२७ पुस २०८२ आइतबार
image/svg+xml
कला/संस्कृति

इलाममा साहित्य महोत्सव : तीन देशका साहित्य–कलाकर्मी सहभागी हुँदै

साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा साहित्य महोत्सव आयोजना गरिने भएको छ । आउँदो चैत १ र २ गते सदरमुकाममा महोत्सवको चौथो संस्करण आयोजना गरिने भएको हो ।

नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ र बंगलादेशका साहित्यकार, लेखक तथा कलाकर्मी सहभागी हुने महोत्सवको आयोजना इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजले गर्नेछन् । महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण, प्रविधिलगायत करिब डेढ दर्जन विषयमा बहस हुने आयोजक प्रतिष्ठान अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । आयोजकले आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरी जिल्लाबाहिरबाट डेढ सयभन्दा बढी आगन्तुक महोत्सवमा भेला हुने जानकारी दिएको छ ।

महोत्सवको पहिलो दिन भारतको जेएनयुका चेयर प्रोफेसर प्रा.आनन्दकुमारको ‘कि नोट स्पिच’ रहनेछ । ‘गाउँको सौन्दर्य’मा हाङयुग अज्ञात, ‘कला र अध्यात्म’ मा टीकाराम यात्री, आनी छोइङ डोल्मा र मीन डोल्माबीच बहस हुनेछ ।

‘विभेदविरुद्धका आलाप’ मा दीपक सापकोटा र प्रकाश सपुत, ‘कविताको पहिचान’ मा फणीन्द्र संगम, श्रवण मुकारुङ, मिश्र वैजयन्ती र अभय श्रेष्ठ तथा ‘मुन्धुम र पर्यावरण’ मा प्रदीप मेयाङ्बो, अर्जुनबाबु माबोहाङ र सन्ध्या सुब्बाबीच बहस हुने आयोजकले जनाएको छ । 

‘सामाजिक सञ्जाल र मूल्य संकट’ शीर्षकमा रमण पौडेल र पृथ्वीसुब्बा गुरुङ, ‘पर्यापर्यटन: अबको बाटो’ मा गिरिराज बाँस्कोटा, छविलाल खतिवडा, विष्णु काफ्ले र प्रवीण खालिङबीच बहस हुनेछ ।’

दोस्रो दिन ‘इलामे इलम: पेसा र पैसा’ मा टीका क्षेत्री, डा.योगेन्द्रमान श्रेष्ठ, कृष्ण पौडेल र गायत्री थेगिमले बहस गर्नेछन् । ‘युवा सपना र संघर्ष’ मा विश्वास खड्काथोकी, आशा उपरकोटी, मिलन ताम्ली र प्रेमिका रानामगर, ‘डिजिटल दुनियाँमा सर्जक’ मा दीपा दाहाल, शंकर तिवारी, कृष्ण बराल, शैलेन्द्र अधिकारी, ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’ मा मधुराज केरुङ, डा.शिव रिजाल, डा.कोमल फुयाल, ‘मन्द्राकान्ता: पात्र विमर्श’ मा सृजना पोख्रेल र बसन्त बस्नेतबीच बहस हुनेछ ।

‘युगदेखि शब्दसम्म’ मा मुनाराज शर्मा, राजन मुकारुङ, नरेश काङमाङ, देवान किराती, ‘जीवन फर्केर हेर्दा’मा दीपक सापकोटा र खगेन्द्र संग्रौला, ‘इम्बोइडिङ डाइभर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेसन’मा केन सुवेदी, गौरगंगाचन्द्र मेहता, साइद काइस र चन्द्र गुरुङ, ‘आशा र निरासाको राजनीति’मा बसन्त बस्नेत, कृष्ण खनाल, नारायणकाजी श्रेष्ठ, गगन थापा र गोकर्ण विष्टबीच बहस हुनेछ । त्यसै दिन नवराज पराजुलीको ‘इलाम कविता कन्सर्ट’ पनि रहने आयोजकले जानकारी दिएको छ ।

तीन वर्षयता सञ्चालन गरिएका महोत्सवले पनि जिल्लाको साहित्य क्षेत्रका गतिविधि जगाइराख्न सहयोग गरेकाले यसलाई निरन्तरता दिइएको उनको भनाइ छ । इलाम नगरका मेयर केदार थापाले ग्रामीण अर्थतन्त्र उकास्न पनि साहित्य महोत्सवले सघाउने बताए । ‘दर्जनौं विषयमा बहस, छलफल र कला प्रदर्शनीबाट इलाममा साहित्यको वातावरण सिर्जना गर्नु, समीक्षाको थलो इलामलाई बनाउनु आफैंमा गौरवको काम हो,’ उनले भने, ‘देश र विदेशका विद्वान् व्यक्तित्वको सहभागिता हुने भएकाले महोत्सव  आफैंमा ओजपूर्ण हुने आशा छ ।’

प्रकाशित: २५ फाल्गुन २०८१ २०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App