२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौं वसुन्धरा बस्ने अन्दाजी २१ वर्षीय सागर खड्का रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, 'बालाजुदेखि वाइपासतर्फ गइरहेको बाप्र०१–००६ख ३४५४ नम्बरको टिप्पर र विपरीत दिशाबाट आइरहेको लु५९प ७०६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ।'

त्यसैगरी, उक्त दुर्घटनामा परी अर्घाखाँची घर भई हाल काठमाडौं बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएको र उनको टाउको, दाहिने हात र शरीरका विभिन्न भागमा चोट लागी बोल्न नसक्ने अवस्थामा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

घाइतेको त्रिवि शिक्षण अस्पताल महारगञ्जमा उपचार भइरहेको तथा मृतक र घाइते दुवै जना मोटरसाइकलमा सवार रहेको खुल्नमा आएको प्रवक्ता सुवेदीले बताए। अहिले दुर्घटनामा परी क्षति भएको मोटरसाइकल प्रहरी बृत्त बालाजु र ठक्कर दिने टिप्पर प्रहरी पहरा गण सामाखुसीको नियन्त्रणमा रहेको तथा टिप्पर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ पुस २०८२ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App