साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा मृत्यु भएको छ। साहित्यकार रुद्र बरालका अनुसार भारतको गुवाहाटीस्थित आफ्नै निवासमा उनको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो। क्षेत्रीले भारतमा बसेर पनि नेपाली भाषा साहित्यको संवर्धनमा उल्लेख्य योगदान गरेका थिए।
‘उहाँको निधनले समग्र नेपाली साहित्य समाज र गोर्खा जातिमा शोकको परिवेश छ,’ साहित्यकार बरालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सात दशक लामो साहित्य यात्रामा उहाँले नेपाली भाषामार्फत लगनशील भएर आजीवन कलम चलाइरहनु भयो।’
सन् १९३३ मार्च १ मा भारतको आसामस्थित गुवाहाटीमा जन्मिएका साहित्यकार क्षेत्रीद्वारा लिखित ‘बसाइँ’ उपन्यास धेरै पढिनेमा पर्छ। सन् १९५७ मा प्रकाशित ‘बसाइँ’ उपन्यास पूर्वोत्तर भारतको पहिलो उपन्यास हो। क्षेत्रीको ‘बसाइँ’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो।
‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्छ। ‘बसाइँ’ उपन्यासलाई त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा पनि राखिएको थियो। ‘बसाइँ’ उपन्यासको कथामा फिल्म पनि बनिसकेको छ। ‘बसाइँ’ उपन्यासलाई लन्डन विश्वविद्यालयका प्रोफेसर माइकल हट र लारी हार्टसेलले अंग्रेजी भाषामा अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन्।
भारतको आसाममा जन्मिएका साहित्यकार क्षेत्रीको बाल्यकाल सिलाङ (हालको मेघालय) मा बितेको थियो। बंगाली, नेपाली र अंग्रेजी माध्यममा पढेका उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थ नीतिमा स्नाकोत्तर गरेपछि गुवाहाटीको आर्य विद्यापीठ कलेजमा अध्यापनसमेत गरेका थिए। उनको १६ वर्षको उमेरमा पहिलो कविता ‘शिवस्तुति’ प्रकाशित भएको थियो। ‘बसाइँ’ उपन्यासपछि सन् १९६७ मा उनको मनोवैज्ञानिक उपन्यास ‘अतृप्त’ प्रकाशित भएको थियो। उनका ‘ब्रह्मपुत्रको छेउछाउ’ र ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यास पनि प्रकाशित छन्। ‘ब्रम्हपुत्रका छेउछाउ’ उपन्यास आसामी, हिन्दी र बंगाली भाषामा पनि अनुवादित छ।
उनका ‘दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुर क्षेत्रीका कथाहरू’, ‘छरिएको बिस्कुन’, ‘दिल नफुक्ने गाँठो’‘असममा नेपाली भाषाको साह्रो–गाह्रो’, ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘पूर्वोत्तर भारतीय नेपाली कथा–साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ लगायत निबन्ध, समालोचना र कथाकृतिसमेत प्रकाशित छन्।
उनी पूर्वोत्तर भारतबाट अकादमी पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली मूलका साहित्यकार हुन्। उनको ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेको थियो।
‘सन् १९८७ मा साहित्य अकादमी नेपाली साहित्य उपन्यासतर्फ मोडियो र नाटकका अतिरिक्त उनको सिर्जनशील प्रतिभा निबन्ध, समालोचना आदि साहित्यका सबै विधा चहार्न पुग्यो,’ नेपाली भाषामा पनि कलम चलाउँदै आएका भारतीय साहित्यकार बराल लेख्छन् ,‘आख्यानकारकै रूपमा क्षेत्री पुरस्कृत भए।’
बरालका अनुसार साहित्यकार क्षेत्रीका निबन्धहरू खोज–अनुसन्धानमूलक, ऐतिहासिक तथ्यपरक, जातीय समस्यामूलक, भाषा–साहित्य–संस्कृतिविषय र नियात्रापरक छन्।
क्षेत्रीले कलाकार तथा नाटक निर्देशक भएर आसाममा नेपाली नाटकको विकासका लागि पनि महत्त्वपूर्ण योगदान दिएका थिए। अल इन्डिया रेडियोको गुवाहाटीमा कार्यरत रहँदा उनले रेडियो नाटक लेखन र प्रसारण गरेका थिए। उनका ‘दोबाटो’, ‘माग’ र ‘सुरूको सुरू’ नाटक पनि प्रकाशित छन्।
साहित्य यात्रामा उनले धेरै सम्मान र पुरस्कार प्राप्त गरेका छन्। शिक्षा र साहित्य क्षेत्रमा उनले गरेको योगदानका निम्ति भारत सरकारले सन् २०२० मा उनलाई प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो। त्यस्तै जगदम्बाश्री अन्तर्राष्ट्रिय पुरस्कार (२०१६), बसुन्धराश्री पुरस्कार(२०१६), भानु पुरस्कार (१९८७), पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार (२०१२) र असम नेपाली साहित्य सभा पुरस्कार (२००६) बाट पनि उनी सम्मानीत भएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार क्षेत्रीको निधनको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रदाञ्जली व्यक्त गरेका छन्।
प्रकाशित: २ चैत्र २०८१ ०८:५५ शनिबार