मनोवृत्तिका व्यक्तिहरूबाट सवारी साधन प्रयोग गरी निगरानी राख्ने, त्रास सिर्जना गर्ने जस्ता गतिविधि भएको आरोप लगाएको छ।
कांग्रेसले यस्ता गतिविधि राज्यको प्रत्यक्ष संलग्नता पुष्टि हुने प्रकृतिका रहेको दाबी गर्दै संविधानले प्रत्याभूत गरेको नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनमाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको छ।
धारणापत्रमा राज्यको दायित्व नागरिकलाई सुरक्षा प्रदान गर्नु भएको उल्लेख गर्दै डर, त्रास र दबाब सिर्जना गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताइएको छ। विपक्षी नेतृत्वलाई तर्साउने, आलोचकलाई आतंकित बनाउने तथा प्रेस स्वतन्त्रतालाई राज्य शक्तिको आडमा दबाउने प्रयास सर्वथा अस्वीकार्य रहेको कांग्रेसको भनाइ छ।
कांग्रेसले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै लोकतन्त्र त्रासबाट नभई स्वतन्त्रता, उत्तरदायित्व र विधिको शासनबाट सुदृढ हुने धारणा व्यक्त गरेको छ।
पार्टीले जेन–जी आन्दोलनका अगुवा युवामाथिको आक्रमण र गिरफ्तारीको पनि विरोध गरेको छ। माइतीघर मण्डलाबाट पक्राउ परेका तीन जना जेन–जी अभियन्ता सात दिनदेखि हिरासतमा रहेको उल्लेख गर्दै प्रश्न सोधेकै आधारमा नागरिकलाई पक्राउ गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ।
कांग्रेसले सरकारले प्रश्न सोध्ने सञ्चारमाध्यम र नागरिकलाई मौन बनाउन खोजेको हो कि भन्ने गम्भीर प्रश्न उठाउँदै यदि सरकारको संलग्नता नरहेको हो भने निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, सरकार स्वयं संलग्न नभएको तथ्य प्रमाणित गर्न पनि चुनौती दिएको छ।
प्रकाशित: २० श्रावण २०८३ २०:१५ बुधबार





