२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

धनुषा-१ को मतपरिणाम तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

२९ गते दुवै पक्षलाई बोलाइयो

सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर-१ को प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम तत्काल घोषणा नगर्न आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार उम्मेदवार किशोरी साह (कमल) को रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निवेदकका तर्फबाट अधिवक्ता दीपेन्द्र झाले बहस गरेका थिए।

अदालतले निवेदकको मागबमोजिम किन आदेश जारी हुनु नपर्ने हो भन्दै विपक्षी निर्वाचन आयोगलगायतका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न अदालतले भनेको छ।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निष्कर्षमा पुग्न सर्वोच्चले आगामी फागुन २९ गते दुवै पक्षलाई प्राथमिकताका साथ छलफलमा बोलाएको छ।

उक्त छलफलमा उपस्थित हुँदा उम्मेदवारी खारेज गर्ने गत फागुन १८ गतेको निर्णयसहितको सक्कल फाइल लिएर आउन निर्वाचन आयोगलाई निर्देशन दिइएको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App