नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको स्वीकार गरेका छन्।
उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको बताए। 'यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,' सामाजिक सञ्जालमार्फत उनले भने, 'लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।'
निर्वाचनको परिणाम विपरीत आए पनि अध्यक्ष ओलीले सूर्य चिह्नमा मतदान गरेर पार्टीतर्फ उभिएका सबै मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र समर्थकप्रति धन्यवाद ज्ञापन समेत गरे। उनले भने, 'यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।'
ओलीले चुनावी परिणामले पार्टीको जनताप्रतिको प्रतिबद्धता कमजोर नबनेको उल्लेख गर्दै भने, 'हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।'
यस घोषणासँगै नेकपा एमालेले निर्वाचन नतिजाप्रति सकारात्मक दृष्टिकोण अपनाउँदै जनताको सेवा र सम्बन्धमा केन्द्रित रहने योजना बनाएको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १०:४७ बिहीबार





