३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको तीन दिने चीन भ्रमण: टकराव होइन, सहअस्तित्वको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण केवल दुई देशका नेताबीचको औपचारिक भेटघाट थिएन। यो विश्व राजनीतिमा बढ्दो अविश्वास, व्यापारिक प्रतिस्पर्धा र सामरिक तनावबीच संवादको ढोका अझै बन्द भएको छैन भन्ने शक्तिशाली सन्देश पनि थियो।

बेइजिङमा दुई दिनसम्म चलेको वार्तापछि ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्त सफल, विश्वभर चर्चा योग्य र सम्झनलायक’ बताए। उता सी जिनपिङले यस भ्रमणलाई ‘ऐतिहासिक र कोशेढुंगा साबित हुने’ टिप्पणी गरे। शब्द चयनमै दुवै नेताले सम्बन्धलाई टकरावभन्दा स्थिरता र सहकार्यतर्फ मोड्ने संकेत दिएका छन्।

यद्यपि भ्रमणको अन्त्यमा कुनै ठूलो व्यापार सम्झौता वा औपचारिक डिल सार्वजनिक भएन। तर कूटनीतिमा सबैभन्दा ठूलो उपलब्धि सधैं हस्ताक्षरित कागजात हुँदैन, कहिलेकाहीँ संवादलाई जीवित राख्नु नै ठूलो उपलब्धि हुन्छ। यही अर्थमा ट्रम्पको चीन भ्रमणलाई बुझ्नुपर्ने देखिन्छ।

पछिल्ला वर्षहरूमा अमेरिका–चीन सम्बन्ध व्यापार युद्ध, प्रविधि प्रतिस्पर्धा, ताइवान विवाद र इन्डो–प्यासिफिक रणनीतिका कारण लगातार तनावपूर्ण रहँदै आएको थियो। विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको अविश्वासले विश्व अर्थतन्त्रदेखि सुरक्षा संरचनासम्म प्रभाव पारिरहेको अवस्थामा बेइजिङमा भएको यो भेटले कम्तीमा ‘पूर्ण टकराव अहिले कसैको चाहना होइन’ भन्ने संकेत दिएको छ।

वार्तामा व्यापार, तेल आपूर्ति, इरान, ताइवान र क्षेत्रीय स्थिरताका विषय उठाइएको बताइएको छ। ट्रम्पले चीनले अमेरिकाबाट तेल खरिद गर्न सहमति जनाएको दाबी गरे भने होर्मुज स्ट्रेट खुला राख्न बेइजिङ सकारात्मक रहेको उल्लेख गरे। यसले विश्व ऊर्जा राजनीति र मध्यपूर्वीय तनावमा चीनको भूमिका बढ्दो रूपमा महत्त्वपूर्ण बन्दै गएको संकेत पनि गर्छ।

चीनका राष्ट्रपति सी जिनपिङको अभिव्यक्ति अझ अर्थपूर्ण देखिन्छ। उनले ‘चीन र अमेरिकाले टकराव नगरी सहअस्तित्वको सही मार्ग फेला पार्नुपर्छ’ भनेका छन्। यो केवल कूटनीतिक वाक्य होइन; यो अहिलेको विश्व व्यवस्थाको यथार्थ हो। किनकि अमेरिका र चीनबीचको सीधा द्वन्द्वले केवल दुई देशलाई होइन, सम्पूर्ण विश्वलाई अस्थिर बनाउन सक्छ।

सीले ‘ट्रम्प अमेरिकालाई फेरि महान् बनाउन चाहन्छन्, म चीनको राष्ट्रिय पुनरुत्थानमा समर्पित छु’ भन्ने टिप्पणी गर्दै प्रतिस्पर्धालाई स्वीकार गरे, तर त्यसलाई सहकार्यसँगै अघि बढाउनुपर्नेमा जोड दिए। यसले अबको विश्व राजनीति शीतयुद्धकालीन पूर्ण विभाजनभन्दा ‘प्रतिस्पर्धासहितको सहकार्य’ तर्फ जान खोजिरहेको संकेत दिन्छ।

भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष के पनि हो भने दुवै पक्षले सार्वजनिक रूपमा आक्रामक भाषा प्रयोग गर्नबाट जोगिएका छन्। पछिल्ला वर्षहरूमा अमेरिका–चीन सम्बन्धमा आरोप–प्रत्यारोपको भाषा सामान्यजस्तै बनेको थियो। तर यसपटक दुवै नेताले ‘स्थिरता’, ‘विश्वास’, ‘समन्वय’ र ‘व्यावहारिक सहयोग’ जस्ता शब्दलाई प्राथमिकता दिए। यसले विश्व बजार र अन्तर्राष्ट्रिय कूटनीतिमा मनोवैज्ञानिक प्रभाव पार्ने निश्चित छ।

तर प्रश्न अझै बाँकी छ, के यो भ्रमण वास्तवमै नयाँ युगको सुरुवात हो, वा केवल तनाव व्यवस्थापनको अस्थायी प्रयास ?

किनकि ताइवान, प्रविधि नियन्त्रण, सैन्य प्रभाव विस्तार र व्यापारिक प्रभुत्वजस्ता मूलभूत मुद्दामा अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा समाप्त भएको छैन। औपचारिक सम्झौता नहुनुले पनि दुवै पक्ष अझै सतर्क र अविश्वासी रहेको संकेत गर्छ। त्यसैले यो भ्रमणलाई सम्बन्धको पूर्ण सुधारभन्दा पनि ‘संवादको पुनःस्थापना’ का रूपमा बुझ्नु उपयुक्त हुन्छ।

जे भए पनि, विश्व अहिले युद्धको भाषाभन्दा संवादको भाषाको खोजीमा छ। युक्रेन युद्ध, मध्यपूर्वीय तनाव र विश्व अर्थतन्त्रको अनिश्चितताबीच ट्रम्प–सी भेटले एउटा सन्देश भने स्पष्ट दिएको छ, विश्वका दुई महाशक्ति अन्ततः संवाद टेबलमै फर्किन बाध्य छन्। र सम्भवतः यही नै यस भ्रमणको सबैभन्दा ठूलो उपलब्धि हो।

प्रकाशित: १ जेष्ठ २०८३ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App