५ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:४१ पूर्वाह्न
कला/संस्कृति

चित्र कोर्न रमाइरहेका विष्णुदत्त र राजेन्द्र

जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानी गाउँका विष्णुदत्त न्यौपाने अहिले होर्डिङबोर्ड, साइनबोर्ड, टेवुलप्लेट, नेमप्लेट र भेत्ते लेख्न कार्य व्यस्त देखिन्छन्। सरकारी तथा गैरसरकारी कार्यालयका ब्यानर लेख्न र उपभोक्ता समितिका होर्डिङबोर्ड, साइनबोर्ड लेख्नु विष्णुदत्तको व्यस्त दिनचर्या बनेकाे छ।

अझै निर्वाचनकाे बेला न्यौपानेलाई रातदिन झन्डा, ब्यानर र चुनाव चिह्न बनाउन भ्याईनभ्याई हुन्छ। उनीसँग कर्णाली पर्यटकीय सम्भावना बोकेका कलकल बग्ने नदी, तालतलैया, प्राकृतिक सुन्दरताले भरिएको कर्णालीको चित्र जस्ताको तस्तै उतार्ने सीप छ।

केही वर्ष न्यौपानेले जुम्लाको तातोपानी गाउँपालिका- ४ मा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य मानिएको गिडीदहको चित्र बनाए। अहिले हरेक मुख्य सडक र दोबाटोमा तिनै चित्र राखिएका छन्। कर्णालीमा पाइने जडीबुटी, भौगोलिक बनावट, रहनसहन, चालचलनदेखि जुम्ला र कर्णालीमा उत्पादन हुने रैथाने वस्तुको चित्र उनले बोर्ड तथा ब्यानरहरूमा लेखिरहेका हुन्छन्।

विष्णुदत्तको लेखन सीपको तारिफ मात्रै होइन, एक सफल पेन्टरको पहिचान बनाएका छन्। सानै उमेरदेखि कापीमा रङरोगन गरेर पेन्ट गर्ने उनको बानी थियो। उनकाे राम्रो पेन्टर बन्ने धोको थियो। घरका पर्खाल, स्कुलका ब्ल्याकबोर्डदेखि खाली समथर स्थान देखिनेबित्तिकै उनी लेख्न थालिहाल्थे, चित्र कोर्न सुरु गरिहाल्थे। स्कुलका सर र म्याडम र घरका अभिभावक पनि पेन्टिङमै उनको भविष्य देखिएको भन्दै हौसाइरहेको सम्झिंदै अहिले उनी  गदगद् छन्।

जुम्लाको सदरमुकाम खलंगा बजारमै ‘एसएनआर्ट’ सञ्चालन गरी १६ वर्षदेखि चित्र कोर्ने ब्यानर, बोर्ड लेखेरै जीवनयापन गरिरहेका छन्। सानैदेखि चित्र कोर्ने, पेन्टिङ गर्न रूचि राख्ने विष्णुदत्तले अन्ततः कलालाई आफ्नो व्यवसायको रूपमा अघि बढाएको बताउँछन्।

आफ्नो साथीको आर्ट एक वर्ष स्वयंसेवक काम गरी चित्र कोर्न सिकेका उनले अहिलेसम्म अनगिन्ती लेखन र तस्बिरह कोरिसके। त्यसको कुनै लेखाजोखा छैन। एक जुम्ला बजारमा साथीको आर्ट्समा स्वयंसेवक भएर काम गरे। विस्तारै सीप सिकेपछि २०६५ सालदेखि व्यावसायिक रूपमा चित्र कोर्न तस्बिर लागे। त्योबेला ३४ वर्षका थिए विष्णुदत्त।

 अहिले उमेरले ५० वर्ष भए तर उनको लेखन र चित्रकला प्रतिको भोक, प्यासन, लगाव, समर्पण निकै उत्साहप्रद छ। जागिर पनि गर्न सक्ने प्रशस्त सुविधा, अवसर र क्षमता थियो। तर, जीवनमा कलाप्रतिको आशक्तिले त्यसबाट बाहिर जाने र सोच्ने कुरा उनका लागि गौण बन्यो। ऊर्जा र उत्साहका साथ निरन्तर सञ्चालनमा छ। तीन लाख रुपैयाँबाट व्यवसाय सुरू गरेका विष्णुदत्त लेखन कला व्यवसायबाटै कर्णाली प्रदेश राजधानी सुर्खेतमा १४ लाखको सम्पत्ति जोडेको बताए। उनले भने, ‘जहिलेसम्म हातले कलम र मसी समात्न सक्छ, त्यसबेलासम्म यो व्यवसाय चल्नेछ, अरू जस्तो दुःख छैन, जतिबेला गरे पनि भयो, आफ्नै हिसाबले काम गर्न पाइन्छ, कसैको दबाब सहनु परेन, आनन्दै छ। अहिले वार्षिक १ लाख रुपैयाँ बढी आम्दानी भइरहेको छ।’

उनले यही पेसाबाट खुसी साथ जीवन निर्वाह पनि बताए, ‘पेसाबाटै दुई छोरी काठमाडौ अध्ययन गर्छन्। छोरा सदरमुकाममै निजी स्कुलमा पढ्छन्।दुई छोरी, एक छोरा र श्रीमतीसहित पाँच जनाको परिवार खुसी साथ जीवन निर्वाह भइरहेको छ।’

काम गर्दा आनन्द छ, दुःख भए पनि झण्झट भए पनि काम गर्न मज्जा आउँछ, अरू पेसामा चासो पनि दिइएन, परिवार खुसी नै छ, सबै जना सन्तुष्टि भएकाे पनि उनले बताए।

यस्तै अर्का जुम्लाको तातोपानी गाउँपालिका -७ सर्मी गाउँका ३२ वर्षका राजेन्द्र कुवँरको लेख्न कार्य चलिरहेको छ। पाँच वर्षदेखि सदरमुकाम खलंगामै होर्डिङ बोर्ड, साइनबोर्ड, भित्तेलेखन, ब्यानर, लेख्ने छापहरू बनाउने गर्छन्। ‘जनता आर्ट’ खोलेका छन्।

‘स्कुल पढ्दादेखि नै चित्रकलाप्रति रुचि राख्थें,’उनले भने, ‘अहिले यसै पेसाबाट स्वरोजगार पनि बनेको छु।’

रोजगारीका लागि युवाहरू विदेश गइरहेका बेला उनी भने गाउँघरमै आफ्नो रुचिको काम गरेर राम्रो आम्दानी गरिरहेका छन्। ‘सानैदेखि यो आर्ट्समा रुचि थियो, ७ वर्षअघि जुम्लादेखि सुर्खेत झरे, बुद्ध आर्ट्समा १४ महिनासम्म प्रतिमहिना दुई हजार पाँच रुपैयाँ तिरेर तालिम सिके,’ कुवँरले भने, ‘१२ कक्षा पढ्दै स्कुल छाडेर यही पेसामा लागें ।’

दिनभरि काम गरेर त्यसैबाट घर परिवारको गुजारा चल्ने गरेको उनले सुनाए,’ राजेन्द्र भन्छन्, ‘खाडीको कमाइभन्दा यसमै राम्रो हुन्छ,बजारको कोटा भाडा खर्च, छोराछोरी पढाउने र सात जनाको परिवारको घर खर्च, लुगाफाटो गरी मासिक ३० देखि ४० हजारसम्म कमाउन सकिन्छ।’

बढ्दो प्रविधिका कारण अलि कमाइ कम भइरहेको उनीहरू बताउँछन्। पहिले अत्यधिक रूपमा हुने भित्ते लेखन, ब्यानर, साइनबोर्ड लेखनहरू अहिले फ्लेक्स प्रिन्टले कम भएको बताउँछन्।

‘पहिलेपहिले भित्ते लेखन, व्यावसायिक साइन बोर्डहरू लेख्न निकै आउने गर्थे तर अहिले घटेको छ, व्यवसायीहरूले पनि फ्लेक्स प्रिन्ट गर्नतर्फ लागे, ‘केही वर्ष अगाडिसम्म त भ्याइनभ्याई हुन्थ्यो‘ पहिलेको तुलनामा डिजिटल प्रविधिको आगमनले केही प्रभाव त पारेकै छ।

प्रकाशित: २७ फाल्गुन २०८१ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App