मान्छेले जत्रै शालिन महल बनावोस्, त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ। जब मान्छे त्यो ढोकाबाट पस्छ अनि मात्र त्यो शालिन महलभित्रको सुन्दरता हेर्ने अवसर पाउँछ। अन्यथा, ऊ त्यो बाह्य आवरणमा लगाएको रङशिवाय अरू केही नहेरी फर्कन्छ।
तसर्थ, जीवनमा मान्छेको आवरण मात्र होइन भित्री तवरसम्म हेर्न म अपरिहार्य छ भन्ने ठान्दछु। तिमीले यस शब्दलाई अर्ति अनि उपदेशको संज्ञा नदिनु म अज्ञानताभित्र मुछिइरहेको एउटा गाउँले अनपढ हुँ। तिमीझैँ म सुन्दर पनि छैन। यसो हुनाले पनि म तिमीसँग मेरा हजार सय कुरा खोल्न सक्दिन। सधैं म बन्द छु। न तिमीले मलाई पढ्यौ न त मैल नै तिमीसामु मेरो यो भित्री रूपमा भरिएको किताब खोल्न सकेँ। तसर्थ, हामी वहावबिना बगिरहेका छौं। तथापि, हाम्रो गन्तब्य भने एकै रहेको छ।
म मर्यादा पनि जान्दिनँ। यसो हुनाले एउटा झुत्रो भइसकेको डसनालाई सस्तो मखमली तन्नाले छोप्ने कुरा मैले यही समाजबाट जानेको हुँ। यो मूर्खता हो या प्रेम? म यो पनि जान्दिनँ। प्रेम कसैलाई पनि गर्न सकिन्छ तर त्यसका लागि विपरीत आशक्तता वा लगाव हुनु आवश्यक छ। शंकर र पारिजातको कथन जस्तै हामी ‘फक्रन लागेको गुलाफलाई हेरेर हच्कन पनि सक्छौं। उसलाई थोरै छोएर छाडिदिन पनि सक्छौ। किनभने, सिजनको निथारमा फुलेको फूलमा भावुकता हुन सक्दैन। यो उसको अन्त्यको सङ्केत पनि हो।’
यसो हुनाले पनि त्यो उपयोग गर्नका लागि हो, मात्र हेरेर त्यसमा आह्लादित हुनका लागि कदापि होइन।
तिम्रो घरनजिकै स्तुपा गेट बनेको कति वर्ष भयो र त्यो छेवैमा रहेको राधाकृष्णको मन्दिर पनि? त्यो तिमीलाई थाहा छैन। अरू त के कुरा साँचो अर्थमा तिमीलाई आफ्नो जन्ममिति पनि थाहा छैन। तर, अवास्तविक भने तिमीलाई थाहा छ र जसको तिमी बारम्बार प्रयोग गरिरहन्छौं। यस्तो किन हुन्छ भने हामी सधैँ अरूको नियन्त्रणमा नै छौं। चाहे त्यो जन्ममा होस् या हाम्रो कर्ममा। हामी यसो किन गर्छौं भने हामीलाई अग्रजबाट मिलेको शिक्षा पनि यही हो। हामी कहिल्यै स्वतन्त्र तवरले आफ्ना इच्छाहरू बोल्न सक्दैनौं।
सबै वस्तु एक दिन बुढा हुन्छन्। अभिभावकले तिमीलाई पनि ‘धेरै वर्ष बाँच’ भनेको हुनुपर्छ। मान्छे र बिरुवाको समान आयु रहँदैन। तिम्रो त्यो स्तुपा गेट अगाडिको ‘पीपलको रूख तिम्रो बाजेको उमेरको होला तर पनि त्यो अझै तन्नेरी देखिन्छ र तिम्रो घरमा पालेको गाई तिमीभन्दा पन्ध्र वर्ष कान्छो होला तर पनि त्यो बूढो देखिन थालिसक्यो।’
जीवन यसरी नै बित्छ, औँसी पूर्णे र पूर्णे औँसी भएर। यसैलाई चक्र भनिन्छ जीवनको। यो कतै मूल्यवान हुन्छ, अनि कतै कलुषित पनि।
छट्पटाउँदै अन्धकार रात बिताएपछि तुवाँलो र हुस्सु नलागेमा भोलि बिहानको सूर्य पक्कै देख्न सकिन्छ। दुःख पनि यस्तै हो। प्रकृतिको इच्छाविपरीत हामी केही गर्न नसक्ने भइसकेका छौं। चाहेर पनि, त्यो कालोरातलाई बत्तीद्वारा उज्यालो पारे पनि हाम्रो निन्द्रा मज्जाले आइदिन्छ तर त्यो अन्धकारलाई चाहेर पनि हटाउन सकिँदैन। सधैँ पछ्याइरहन्छ, मानौँ त्यो हाम्रो छाया बनेको होस्। जसको इशारामा हामीले चल्नु उसको नियमभित्र पर्दछ।
आस्था र जिजीबिषा साँचेपछि मान्छेले सबैकाम गर्न सक्छ। चाहे पहाडको उचाइ नाप्नु परोस् वा समुद्रको गहिराइ। त्यसका लागि उसको सोच सबल हुनुपर्दछ। यदि सोच सबल र सकारात्मक छैन भने ऊ शारीरिकरूपमा जति नै सशक्त भए पनि केही गर्न सक्दैन। यसो हुनाले म श्रममा विश्वास राख्नु जरुरी छ भन्ने कुराको स्मरण गर्दछु। र, अरूमा पनि मेरो यही अनुरोध छ। हामीले आडम्वरीपनालाई सदाका लागि बिर्सनुपर्दछ किनकि जीवनको दुःख त्यसैमा लुकेको छ।
धेरै कुरा लेखिरहँदा मलाई मान्छेले आस्थाविहीन मान्छे भन्न सक्छन्। समाज नबुझेको मान्छे आजको युगमा को पो होला र? सबै कुरा दृष्टिकोणमा फरक पर्ने कुरा हो। बयान गरिएका श्रब्य पनि फरक हुन सक्छन्, भावना कमजोर भइदिएमा। तसर्थ, तिम्रो र मेरो भावना फरक हुन सक्छ। त्यो एकरूप हुनलाई कलाकारको बुट्टाकोराइ पनि त होइन। सयौँ कलाकारले कोरेका बुट्टा सबै समान रहून् र एउटा पूर्ण आकृति होस्। म आजको युगमा यस्तो कुराको कल्पना गर्न पनि चाहन्न। किनभने, जसका लागि पनि स्वतन्त्रता र आत्मसम्मान सबैभन्दा माथि हुन्छ। र, त्यसको कदर गर्नु नै उसको समय र पारिश्रमिकको सही मूल्य हो भन्ने कुरा मैले पढेका अक्षरहरूको सार पनि हो।
आकृतिको अर्थ छाया भन्ने हुनाले त्यसले आफ्नो रूप बदलिरहन्छ। यसलाई रोकेर एकरूपता ल्याउन र सजाउन सकिँदैन। फरक यति छ कि सूर्यको घुमाइमा आकृति लामो र छोटो हुनेगर्छ। यो शाश्वत सत्यलाई पृथ्वी र सूर्यको जन्मदेखि मानिँदै आएको हो। तर, कहिलेकाहीँ सानो टुक्रा बादलले छेकेर सूर्यको अकृतिमा केही क्षणको रोकावट ल्याउन सक्छ। बादलले उसको निरन्तरतामा रहन वायुसँग मितेरी गाँस्नुपर्ने हुन्छ। त्यो कदापि हुन सक्दैन। किनभने, वायुको धर्म एकै ठाउँमा रहने होइन, बहने हो। जब हामी बहन चाहन्छौं भने बादल कसरी अडिग भएर रहन सक्छ? जीवनको सार पनि यही हो। यो अर्थलाई हामी सबैले मनन गर्नुपर्दछ। यो समस्यामूलक विधिबाट जीवनमा जीवनको सार बुझेर त्यसको निकास खोज्नुमा नै हरेक मानिसको बुद्धिमता हुन्छ। मेरो अन्तरज्ञानले मलाई आजसम्म यतैतिर डो¥याइरहेको छ।
विश्वासको कुरा हो भने त्यो केमा गर्ने? फूलमा दियो ओइलाउँछ। आँखामा दियो बेला न कुबेलामा आँसु बनेर वर्षन्छ। सबै कुरालाई चपाएर नै पचाउँदै छौँ। जानेर योभन्दा धेरै विश्वास गर्न सकिन्न। आफैं त यो गर्छु भन्दा कुनै बेला अर्कै कार्य गर्न पुगिन्छ भने अरूमा के विश्वास गर्नु? हामी मान्छे ढुङ्गालाई देवता मानेर त्यसको दास हुने जातका हौँ। यसमा मलाई धेरैले नास्तिक भन्न सक्छन्।
हुन त त्यो निर्जीव ढुङ्गोमा केही पनि हुँदैन, आस्था त हामीले राखेका नै छौं तर उपलब्धि के छ त? कहिल्यै त्यसको मूल्याङ्न गरेका छौं त! आजसम्म हामी त्यही एउटा निर्जीव ढुङ्गामा नै विश्वास पोखिरहेका छौं। यसमा कुरूपता र सुन्दरता भन्ने कुरा रहँदैन। कुरूपता अज्ञानता हो र सुन्दरता ज्ञान हो। फरक यति नै हो र अमर पनि त्यो ढुङ्गाबाहेक कोही छैन। काग मरेको त हामी सबैले देखेकै हो। यसभन्दा ज्यादा के भनौँ?
साँचो अर्थमा जीवन चलाउने कुरा आफ्नो निपूणतामा फरक पर्ने कुरा हो। जसरी माझीले डुङ्गालाई जस्तै बहावमा पनि आनन्दले चलाई यात्रुलाई पार लगाउँछ। हामी पनि हाम्रो यो जीवनलाई सफल माझी भएर पार लगाउने छौँ। तर, हामी सिकारु भएको हुनाले डुङ्गाचाहिँ प्वाल नभएको रोज्नुपर्ने छ। जसमा सयर गर्दा सफलता र आनन्द दुवै मिल्ने छ। यहाँभन्दा पर जीवनको आनन्द कतै भेटिदैन पनि।
प्रकाशित: १० चैत्र २०८१ १२:५५ आइतबार