२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

संविधान कार्यदल नियुक्तिमाथि मिराज ढुंगानाको प्रश्न : यो देशको संविधान हो, कसैको पेवा होइन

जेनजी अगुवा मिराज ढुंगानाले संविधान संशोधनका लागि गठन गरिएको कार्यदलमा भएको नियुक्तिप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग पारदर्शिताको माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत ‘खुलापत्र’ सार्वजनिक गर्दै उनले कार्यदलमा चलचित्र निर्देशक असिम शाहको नियुक्ति क्षमताका आधारमा गरिएको हो कि व्यक्तिगत निकटताका आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न आग्रह गरेका हुन्।

सरकारले हालै संविधान सुझाव कार्यदलमा असिम शाहलाई नियुक्त गरेपछि प्रतिक्रिया जनाउँदै ढुंगानाले संविधान संशोधनजस्तो संवेदनशील विषयमा विज्ञता र अनुभवलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले लेखेका छन्, “यदि डाइरेक्टर साब संविधानविद्भन्दा पनि बढी सक्षम र विज्ञ हुनुहुन्छ भने उहाँको संविधान सम्बन्धी अनुभव र सिभी सार्वजनिक गरियोस्। त्यसो भए नियुक्तिप्रति हाम्रो कुनै आपत्ति रहने छैन।”

तर यदि नियुक्ति व्यक्तिगत सम्बन्धका आधारमा गरिएको हो भने त्यसलाई स्पष्ट रूपमा स्वीकार गर्न प्रधानमन्त्रीसँग उनले आग्रह गरेका छन्। “यदि होइन भने उहाँ तपाईंको नजिकको साथी भएकै कारण प्रमुखमा नियुक्त गरिएको हो भनेर स्पष्ट गरियोस्। हामीले खोजेको पारदर्शिता हो,” उनले उल्लेख गरेका छन्।

ढुंगानाले विगतको नातावाद र वेथितिविरुद्ध जनताले दिएको मतको सम्मान गर्नुपर्ने उल्लेख गर्दै फेरि त्यही प्रवृत्ति दोहोरिनु गलत हुने बताएका छन्।

संविधानलाई फिल्मसँग तुलना गर्न नहुने टिप्पणी गर्दै उनले लेखेका छन्, “यो संविधान फिल्म होइन, देशको सर्वोच्च कानुन हो। नियुक्ति क्षमता र विज्ञताका आधारमा होस्, नजिकको साथी भनेर नेपोटिजमका आधारमा होइन। यो देशको संविधान हो, कसैको पेवा होइन।”

प्रकाशित: २ जेष्ठ २०८३ २३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App