२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:२७ अपराह्न
कला/संस्कृति

प्यालेस्टिनी दुःख वृत्तान्त

पुस्तक

प्रसिद्ध प्यालेस्टिनी चिन्तक एडवर्ड सइदले पश्चिमले पूर्वलाई हेर्नका लागि ओरिएन्टलिजम अर्थात् पूर्वीयवादको व्याख्या गरेका थिए। यस व्याख्याले पश्चिमले पूर्वलाई हीन, असभ्य, अन्धविश्वासी र अविकसित समाजका रूपमा चित्रण गर्छ। जसले गर्दा पूर्वीयालाई सभ्य बनाउनुपर्ने हुन्छ।

उपनिवेशवादीहरूले यो सिद्धान्तलाई मध्यपूर्व र भारतमा मात्र होइन, सम्पूर्ण विश्वभरि लादे। मध्यपूर्वको अवस्थालाई लिएर उनले ‘द क्वेस्चन अफ प्यालेस्टाइन’ भन्ने पुस्तक नै लेखे। प्यालेस्टिनी द्वन्द्व विश्वकै लामो समस्या हो, जसबारे धेरै लेखिएको छ। प्यालेस्टिनीहरू आफ्नो भूभागका निम्ति लडिरहेका छन्। उनीहरू इजरायलीको दमन, हिंसा र भूमि कब्जाविरुद्ध सङ्घर्षरत छन्।

प्यालेस्टिनी समस्या बेलायती साम्राज्यकालदेखिकै हो। दोस्रो विश्व युद्धपछि बेलायतीहरूले इजरायल निर्माणको बाटो खोलिदिए। सन् १९६७ को युद्धमा प्यालेस्टाइनले ध्वंस खेप्यो, जसलाई नक्बा भनिन्छ।

यहुदी र इस्लाम धर्मको जननी जेरुसेलममाथि इजरायलले कब्जा गर्‍यो। त्यही बेलादेखि इजरायल–प्यालेस्टाइन द्वन्द्व भइरहेको छ। अमेरिका र पश्चिमाहरू इजरायललाई समर्थन गर्छन् भने मध्यपूर्वका अरब राष्ट्रहरू प्यालेस्टाइनलाई समर्थन गर्छन्। दिनहुँ हिंसा हुने यो द्वन्द्वमा हालैका दिनमा करिब ४० हजार प्यालेस्टिनीको ज्यान गयो। अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्र«म्पले गाजा खाली गर्ने र त्यहाँका प्यालेस्टिनीहरूलाई जोर्डन र इजिप्टमा सार्ने योजना ल्याए। तर यो असम्भव छ। प्यालेस्टिनी त्रासदीबारे संसारमा सबैभन्दा बढी लेखिएको बोलिएको छ।

यसै क्रममा कवि चन्द्र गुरुङको ३९ प्यालेस्टिनी कविहरूका कविताको अनुवाद ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ प्रकाशनमा आएको छ। प्रतिरोधी साहित्य नाम दिन सकिने यी कविता प्यालेस्टाइनको जीवनचर्या, दुःख, स्मृति, अनुभव र विद्रोहलाई शब्दशिल्पद्वारा बुनिएका छन्।

प्यालेस्टाइनमाथि पश्चिमी समाचार माध्यमहरूले धेरै लेखेका छन्, जहाँ उनीहरूको पूर्वीयवाद पनि झल्किन्छ। तर अनुवाद गरिएका यी कवितामा प्यालेस्टाइनको भूमि गुमाएर राष्ट्रविहीन हुनुको पीडा प्रबल छ। प्यालेस्टायन कवितामा इन्तिसाम बरकत लेख्छन्–

‘तपाईं यसलाई कुन ठाउँमा राख्न चाहनुहुन्छ

मैले भनेँ

यी सारा ठाउँमा जहाँ जहाँ बस्छन् प्यालेस्टिनीहरू’

प्यालेस्टिनीहरूको भूमिप्रतिको चाह यसमा देखिन्छ। उनीहरू अन्य नागरिकजस्तै साधारण, इमानदार र देशभक्त छन्। पश्चिमाको इस्लामलाई हेर्ने दृष्टिकोणमा त्रुटि छ। अमेरिकाले आतंकवादविरुद्ध युद्धमा सिर्जित इस्लाम पश्चिमविरोधी भाष्यबाट सञ्चालित छ भने दृष्टिकोण राख्छ। अमेरिकाका मध्यपूर्व र इस्लाम विशेषज्ञ बर्नाड लुइसले यस तर्कलाई जोड दिन्छन्। प्यालेस्टिनीहरू आफ्नो भूभागको हकअधिकारसहित शान्त जीवन जिउन चाहन्छन्। जस्तो कि जसन जाकतान ‘रुमाल’ कवितामा लेख्छन्–

‘चम्किरहेको चाँदीको

गहिरो घाउ चमकजस्तो

र त्यो सहरको नाम बनोस्

तिम्रो काँधमा राखिएको गुलाबजस्तो’ 

बमबारी, गोली, ट्यांकको आक्रमणबाट प्यालेस्टिनी आमाहरू निदाउँदैनन्। उनीहरू सहिद  जन्माइरहेका हुन्छन्। यही कठोर यथार्थलाई घसान काजाफानी ‘दुई कविता’मा लेख्छन्–  ‘म चाहन्छु कि

बच्चाहरूले मर्न नपरोस्

म चाहन्छु कि

उनीहरू अस्थायी रूपमा

उचालिउन आकाशमाथि

युद्ध समाप्त नहुन्जेल।’

प्यालेस्टाइन भूराजनीति, इतिहास, धर्म, कूटनीति, भूगोलजस्ता कुराले जेलिएको छ। जसको समाधान त्यति सजिलो छैन। अमेरिकालगायत धेरै राष्ट्रले इजरायल र प्यालेस्टाइनलाई दुई समान राष्ट्र बनाउने कुरा यथार्थमा परिणत भएको छैन।

अमेरिकाले दुई राष्ट्र«को समानताको कुरा गरे पनि मध्यपूर्वको भूराजनीतिमा इजरायललाई सैन्य र आर्थिक रूपमा सघाइरहेको छ। यही बलमा इजरायलले प्यालेस्टाइनमाथि हिंसा मच्चाइरहको छ। जसविरुद्ध हमासजस्ता अतिवादी सङ्गठनले इजरायलमाथि आक्रमक गरेका छन्।

अर्को उदारवादी फतवा सक्रिय छ। पेचिलो भूराजनीतिमा इजरायल अमेरिकाको गोटी बनेको छ। यही राजनीतिबाट उत्पन्न सांस्कृतिक भावना र संवेदनालाई कवितामा लेखिएको छ। ‘चिहानमा ठाउँ छैन’ शीर्षकको कवितामा जहान बसिसो लेख्छन्–

‘बस्ने ठाउँ पहिले नै उपलब्ध थिएन

अब मर्नका लागि पनि शान्त ठाउँ पाउने छैन

सम्मानपूर्वक बिदाइ गर्नका लागि’ 

चौबिसै घण्टा सन्त्रास बोकेर जिउनुपर्छ। त्यहाँ लगातारको द्वन्द्वले सताइरहन्छ। प्यालेस्टिनीहरू संसारकै सबैभन्दा पीडित र जुझारु छन्। त्यहाँ शान्ति अप्राप्य र अनमोल छ। शान्तिको कामना गर्ने मरवन मखौल ‘राजनीति’ शीर्षकको कवितामा लेख्छन्–  

‘मैले राजनीतिक कविता लेख्नलाई

सुन्नुपर्छ चराहरू

र चराहरूको चिरबिर सुन्नलाई

शान्त हुनुपर्छ युद्धक विमानहरू’  

यही शान्ति प्राप्त गर्ने उत्कृष्ट इच्छा छ प्यालेस्टिनीलाई। जसका लागि ‘गाजामा आमा निदाउँदिनन्’ कवितामा निमा हसन लेख्छिन्–

‘उनी आफ्नो आँसुको ताजा नुनले

आटा मुछेर रोटी पकाउँछिन्

र आफ्ना बच्चा पस्किदिन्छिन् 

मातृभूमिलाई।’

प्रकाशित: २ चैत्र २०८१ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App