११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

कालिका मन्दिरका दर्शनार्थीलाई पाँच लाखको प्रसाद वितरण

बागलुङका मन्दिरमा दर्शथार्नीलाई प्रसाद वितरण गरिँदै। तस्बिरः संगम/नागरिक

चैते दसैँको अवसरमा बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आएका श्रद्धालुहरूलाई पाँच लाख रुपैयाँको प्रसाद वितरण गरिएको छ।

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङले दर्शनार्थीका हरेक व्यक्तिको हातमा पुग्नेगरी प्रसाद वितरण गर्ने गरेको छ। यस पटक चैते दसैँको अवधिमा मात्रै पाँच लाख रुपैयाँ बराबरको प्रसाद वितरण गरिएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

‘चैते दसैँमा दैनिक एक सय लिटरदेखि दुई सय लिटरसम्म दूधमा खिर पकाएर हामीले दर्शनार्थीलाई प्रसादको रूपमा वितरण गरेका छौं,’ उनले भने, ‘त्यसका लागि पाँच लाख रुपैयाँ बराबर खर्च लागेको छ।’ मन्दिर आएका दर्शनार्थीलाई बागलुङ कालिकाको प्रसाद चखाउन यो कार्यको थालनी गरेको उनले बताए।

‘देशका धेरै ठाउँबाट दर्शनार्थीहरू आउनुहुन्छ,’ उनी भन्छन्, ‘धार्मिक आस्थाको हिसाबले गर्दा भोकै पूजा गर्न आउने चलन पनि हुन्छ। उहाँहरूले पूजा गरेपछि हामीले प्रसाद दिन्छौं। भोकाएका श्रद्धालुहरूलाई खाना खाने ठाउँसम्म पुग्नका लागि अलिकति भए पनि तागत मिल्छ।’  

गत वर्षको चैते दसैँबाट कालिका भगवती मन्दिरमा प्रसाद दिन थालिएको हो। बडादसैँ र चैते दसैँको नवदुर्गामा आउने दर्शनार्थीहरूलाई प्रसाद वितरण गरिन्छ। मन्दिरमा आउने दर्शनार्थीलाई तातोपानी र चिया भने सदावहार दिने गरिएको अध्यक्ष खड्का बताउँछन्। ‘गत वर्षको चैते दसैँबाट हामीले प्रसाद दिन थालेका हौं, बडादसैँ र चैते दसैँमा प्रसाद दिन्छौं,’ उनी भन्छन्, ‘तातोपानी र चिया त हामीले सधैं दिने गरेका छौं।’ 

प्रकाशित: २६ चैत्र २०८१ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App