२६ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:३४ अपराह्न
कला/संस्कृति

सम्झनामा प्रजातन्त्रका पुरोधा प्रकाश

व्यक्ति-व्यक्तित्व

तस्बिर स्रोत: ‘एनडी प्रकाश र उहाँको डायरी’ पुस्तकबाट

खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ?

आफू मिटाइ अरूलाई दिनु जहाँ छ।

 –महाकवि देवकोटा

हुँदा आक्रान्त यो धर्ती, जन्मन्छन् धरणी सूत,

एनडी प्रकाशझैं योद्धा राष्ट्रकै निम्ति अर्पित।

उदाहरणीय व्यक्तित्वको इतिवृत्त पहिल्याउँदै जाँदा रोमाञ्चित भइन्छ। प्रेरक र साहसिक कहानीभित्र डुबिन्छ। भावुक र नोस्टाल्जिक भइन्छ। एनडी ‘प्रकाश’ (नारायणीदत्त ‘प्रकाश’) को इतिवृत्त त्यसै वरिपरि परिभ्रमण गर्छ। जन्मँदा सम्पन्नताको दैलोमा पाइला टेके पनि परम्परागत संस्कारको तापले निमेषमै ग्रीष्मको भर्भराउँदो बालुवामा उभिन पुगे।

भनिन्छ, भगवान् जे गर्छ भलाइका निम्ति गर्छ। कैयन् शून्यता र पीडाको पर्याय बनेका झोपडीको सन्ताप टेक्न पुगेछन् पाइला प्रकाशका। त्यो संवेदना प्रकाशको रगरगमा संवेदित हुनपुग्यो र पलपल त्यसै ध्रुववरिपरि उनको सामाजिक उत्पीडन वाङ्मयीय सेतु भएर उत्कृष्ट रूपमा अभिव्यक्त हुँदै गति लिएको पाइन्छ। तिनै भाव र भावनाबाट अनुप्राणित उनको अन्तर्य–

‘सानो बनूँ दुई दिनै बरु बाँच्न पाऊँ

संसारमा सकलका शुभ काम आऊँ’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको सातौँ प्रदेश, जो १९५४ सालको अवधिमा अत्यन्तै दुर्गम थियो। गगनचुम्बी पहाडहरूको घेराभित्र रहेका बासिन्दा कल्पना गर्थे, विश्व–भूतल त्यही हो, जुनेली रात र बहुरूपी आकृतिमा बादलका सेना देखिने हाम्रै आकाश मात्र हो।

 कल्पनाको त्यसै संसारभित्र कुटोकोदालो गर्थे, गिठा–भ्याकुर खान्थे। हक होइन, हकवालाको इच्छाबमोजिम बनिबुतो गरेर दिएको मुठीमा चित्त बुझाउँथे। श्रमशोषण सही बस्थे। त्यही तिनको नियति थियो। अवशेषका रूपमा कमाराकमारी पनि कहींकतै ठालुकहाँ अस्तित्वमै रहेको अवस्था थियो।

त्यो सामाजिक परिवेशमा जन्मेका देवीदत्त चटौत पारिवारिक संस्कारबाटै केही शिक्षा हासिल गरेका थिए। सामाजिक चेतनाको अगुवाइ गर्न पनि चाहन्थे तर त्यो त्यति सजिलो थिएन। चन्द्रपाल भट्टका चौधौं पुस्ताका सन्तान देवीदत्त घरबाट निस्के अवसरको खोजीमा। श्री ३ महाराज तथा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर जङ्बहादुरराणाको शासनकालमा कञ्चनपुर जिल्ला, बेलौरी अमिनीमा नौसिन्दा भई जागिर सुरु गरेर पूर्वबेथरी हुँदै मोरङ, विराटनगर अमिनीमा खरिदारजस्तो सम्मानित पदमा रहे।

दैवीदत्त ओहदामै रहेको अवस्थामा प्रथम विश्वयुद्ध विभीषिकाको झल्को नबिर्संदै द्वितीय विश्वयुद्धको गर्भाधान भइसकेको सन्धिबेलामा ९५ वर्षपूर्व एउटा प्रतिभाले धर्ती ढोग्यो, विराट राजाको नगरी विराटनगरमा। आमा तुलसीदेवी, बुबा खरिदार देवीदत्त उल्लासमा थिए, सन्तान आउने प्रतीक्षामा। धाईले पुत्र जन्मेको खबर दिँदा देवीदत्तले तुरुन्त लग्न हेरे। उनी ज्योतिर्विद् पनि थिए। पुत्र अभुक्त मूलमा जन्मेको लग्न पर्‍यो।

सपनाहरू किनारा लागेको देख्दा चिन्तित हुनु स्वाभाविकै थियो। सपत्नीबाहेक परिवारको अर्को सदस्य कुनै थिएन आफ्नो कुलको साथमा। पुर्ख्याैली घर धर्तीको अर्को छोरमा छ। अभुक्त मूलमा जन्मेको पुत्रको मुख आठ वर्षसम्म पिताले हेर्न नहुने, बालकको जातकर्म, नामकरण संस्कार कसले गरिदिने? पारिवारिक संस्कारमा हुर्केका देवीदत्तलाई अर्को चिन्ता थपियो। मूलमा जन्मेकै कारण रावणले आफ्नो पुत्र नरान्तकको मुखै नहेरी समुद्रमा फाल्न लगाएको इतिवृत्त पनि देवीदत्तलाई थाहा थियो। आजको विज्ञानले जे भने पनि ज्योतिर्विज्ञानको आफ्नै अभिमत छ।

त्यस्तो लग्नमा जन्मेको सन्तति विलक्षण प्रतिभाको हुने ज्योतिषीय अभिमत छ। समयमै संस्कार सम्पन्न गर्नुपर्ने हुँदा ब्राह्मणद्वारा नामकरण संस्कारसम्म गराइयो। ‘नारायणीदत्त’ नाम जुर्‍यो। स्वयं देवीदत्त अर्कै आश्रयमा सरे। गोरुगाडा, ट्रेन, पैदल आवतजावत गरेर निकै दिनपछि छगर्खा डुँगरी डडेलधुरा तथा त्यही अवस्थामा विराटनगर पुगी नवजात शिशुलाई पुर्ख्याैली घर पुर्‍याउने प्रबन्ध भयो।

पुत्रको वात्सल्य साथमै रहे पनि पतिको न्यानो सान्निध्यबाट टाढिनु पत्नीका निम्ति अर्कै अकल्पनीय संवेदन थियो। प्रकाशको जन्म नै एउटा आन्दोलन भएर उभियो। शिशुले पुख्र्यौली माटो रोज्यो, पिताले भक्तिमार्ग। कस्तो बलवती भवितव्य ! पुत्रको जन्मले पिताको चिन्तनमा संवेदित परिवर्तन ल्यायो। दिनहूँ वरपर रहने इच्छानुकूल वैभव सबैमा रिक्त देखियो। सम्मानजन्य पदबाट राजीनामा दिएर देवीदत विश्वनाथधाम वाराणसी गएर बाबा विश्वनाथका शरणमा विश्रान्त भइरहने यत्न गरे। नारायणीदत्तीय आन्दोलनको यो पूर्वाभास  थियो कि ?

उता डुँगरी डडेलधुरा घरमा शिशु नारायणीदत्तको प्रवेशले बहार आयो। हालसम्म शिशुको खिलखिलाहट अर्थात् स्मितहासको कल्पनामा रहेका नारायणीदत्तका ज्येष्ठ पिता विश्वेश्वर चटौतका निम्ति एउटा आह्लादकारी खेलौना बने ‘प्रकाश’। वाङ्मयीय पुरोधाका रूपमा रहन पुगे नारायणी ‘प्रकाश’।

प्रकाशका ज्येष्ठ पिता ज्योतिर्विद्, पूर्वीय दर्शनका विशिष्ट विद्वान्, आयुर्वेदिक कविराज थिए। प्रकाशको प्रारम्भिक शिक्षादीक्षा उनीबाटै भयो। बैठक–कक्षमा उनका ज्येष्ठ पितामाताको शयनकक्ष भएकाले ‘बैठेका बा, बैठेकै ईजा’ भनेर सम्बोधन गर्थे प्रकाश। ‘बैठेका बा, बैठेकै इजा’को प्रकाशको प्यारो नाम थियो ‘लाटो’। पछिसम्म पनि त्यही नाम व्यवहारमा प्रयोग भयो परिवारमा।

उता पिता देवीदत्त स्वयं पूर्वीय दर्शनका ज्ञाता थिए। गायत्रीका एक–एक अक्षरको एक–एक लाख जप मनोनिग्रहपूर्वक गरे सिद्धि प्राप्त हुन्छ– ‘लाभतेकभियतां सिद्धिं चतुर्विंशति लक्षतः’ भनिएको छ याज्ञवल्क्य स्मृतिमा। वाराणसीबाट ७० किमिको दुरीमा रहेको जगदम्बा विन्ध्यवासिनीको मन्दिरमा निष्ठापूर्वक गायत्री पुरश्चरण गरे। भनिन्छ, उनले स्वप्नमा जगदम्बाको दर्शन पाएका थिए।

केही समयमै देवीदत्तलाई वात्सल्य भाव, पत्नी र परिजनको दुर्भावले पुख्र्यौली–घरतिरै डोर्‍यायो। घरमा त पुगियो तर कतै ‘पितापुत्रको देखादेख नहोस्’ भन्ने सन्त्रास सामुन्ने उभियो। तसर्थ देवीदत्तले भार्यासहित परिजन र ईष्टजनको वरपरका घरहरूमा प्रवासी हुँदै घडीपला बिताए। अर्कातिर पितामाता घरमा बस्दा ‘बैठेकै इजा’ले प्रकाशलाई सतर्कतासाथ ओझेलमा राख्नुपर्ने हुन्थ्यो। प्रकाश कुशाग्र बुद्धिका थिए। सबै कुरालाई मिहिनसाथ बुझिराख्थे। सात वर्षकै बाल्यकालमा उनले आफ्ना पितालाई पेन्सिलले  

चिठी लेखे–

‘वरिपरि कुसुमको बारी,

जिरा सरि छन् पात  

आफू बस्स्या रङ्गमहलमै  

हामरी खबर न बात’  

डोट्याली भाषामा लेखिएको वाङ्मयपथको पहिलो कविता हो– शिशु प्रकाशको। यो कवितामा उनको संवेद्य भावले मर्म छुन्छ भने अर्कातिर विद्रोह भाव झल्किन्छ। उनमा भेदभावरहित समतामूलक समाजको भाव भरिएको देखाउँछ। एउटा शिशुको मस्तिष्कमा यस्तो भाव स्फूरण हुनु अद्भुत उदाहरण हो। त्यो कविता पढेर पिताले गौरवको अनुभूति गरे पुत्रको विलक्षणता देखेर।

आठ वर्षको लामो प्रतीक्षापछि पितापुत्रको विधिवत् मिलन भयो। वात्सल्य भावमा सजल नयनले पुत्रलाई हेरिरहे पिताले, विस्मित भावमा पुत्र पनि हेर्दैरहे पितालाई। एकअर्काको आशामा अविभाज्य हुँदै अँगालोमा बाँधिन पुगे पितापुत्र। यो अवस्था मातृत्वको वात्सल्य, पिताको स्नेह र आशीर्वादमुनि पुत्र। आहा ! कस्तो पावन त्रिवेणी बन्न पुग्यो।

हिजोसम्म पिताबाट मात्रै टाढिन परेको, अब पढाइ सिकाइका निम्ति घरबाटै टाढिने समय आयो प्रकाशको। पिता देवीदत्त चटौत वंशको प्रतिष्ठालाई स्तुत्यरूपमा अगाडि बढाउन चाहन्थे। प्रकाशको प्रतिभा योग्य पिताका योग्य पुत्रका रूपमा प्रकटिन्थ्यो।  

निर्दिष्ट संस्कार र रुढिको बाध्यात्मकतामा प्रकाशको बाल्यावस्थामा नै यज्ञोपावित संस्कार मात्रै नभएर विवाह बन्धनमा समेत बाँधिनुप¥यो। उनी विवश थिए पारिवारिक इच्छामा। यज्ञोपावित संस्कार भएपछि ब्राह्मणले भान्साबाहिर भात, रोटी खाए जात पतित हुने रूढिगत दृढ परम्परा, प्रकाशलाई अध्ययनका निम्ति भारतको काँडा अल्मोडा पठाउने बेला उनको भातभान्सा व्यवस्थापनका निम्ति ब्राह्मण नन्दराम पन्तलाई साथै पठाइयो।

एक महिनाजति पन्तले रुढिगत रूपमै भातभान्सामै खाना पकाएर प्रकाशलाई खुवाए। त्यसपछि प्रकाशले होटलमा खाना खान सुरु गरे। नन्दराम पन्तलाई घर फिर्ता पठाइदिए। परिवर्तनका संवाहक थिए प्रकाश।

नन्दराम पन्तले त्यो खबर ल्याएपछि गाउँघरमा मुख मुखमा एउटै चर्चा हुन थाल्यो– ‘प्रकाशका पुर्खा र परिवारको कति ठुलो इज्जत छ तर प्रकाशले त्यो इज्जत धुलोमा मिलायो।’ त्यो हल्ला यत्रतत्र फैलियो। परिवारको मानमर्दन भइरह्यो। प्रकाशको त्यो सामान्य आँट थिएन।

प्रकाशले आफ्नी बालवधू गुनकेशरीलाई स्थानीय पाठशालामा भर्ना गरी पढाउन सुरु गरेपछि त परिवारप्रति नै नकारात्मक प्रचार सुरु भयो। त्यो समय, कुलीन परिवारका महिला घुम्टोबाहिर ननिस्कने कट्टरता।

हाम्रै परिवारमा अवस्थाअनुसार प्रयोग गर्नेगरी महिलाले पानी लिन नौला जानुपर्दा निजी गोप्य बाटो प्रयोग गरिन्थ्यो। त्यो परिवारकी महिला घुम्टोबाहिर गएर केटासँगै पढ्ने, कल्पनै नगरेको सहशिक्षाको ढोका खोल्ने हाम्रो परिवारलाई अछुतकै रूपमा निन्दनीय भन्न थालियो। तर शनैः शनैः गाउँघरमा हुनेखानेका छोरीहरूमा प्रकाशकी बालवधूका सम्पर्कले चेतना आयो। उनीहरू पाटी समाती सोही पाठशालामा पढ्न पुगे। केही समयपछि गाली गर्ने समाजले ‘धन्य प्रकाश !’ भन्न कर लाग्यो।

हरिजनहरूलाई पढ्न प्रेरित गरे, तिनको व्यवस्थापनका लागि सरकारमा लेखापढी गरे। २००२÷०३ सालको कुरो हो। परिवर्तनका संवाहक प्रकाशको सोचलाई अथ्र्याउनै गाह्रो छ। सायद त्यतिबेला देशको राजधानी काठमाडौंमा नारी चेतना र सहशिक्षाको अवस्था पनि गर्भस्थ नै  थियो कि ?

समाजलाई उत्पीडनबाट उभो लाउने क्रान्तिचेतको धैर्यको परीक्षा हो जस्तो लाग्छ। प्रकाश म्याट्रिकका छात्र रहेको अवस्थामा प्रकाशकी प्राणबल्लभा गुनकेश्वरी आउँमासीको व्यथाले परलोक भइन्। प्रकाशको मनमा के के कुरा रहे होलान्, अभिव्यक्तै नभई हुरीको चरी भए। प्रकाशका भाव पनि विरहका गीत गाउन थाले, राष्ट्र र समाजका निम्ति समर्पित हुने दृढ इच्छामा।

दैवदुर्विपाक भनूँ कि, पत्नी बितेको दुई महिनामै प्रकाशलाई पिताको स्नेहिल छहारीबाट पनि वञ्चित हुनुप¥यो। अलमोडाबाट बोलाइए उनी। पिताको क्रियादि कर्म विधिवत् गरे। परिवारका आधारस्तम्भ बुबाको निधन, प्रकाशको भावीले बालकबाटै धैर्यको शिखर बन्न सिकाएको थियो।

प्रकाशको जिन्दगी चौराहमा उभियो। भारत स्वतन्त्रता आन्दोलनको प्रभाव त अध्ययनकै क्रममा परेकै थियो। एकातिर आफ्नै पढाइ अघि बढाउने प्रसंग छ भने देश जहानियाँ शासनबाट जर्जर छ। घरमा बिहे गर भन्ने दबाब छ। प्रकाश आन्दोलित भएर राजधानीतिरै दौडे। पुतलीसडकमा प्रा. सरस्वतीप्रसाद रिमालको सान्निध्यमा रहे। त्रिचन्द्र कलेजमा केही समय अध्ययन गरे पनि अन्ततः देशको प्रजातान्त्रिक आन्दोलनमा समर्पित भए। औपचारिक शिक्षालाई तिलाञ्जली दिए पनि अनौपचारिक शिक्षामा पारङ्गत थिए उनी।

‘कुनै मर्छन् खाई खाई, मर्छन् धेरै नखाई,

डाक अन्धो ईशलाई, विषमता यो हेर्नलाई।’

‘वीर थिइस् तँ महावीर थिइस् तँ,  

तर, खसिस् पैसामा नै बिक्न गइस् तँ।’

यो हुंकारसँगै प्रकाश जब प्रजातान्त्रिक आन्दोलनमा दौडे, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता स्वनामधन्य समूहमा रहेर स्वतन्त्रताको झन्डा उचालेर सगौरव २००७ साल फागुन ७ मनाए।

क्रान्तिको मूल अध्याय त अब सुरु भयो। सामाजिक चेतनाको दियो जगाउन शैक्षिक क्रान्ति, सांस्कृतिक क्रान्तिजस्ता आधारभूत कुरा जीवन्त राख्नुपर्नेतिर लागे प्रकाश। बिपी छिटै प्रभावित भए प्रकाशको प्रतिभाबाट। प्रकाश २३/२४ वर्षकै उमेरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य छानिए। उमेरले सबैमा कान्छा थिए उनी।

पाल्हीखण्डदेखि पश्चिमसम्मको राजनीतिक, शैक्षिक, सांस्कृतिक जागरणको अभिभारा उनलाई दिइएको थियो। उनलाई पश्चिमतिरको राजनीतिक जागरणका गुरुभन्दा पनि अतिशयोक्ति नहोला।

१ सेप्टेम्बर १९५२ को महासमिति बैठकमा ‘भूमि व्यवस्था सुधार समिति’ गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भयो।

‘तम् खणन्छौ, तम् गोडन्छौ, नेल्लछौ, काट्टछौ  

चुटी कुटी पिसिबर खान् क्यकि छाड्छौ’

त्यति बेला जन जनको मुखमा थियो यो गीत।

आसन्न आमनिर्वाचनको पूर्वाभ्यास अभियानमा आफ्नो क्षेत्रतिर हिँडेका प्रकाश ‘एसियाली समाजवादी सम्मेलन’ काठमाडौंमा हुन लागेकाले भाग लिन आउन केन्द्रबाट खबर पाएपछि फर्केका थिए। उनी सिमराबाट उडेको ‘भारतीय डकोटा विमान’ ललितपुरको ‘लेले डाँडा’मा २०१४ साल चैत्र ११ गते दुर्घटनामा पर्दा राष्ट्र र समाजका अनन्य उपाशक एनडी ‘प्रकाश’ चटौत राष्ट्रकै वेदीमा समर्पित भए। परिवारको जहाजै डुब्यो। राष्ट्रका ती सपुतमा नुहेर श्रद्धासुमन चढाउँछौं।

रचना–प्रकाशको प्रसङ्गमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको विवेचना– ‘नेपालमा प्रजातन्त्रको स्थापना सँगसँगै एनडी ‘प्रकाश’ नेपाली कांग्रेसको एक अत्यन्त सक्रिय, प्रखर र निष्ठावान् युवा नेताका रूपमा स्थापित भइसक्नुभएको थियो। २००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गर्‍यो। तर तब त्यो नवस्थापित प्रजातन्त्रलाई दिगो र दरिलो हुन नदिन धेरैतिरबाट षड्यन्त्र भइरहेका थिए। त्यसैले नेपाली कांग्रेसका प्रत्येक सचेत कार्यकर्ताहरू त्यस बेला आफ्नो काँधमा प्रजातन्त्रलाई जोगाउने गुरुतर दायिŒव थपिएको महसुस गरिरहेका थिए।

एनडीलाई आफ्नो काँधमा थपिएको त्यही जिम्मेवारीलाई राम्रोसँग बुझ्ने सचेत र संवेदनशील कार्यकर्ताको अग्र पंक्तिमा रहेका व्यक्तित्वका रूपमा चिनिन्थ्यो। एनडीको कार्यकालमा मुलुक संक्रमणकालमा थियो। पुराना रुढिगत धारणा र मान्यता क्रमशः खण्डित हुँदै गइरहेका थिए। नयाँ मूल्य र मान्यताहरू ग्राह्य भएर आइरहेका थिए। यथास्थितिवादी र प्रतिगामी तŒवको गठबन्धनले मुलुकलाई हरेक क्षेत्रमा अगाडि जान अवरोध खडा गरिरहेको थियो। ती अवरोधलाई आफ्नो दृढ संकल्पले परास्त गर्दै अगाडि गइरहेका एनडी सुदूरपश्चिमाञ्चलका लोकप्रिय नेता हुनुहुन्थ्यो, नवजागरणका प्रणेता हुनुहुनुहुन्थ्यो।

२००७ सालको क्रान्ति, २००९ सालमा सम्पन्न नेपाली कांग्रेसको पाँचौं महाधिवेशन, त्यसपछिका महासमितिका बैठक, २०१२ सालको छैटौँ महाधिवेशन, २०१४ सालको विशेष अधिवेशन र २०१४ सालको भद्र अवज्ञा आन्दोलन। यी सबैमा एनडीको सक्रियता र तिनीहरूलाई सफल पार्न देखाएको सुझबुझ र उहाँको नेतृत्व क्षमताले सबैलाई आकर्षित गरेको थियो। एनडीसित देश, जनता र प्रजातन्त्रले ठुलो अपेक्षा राखेका थिए। बिपी उहाँलाई सधैं परिस्थितिको गाम्भीर्यलाई सजिलै बुझ्ने र आफ्नो दायित्वलाई सफलतापूर्वक वहन गर्ने एक सक्षम र प्रतिबद्ध सहयात्रीका रूपमा विश्वास गर्नुहुन्थ्यो।

जीवनको अति छोटो अवधिमा नै एनडीले राजनीतिमा मात्र होइन, साहित्यमा पनि आफ्नो बेग्लै र विशिष्ट स्थान सुरक्षित गरिसक्नुभएको रहेछ। यसरी नै अरू केही वर्ष उहाँ रहेको भए राजनीतिले मात्र होइन, भाषा र साहित्यले पनि धेरै उपलब्धि हासिल गर्ने थिए। स्वर्गीय एनडीको डायरी तथा हाम्रा नेताहरूले उहाँलाई लेखेका पत्र अब इतिहासका सञ्चित पुँजी हुन्। उहाँको निधनको निकै लामो अवधिपछि मात्र भए पनि तिनीहरूको प्रकाशन हुनु निश्चय नै खुसीको कुरा हो।’

‘विचारको प्रखरता र प्रगतिशील चेतनामा प्रकाश समकालीन कांग्रेस नेताभन्दा अग्रस्थानमा देखा पर्छन्। उनको त्यो विशिष्टता साहित्यिक रचना, सामाजिक गतिविधि, राष्ट्रिय अन्तर्राष्ट्रिय चिन्तन र चेतनामा मुखरित हुन थाल्यो। बिपी कोइराला, गणेशमान सिंह आदिले आफ्नो समकक्षमा राखेर आदरसहित लेखेका पत्र र कार्यविभाजनले पनि त्यसको पुष्टि गर्छ। उनका लेख, कविता आदिबाट स्पष्ट हुन्छ कि विश्वको इतिहास र समकालीन स्थितिबारे उनी निकै जागरुक थिए।’

–मोदनाथ प्रश्रित, ‘जागरणका सारथी’बाट।

‘प्रकाशका रूपमा हामी एक जना अदम्य क्रान्तिकारीसँग साक्षात्कार गरिरहेका छौं। विडम्बनाको विषय हो– यस्ता क्रान्तिकारी युवा विस्मृत जस्तै छन्। उनीप्रति पर्याप्त सम्मान प्रकट गर्ने कुरामा समाज कहीं न कहीं चुकिरहेको छ।’   –प्रदीप नेपाल, ‘जागरणका सारथी’बाट।

प्रकाश मात्र २७ वर्ष बाँचे तर सय वर्ष बाँच्नेले गर्न नसक्ने राजनीतिक, साहित्यिक, भाषिक, सांस्कृतिक, सामाजिक कार्यमा उल्लेखनीय जग बसाएर गए।

वायुयान दुर्घटनामा प्रकाश दिवंगत हुँदा आमालाई लेखेको बिपीको संवेदनापत्र–

बैतडी  

२०१५ वैशाख ५  

पूज्य आमा,

म यस पत्रद्वारा कुनै सान्त्वनाको शब्द लेख्न सक्दिनँ। एनडी मेरा लागि भाइ जस्ता थिए। उनले पनि आफ्नो ठुलो दाजुजस्तो मानेका थिए। यसपालिको मेरो यात्रा उनकै आग्रहले गरेको हुँ। अब उनी रहनन्। हामी स्वयं शोक सन्तप्त छौं। तपाईंको दुःखको अनुमान म लगाउन असमर्थ छु। तर तपाईंले एनडीका माध्यमबाट धेरै पुत्र पाइसक्नुभएको छ। मलाई तपाईंले आफ्नै छोरा सम्झे हुन्छ। एनडीले गरेको कामलाई पूरा गर्न हामी अग्रसर छौं। भाइहरूसँग बैतडीमा भेट भयो। उनीहरूलाई सम्झाएर पठाएको छु। आशीर्वाद दिनुहोला।  

आज्ञाकारी

विश्वेश्वर प्र. कोइराला  

जब चैत्र ११ गते आइपुग्छ, उनका कालजयी योगदानको सम्झना गर्दै श्रद्धासुमन समर्पण गर्छौं। एनडी ‘प्रकाश’ स्मृति प्रतिष्ठान, कञ्चनपुर, महेन्द्रनगरमा कार्यक्रम गरिन्छ। तथा एनडी ‘प्रकाश’को कर्मभूमि देवीनिवास, डुँगरी, डडेलधुरा घरमा साहित्यकारहरूको समुपस्थितिमा भव्यतासाथ विविध कार्यक्रम गरी ‘प्रकाश–स्मृति दिवस’ मनाइने खबर वरिष्ठ पत्रकार डिआर पन्तबाट जानकारी हुनआएको छ।

प्रकाश प्रजातान्त्रिक आन्दोलनका साथै छिटो संविधान बन्नुपर्छ र आमनिर्वाचन हुनुपर्छ भन्नेमा अडिग पक्षधर थिए। २०१४ सालको सुरुमै सुदूरपश्चिमाञ्चलको यात्रामा डडेलधुरा पुगेको बिहानी ‘बागखोड’ (बागबाजर) मा राजा महेन्द्रले एनडी ‘प्रकाश’लाई देखेर ‘कहिले आयौ प्रकाश ?’ भनेर आश्चर्य मान्दै सोधेका थिए। किनकि राजाले काठमाडौं छोड्दा त्यहाँ प्रकाशले भेटेका रहेछन्।

राजा धनगढी हेलिकोप्टरमा गएका थिए। ‘प्रकाश कसरी यति छिटो ?’ राजा र प्रकाशको निकट संवाद सुन्दा प्रकाशप्रति सर्वसाधारण जनताको ज्यादै आश बढेर आयो। राजा बसेको मञ्चबाटै प्रकाशले निर्धक्क भएर राष्ट्र र जनताका माग राखे। पहिलो पटक डोट्याली भाषामा लेखिएको अभिनन्दन पढेर सुनाए। मञ्चको कार्यक्रम सञ्चालनको अभिभारा पनि प्रकाशकै थियो। छिटो संविधानसभाको निर्वाचनको माग पनि स्वागत मन्तव्यमा स्पष्ट रूपमा मञ्चबाटै राखे प्रकाशले। प्रकाशको अभिमतप्रति सकारात्मक रूपमा टाउको हल्लाएका थिए राजाले। पछि प्रकाशसँगको कुराकानीमा पनि सोही बमोजिम प्रस्टिएका थिए राजा।

तिनकै नाउको ज्योति बल्छ हरपल झलमल,

मानवीय धरित्रीमा राख्छन् जो कीर्ति निर्मल।

कीर्ति–देह यहाँ छोड्छन् जान्छन् अमर भइकन,

कहिल्यै ननासिने हुन्छ प्रेरणाप्रद जीवन ।

प्रकाशित: २३ चैत्र २०८१ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App