मन्त्रिपरिषद्ले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको हो।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए। उक्त विधेयकलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए।
उनका अनुसार सरकारले छिटै उक्त विधेयक संसदमा प्रस्तुत गर्ने छ। विधेयक संसदबाट छिटोभन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ। विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सार्वजनिक पूर्वाधारहरूमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।
विधेयकले पूर्वाधार विकासमा रहेको स्रोत व्यवस्थापनको चुनौतीलाई समेत समाधान गर्न सहज हुने बताए। उनले सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा स्रोत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताए।
उपप्रधानमन्त्री पौडेलले देशभित्रै सुन्दर भविष्य बनाउन सकिन्छ भन्ने कुरालाई आत्मसाथ गरेर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे।
प्रकाशित: २६ चैत्र २०८१ १२:१७ मंगलबार





